कटारी । पछिल्लो समय उदयपुरको पहाडी क्षेत्रमा अकबरे खुर्सानी आम्दानीको स्रोत बन्दै गएको छ । केही समय अघिसम्म अन्य बालिमा अदुवा, तेजपत्ता लगायतका खाद्यन्न तथा नगदे बालि मात्र आम्दानीको स्रोत थियो ।
तर, पछिल्लो समयमा उदयपुरको कटारी नगरपालिका वडा नम्वर ११ मा अकबरे खुर्सानीको खेती हुन थालेपछि नयाँ आम्दानीको स्रोतमा अकबरे दर्ज भएको हो । नेपालकाे प्राय सबै भूभागमा अकबरे खुर्सानीको खेती हुने भएता पनि पूर्वी पहाडी जिल्लामा इलाम, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर लगायतमा मात्र उत्पादन हुँदै आएको थियो ।
यस वर्षदेखि उदयपुरमा पनि अकबरे उत्पादन हुन थालेको छ । कटारी ११ का स्थानीय किसानहरु अहिले अकबरे खुर्सानी खेतीमा आर्कषित भएका छन् । स्वास्थ्यवर्दक मानिने अकबरे कटारी ११ का किसानले प्रतिकिलो रु दुईसय पचास दरले बिक्री गरिरहेका छन् । कटारी ११ का स्थानीय लोकमणी कटुवालले हालसम्म ८ क्विन्टल बिक्री गरी रु दुईलाख आम्दानी गरेको बताउनु भयो । उहाँ मात्र होइन्, अकबरेबाटै मनग्य आम्दामी गरेको खुसी बाड्नु हुन्छ, अर्का स्थानीय जानबहादुर राउत । उहाँ भन्नुहुन्छ, ‘दुई हजार चासय क्विन्टल बिक्री गरेर ६ लाख आम्दानी गरेर ७ रोपनी जग्गा किनेको छु ।’ उहाँले थप्दै भन्नुभयो, ‘अब त्यो सम्पूर्ण जग्गामा अकबरे खुर्सानी खेती गरेर वार्षिक २० लाख कमाउने योजनामा छु ।’
कटारी ११ गोठडाँडाँका किसानले जनजाग्रति कृषक समूहमार्फत ३७ रोपनी जग्गामा अकबरे खुर्सानीको खेती गर्दै आएका छन् । १२ महिला र १३ पुरुष गरी २५ जना आवद्ध किसानले आ–आफ्नाे जग्गामा अकबरे खुर्सानीबाट आम्दानी लिँदै आउनु भएको छ । किसान राधिका राउत भन्नुहुन्छ, ‘अकबरे खुर्सानी खेतीको लागि बजार नहुँदा, स्थायी रुपमा कृषि प्राविधिक नबस्दा, सिचाँइ, बिउबिजन समयमा नपाउँदा समस्या छ ।, नगरपालिकाले समस्या समाधान गर्दिएदेखि अकबरे खुर्सानीबाटै हामी किसानले अझै बढाउने थियौं ।’
कटारी नगरपालिका, सेभ द चिल्ड्रेन र सहास नेपालको समन्वयमा शनिबार बाल बिकास समाज नेपाल र महाभारत सामुदायिक विकास समाज नेपालको आयोजनामा सरोकारवाला निकायका प्रतिनिधिहरुद्वारा संयुक्र कार्यक्रम अनुगमन तथा निरिक्षण सम्पन्न भएकाे छ । सोही कार्यक्रममा पुग्नु भएका कृषि प्राविधिक मिना राउतले यस क्षेत्रमा अकबरे खुर्सानी उत्पादनको लागि उर्वर भुमि रहेको बताउनु भयो । ‘हामीले गर्न सक्ने जाति प्राविधिक सहयोग गरेका छौँ, अझै किसानले मागेजति प्राविधिक सहयोग दिन सकेका छैनौँ, कटारी नगरपालिकाभरी जम्मा चार जना छौँ, जनशक्ति कम भएकाले पनि सोचेजति किसानको सेवा गर्न सकेका छैनौँ ।’
कटारी नगरपालिका ११ का वडा अध्यक्ष दिपक बुढाक्षेत्रीले आफ्नाे वडालाई कृषि क्षेत्रबाटै सम्बृद्धितर्फ अघि बढाउन खोजेको बताउनु भयो । ‘वडा सरकारको तर्फबाट किसानलाई गर्न सक्ने जति सहयोग गरेको छु, अझै सोचेजति गर्न पाएको छैन्, वडामा सिमित स्रोत साधान छ, नगरपालिका, प्रदेश र संघीय सरकारको साथ पाउन मुस्किल भएकाले केही समस्या छन् ।, यस वर्ष वडाको बजेटबाट भएपनि कृषि क्षेत्रमा लाग्ने किसानलाई प्रेरणा जगाउँदै वडाबाट गर्न सक्ने सम्पूर्ण सहयोग गर्ने छु ।’
कटारी नगरपालिकाकी उपप्रमुख भिमकुमार राउतले किसानले अकबरे खुर्सानीबाट राम्रो आम्दानी लिन सकेकोप्रति खुसी हुँदै नगरपालिकाले गर्न सक्ने सबै सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । बालबिकास समाज नेपालका कटारी नगरपालिकाको वडा नम्वर ८, १०, ११ र उदयपुरगढी गाउँपालिकाको ८ वटै वडामा कृषि क्षेत्रमा लाग्ने किसानलाई सहयोग गर्दै कृषि क्षेत्रमा स्वरोजगार बनाउने काम गर्दै आएको छ ।