काठमाडौं । उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर नारायण खड्काले आज परराष्ट्रमन्त्रीको सपथ लिनुहुने भएको छ ।
सत्तारुढ गठबन्धनले कांग्रेस नेता डा खड्कालाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बनाउन सहमति हिजो (मंगलबार) गरेपछि आज (बुधबार) सपथ लिनुहुने भएको हो ।
मंगलबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार शीर्ष नेताको बैठकले खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको थियो । राष्टसंघीय महासभाको तिथि नजिकिँदै गएका बेला सत्ता गठबन्धनले त्यहाँ पठाउने गरी परराष्ट्र मन्त्रालयमा खड्लाईने ल्याउन लागेको प्रष्ट छ ।
कांग्रेसका विदेश विभाग प्रमुखसमेत हुनुहुन्छ । नेपाल सार्क परिषद्को अध्यक्षसमेत भएकाले राष्ट्रसंघीय महासभामा राजनीतिक नेतृत्वको आवश्यकता गठबन्धनले महसुस गरेको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी हुनुहुन्थ्यो ।
सरकार बनेको अढाई महिनापछि मन्त्रीपरिषद विस्तार गति लिने संकेत देखिएको छ । गएको असार २९ गते गठन भएको देउवाले नेतृत्वको सरकारमा कांग्रेसबाट २ र माओवादीबाट २ गरी नम्मा पाँच जनाको मन्त्रीमण्डल थियो । अब खड्का थपिएपछि जम्मा ६ जनाको हुने छ ।
सुरुमा गठबन्धनबाट नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवसहितले पनि परराष्ट्रमा दाबी गर्नु भएको थियो । जसको गठबन्धनमा सहमति जुटन सकेको थिए । अन्तत देउवाले आफ्ना एकजना विश्वासपात्रलाई परराष्ट्रमन्त्री बनाउन लागेका छन् । कांग्रेसमा खड्का देउवाको विश्वासिला पात्रको रुपमा पनि चिनिन्छ । डा खड्का भूतपूर्व सहरी विकास मन्त्रीसमेत हुनुहुन्छ ।