उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका – ६ मा स्थापना गरिएको कोरोना अस्पतालको सोमबार उद्घाटन भएको छ । प्रदेश १ का सामाजिक बिकास मन्त्री जिवन घिमिरेको प्रमुख आतिथ्यता र स्विजरल्याण्डकी राजदुत एलिजावेथ भोमको बिशेष आतिथ्यतामा कोरोना अस्पतालको उद्घाटन भएको हो ।
कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री जिवन घिमिरेले कोभिड नियन्त्रणका लागी स्थानीय तहका सरकारले खेलेको भुमिकाको प्रशंसा गर्दै नागरिकहरुको स्वास्थ्यका बिषयमा प्रदेश सरकार संवेदनशिल रहेको बताए । अस्थायी रूपमा संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर मात्र रहेको चौदण्डीगढीमा १४ कोठे भवनमा ४० शैया रहने र ८ बेडको भेन्टिलेटर सहितको कोरोना अस्पताल निर्माणका लागि ३ करोड १२ लाख रुपैयाँ लागतमा तयार भएको हो ।
अस्पताल निर्माणका लागि उदयपुरका ४ नगरपालिका कटारी, त्रियुगा, चौदण्डीगढी र बेलकाले १५÷१५ लाखका दरले ६० लाख रुपैयाँ, ४ गाउँपालिका रौतामाई, उदयपुरगढी, ताप्ली र लिम्चुङवुङले १०÷१० लाखका दरले ४० लाख लगानी गरेका थिए । त्यसै गरी स्विस सरकारको डेढ करोड रुपैयाँ सहयोग रहेको थियो ।
कार्यक्रममा प्रदेश सासंद अम्बिका थापा, सुनिता चौधरी, कला घले, त्रियुगा, चौदण्डीगढी, बेलका नगरपालिकाका मेयर उपमेयर र ताप्ली गाउँपालिकाका अध्यक्ष, राजनैतिक दलका प्रतिनिधि, बुद्धिजिवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।