एजेन्सी । अहिले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को भ्याक्सिनमा सबैको ध्यान केन्द्रित भएको छ ।
विश्वमा अहिले ९ वटा कोरोना भ्याक्सिनको परीक्षण भइरहेको छ । जसमा ५ वटा भ्याक्सिन चिनियाँ कम्पनीका छन् । ५ वटा कम्पनीमध्ये सिनोभ्याक कम्पनीले विकास गरेको ‘कोरोनाभ्याक’ नामक कोरोना भ्याक्सिनको अहिले तेस्रो चरणमा परीक्षण गरिदैँ छ ।
‘सिनोभ्याक बायोटेक लिमिटेड चीन’ बायोफार्मास्युटिकल कम्पनी हो । जुन कम्पनीले उत्पादन गरेको भ्याक्सिन तेस्रो चरणमा परीक्षा गरिदैँ छ ।
सिनोभ्याक बायोटेक लिमिटेड चीनले सरुवा रोगविरुद्धको खोपको अनुसन्धान, विकास, निर्माण गर्ने काम गर्दछ । अहिले त्यही कम्पनीले पनि कोरोनाविरुद्धको भ्याक्सिन निर्माण गरेको छ । जुन भ्याक्सिनको तेस्रो चरणमा परीक्षण जारी छ ।
सिनोभ्याकले इन्टेरोभाइरस ७१, हेपाटाइटिस ए र बी, मौसमी रुघाखोकी, क्वाड्रिभ्यालेन्ट इन्फुएन्जा, वर्ड फ्लू, स्वाइन फ्लू, भेरिसेल्ला र मम्सविरुद्धका भ्याक्सिन उत्पादन गर्न सन् २०१७ मा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) अनुमति पाएको थियो ।
सिनोभ्याक बायोटेक लिमिटेड चीनले स्वाइन फ्लूविरुद्धको भ्याक्सिन उत्पादनमा विश्वमै सबैभन्दा पहिले सन् २००९ मा उत्पादन गरेको थियो । विश्वभरी फ्लूविरुद्धको खोपमा चीन सरकारलाई सिनोभ्याक बायोटेक लिमिटेडले उपलब्ध गराउँदै आएको थियो ।
सबिन पोलियो भ्याक्सिन, निमोनियाविरुद्धको भ्याक्सिन र कोरोनाविरुद्धको भ्याक्सिन पनि सिनोभ्याक बायोटेक लिमिटेडले उत्पादन गरिरहेको छ । सिनोभ्याकले मुख्यतया चीनमा खोप बिक्री गर्छ । यसले विभिन्न अन्तर्राष्ट्रिय बजारमा आफ्नो उत्पादनलाई पठाउने काम पनि गर्छ । अहिलेसम्म ३० भन्दा धेरै देशमा सिनोभ्याकले आफ्ना उत्पादन निर्यात गर्दै आएको छ ।
सिनोभ्याक एलएस सिनोभ्याक लाइफ साइन्स कम्पनी लिमिटेड, सिनोभ्याक रिसर्च एण्ड डेभलपमेन्ट कम्पनीलगायतका कम्पनी पनि यसमा आवद्ध छन् । एलएस सिनोभ्याक बायोटेक हङकङको पूर्ण स्वामित्वको सहायक कम्पनी हो । यो कम्पनीले पनि मानव खोपहरुको विकास गर्दछ । निमोनिया, डिटिएपी, एचआइबी, हेपाटाइटिस बी भ्याक्सिन र डिटिएपी तथा एचआइबीको कम्बो भ्याक्सिनलगायतका खोपको उत्पादन गर्दै आएको छ । सिनोभ्याक एलएसलाई चीनमा भ्याक्सिन टेक्नोलोजीमा १२ पेटेन्ट प्रदान गरिएको छ ।
सिनोभ्याक लाइफ साइन्सेज कोरोना भाइरसविरुद्धको भ्याक्सिन ‘कोरोनाभ्याक विकास गर्ने एक कम्पनी हो । चिनियाँ नेसनल मेडिकल उत्पादन एडमिनिस्ट्रेशन (एनएमपिए) बाट मान्यता प्राप्त यो कम्पनीले ‘कोरोनाभ्याक’को उत्पादन र मार्केटिङ गर्ने गर्दछ ।
सिनोभ्याकले कोरोनाविरुद्धको भ्याक्सिन ‘कोरोनाभ्याक’को विकास चिनियाँ अग्रणी शैक्षिक अनुसन्धान संस्थाहरुसँगको साझेदारीमा सन् २०२० को जनवरीमा सुरु गरेको थियो । कोरोनाभ्याकको पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षण गर्नका लागि कम्पनीले एनएमपिएबाट सन् २०२० को अप्रिल १३ मा अनुमति प्राप्त गर्यो भने अप्रिल १६ मा कोरोनाविरुद्धको भ्याक्सिन जिङ्सु प्रान्तमा परीक्षण थालेको थियो ।
पहिलो र दोस्रो चरणको परीक्षणको रिपोर्ट कम्पनीले हालै सार्वजनिक गरेको छ । ७ सय ४३ जना स्वयंम् सेवकलाई खोप दिइएकोमा कुनै पनि नकरात्मक असर नरहेको कम्पनीले जनाएको छ ।
अहिले कोरोनाभ्याकको तेस्रो चरणमा परीक्षण भइरहेको छ । कम्पनीले ब्राजिल लगायतका धेरै देशमा तेस्रो चरणको परीक्षण गरिरहेको छ । तेस्रो चरणको परीक्षण चलिरहँदा यो भ्याक्सिन आपतकालीन क्षेत्रका व्यक्तिलाई दिइएको छ ।
यो भ्याक्सिन यो वर्षको अन्तिमसम्ममा बजारमा आइपुग्ने बताइएको छ । कम्पनीले भ्याक्सिनको उत्पादन तथा बिक्री वितरणको क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरेको छ । अमेरिका, रुस लगायतले निर्माण गरेको भ्याक्सिनभन्दा सबैभन्दा राम्रो स्वास्थ्यवद्र्धक रहेको बताइएको छ । (सिनोभ्याक बायोटेक लिमिटेड चीनको वेवसाइट र विभिन्न अन्तराष्ट्रिय सञ्चारमध्यमको सहयोगमा तयार पारिएको रिर्पोट)