काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । पटकरपटक विवादको कारण सहमति नाममा स्थागित हुँदै आएको नेकपाको स्थायी कमिटीको बैठक आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको स्थायी कमिटी सदस्य देबेन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार आज दिउँसो १ वजेको लागि बैठक बोलाइएको छ । आजको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा बस्ने भएको छ ,उनले भने । बैठकअघि शीर्ष नेताहरुले सहमति जुटाउने प्रयास गरे पनि सहमति हुन सकेको छैन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल समूहबीच भेटघाट र छलफल भएपनि अडान कायमै छ ।
हिजो शनिबार दिनभर प्रधानमन्त्री ओली सहमतिका लागि प्रचण्डलगायत पार्टीका नेताहरुसँगको भेटघाटमै व्यस्त भएका थिए । ओलीले प्रचण्डलाई बैठकमा पेश गरेको प्रस्ताव फिर्ता लिन आग्रह गर्दै आएका छन् । यता प्रचण्डले प्रस्ताव फिर्ता लिन अस्वीकार गर्दै स्थायी कमिटीमै छलफल गर्न माग गरिरहेका छन् ।
हिजो मात्र ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी, गृहमन्त्री रामबहादुर थापालगायतका नेता तथा मन्त्रीहरुसँग पनि भेट गरेका छन् । कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीमाथि विभिन्न आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेश गरेका थिए ।
फेरि मंसिर १३ को बैठकमा ओलीले फेरि प्रचण्डमाथि गम्भीर आरोप लगाउँदै प्रत्युत्तर दिएपछि नेकपाको विवाद चर्किएको छ । दुवै अध्यक्षले संवाद र छलफल गरेर पार्टीभित्रको विवाद अन्त्य गर्नुपर्ने दोस्रो तहका नेताहरुको भनाइ छ ।
नेकपाभित्र मन्त्रिपरिषदमा हेरफेर, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडप, आदिबारे विवाद उत्पन्न भई अध्यक्षद्वयबीच लिखित आरोप–प्रत्यारोपपत्रको क्रम चलेको छ ।
शीर्ष नेताहरुको विवाद मिलाउन स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्य कतिसम्म सफल हुन्छन् भन्ने चासो पनि देखिएको छ । सरकारबाट संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी भएपछि विवाद झनै बढेको छ ।