काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पछिल्लो आन्तरिक विवाद मिडियामा आएकोजस्तो ‘गम्भीर’ नरहेको सो दलका नेताहरुको बुझाई छ । ठूलो र लोकतान्त्रिक पार्टीमा सामान्य बहस र टिप्पणी स्वभाविक भएको भन्दै त्यसलाई मिडियाले उछालेर ‘फुटको सङ्घारमा’ पुर्याएको उनिहरुको तर्क छ ।
नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नियमित भेटघाट भइरहेको र पार्टीको आन्तरिक समस्या समाधानमै कुरा केन्द्रित रहेको नेताहरुको दाबी छ । ‘मिडियाले समाचार दिएजस्तो दुई अध्यक्षबीच पानी बाराबारको अवस्था छैन, संवादहिनता भएको पनि होइन,’ नेताहरुले भने । नेकपा अब फुटिहाल्छ कि ! भन्ने समाचार देखेर पार्टीका नेता तथा कार्यकर्तामा पनि चिन्ता बढ्नु स्वभाविक भए पनि पार्टीको विवाद त्यो तहको होइन, नेताहरुले भने ।
पार्टीको सांगठनिक एकताका बाँकी काम तथा सरकार र पार्टीको दुवै काम प्रभावकारी बनाउनमै दुई अध्यक्षबीच निरन्तर छलफल र संवाद हुने गरेको उनिहरुको बुझाई छ । पार्टी फुट्ने अवस्थामा पुगिनसकेको र त्यस्तो अवस्था पनि सिर्जना नुहने दोस्रो तहका नेताहरुको बुझाई छ ।
नेकपा संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले पार्टीको विवाद सतहमा देखिएजस्तो नभएको बताए । ‘मिडियामा जसरी समाचार आइरहेको छ त्यो हुँदै होइन, दुई अध्यक्षबीच निरन्तर छलफल र संवाद भइरहेकै छ,’ उनले भने । पार्टी फुटको सङ्घारमा नपुगेको र त्यो अवस्था पनि सिर्जना नहुने उनले प्रष्ट पारे ।
नेकपाका दुई अध्यक्षबीच यसअघि निरन्तर छलफल भएको समाचार बाहिर आएका थिए । तर कात्तिक ३ गते पछि नियमित बैठक बस्न नसकेको कतिपय नेताहरुको बुझाई रहे पनि त्यस्तो अवस्था नरहेको भन्दै स्थायी कमिटी सदस्य नेम्वाङले भने, ‘पार्टीको सबै छलफल र बहस मिडियामा आउन जरुरी छैन, मिडियामा नआएर पनि आन्तरिक रुपले काम भइरहेकै छन्, पार्टी फुट्दैन त्यस्तो अवस्था हामी आउन पनि दिन्नौं ।’ उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।