उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ६ धप्परका पहिरो पीडित १४ घर परिवारले नयाँ घर पाएका छन् । प्रदेश १ सरकारको जनता आवास कार्यक्रम अन्र्तगत धप्पर पहिरो पीडितले नयाँ घर पाएका हुन् ।
गएको २०७६ साल असारमा धप्परमा पहिरोमा परी १४ घर परिवार घरबारविहीन भएका थिए । अविरल वर्षाको कारण गएको पहिरोमा परी एक घर बगेको थियो भने अन्य जोखिमा परेका थिए । पहिरोमा घर बगेका र जोखिममा परेर विस्थापित भएका घर परिवारले प्रदेश १ सभा सदस्य नारायण बुर्जा मगरको पहलमा नयाँ घर पाएको स्थानीय अम्बरबहादुर सुयलले बताउनु भयो ।
उहाँ भन्नुहुन्छ, ‘पहिरोको अति जोखिममा परेका १४ घर परिवारले नयाँ घर पाएका छन्, भने केही घर परिवार विस्तापित भएका थिए । पहिरोको जोखिममा परेकाहरु अहिले थालथलो छाडेर अन्यत्र सरेका पनि छन् । पहिरोबाट विस्थापित भएका जग्गा हुनेले अर्को घर बनाए । तर, जग्गा नहुनेहरु अझै घर बनाउन सकिरहेका छैनन्, फेरि नयाँ घरको लागि पहल गरिदिन आग्रह गर्दछु ।’
पहिरोमा परेर विस्थापत भएपछि नयाँ घर पाउनेहरुमा स्थानीय नरबहादुर सार्की, चक्रबहादुर सार्की, मदन सार्की, राजन सार्की, एकबहादुर धौलाकोटी, लोकबहादुर धौलाकोटी, ज्ञानबहादुर सार्की, मुनादेवी सार्की, सिता सार्की, डुकिलाल सार्की, गोमा सार्की, सरद विक, डाकराम सार्की र पदमबहादुर सार्की रहेका छन् । पीडित पदमबहादुर भन्नुहुन्छ, ‘हामी विहान बेलुकी छाक टार्न बनिबुतो गर्ने गर्दथ्यौँ, पहिरोमा घर परेपछि विस्थापित भएका थियौँ, अहिले नयाँ घर पाएका छौँ ।’
पहिरोमा परेर घर बनाउन नसक्ने परिवारलाई प्रदेश १ सरकारको जनता आवास कार्यक्रम अन्र्तगतघर बनाइएको हो । जुन नयाँ घर सम्पन्न भइसकेका छन् । प्रदेश १ सरकारको जनता आवास कार्यक्रम अन्र्तगत गएको आर्थिक वर्ष ४७ लाख ४ हजारको लागतमा दुईकोठा भएका १४ वटा घर निर्माण गरिएको छ । कुनै घरमा स्थानीय बसोबास गर्न थालेका छन् भने कतै सम्पन्न गर्न बाँकी रहेको छ । पहिरो पीडित १४ घर परिवारले नयाँ घर पाए पनि अन्यले पाउन सकेका छैनन् ।
नेकपा (माओवादी केन्द्र) उदयपुरगढी गाउँ कमिटी सचिव भुवन मगर भन्नुहुन्छ, ‘बाँकी रहेका परिवारको लागि पनि नयाँ घरको पहल गरिरहेका छौँ । उहाँका अनुसार प्रदेश सभा सदस्य नारायण बहादुर बुर्जामगरले जनता आवास घर निर्माणको लागि एक वर्ष अघि शिल्यानास गर्नुभएको थियो । सचिव मगरले २०७६ असार २८ गत्तेको भारी बर्षा को कारण ठुलो पहिरो गई धप्पर गाउँ बस्ती नै जोखिममा परेको र जोखिममा परि बिस्थापित भएको नामवली सुचिको आधारमा घर निर्माणमा पहल गरेको बताउनुभयो ।