काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उग्र बन्दै गएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूह र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समूहबीच आन्तरिक विवाद चर्किएको छ ।
दुई गुटको रस्साकस्सी चलिरहेको वेला आज पार्टी कार्यालय पेरिडाँडामा प्रचण्ड नेपाल समूह तथा असन्तुष्ट समूहले भेला आयोजना गरेको थियो । प्रदेश १ का १४ जिल्लाका अध्यक्ष र सचिवहरुलाई पेरिसडाँडामा बोलाइएको थियो । यसअघि बागमती प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुको भर्चुअल भेला भएको थियो । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली इतर समूका प्रचण्ड, नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, बामदेव गौतम समूहले निरन्तर रुपमा भेला आयोजना गर्दै आएका छन् ।
आजको भेलामा अहिलेको ओलीले कार्यशैली नसच्याए थप कडा कदम चाल्ने चेतावनी दिएका छन् । प्रदेश १ का आफूनिकट जिल्ला अध्यक्ष र सचिवहरुसँग पेरिसडाँडामा गरिएको भेलालाई सम्बोधन गर्दै नेताहरुले कडा चेतावनी दिएका छन् । ओलीले सोमबार जारी गरिएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश तत्काल फिर्ता नलिए कडा रूपमा प्रस्तुत हुने बताएका छन् ।
भेलामा सहभागी एकजना केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार दुवै नेताले सम्बोधनका क्रममा आफ्ना अडानहरू यथावत रहेको बताएका थिए । दुवैजना नेताले रणनीतिक कुरा राख्नुभएन, तत्काल चालिने कदमबारे कुरा भएन तर ओलीले अध्यादेश फिर्ता नलिए अझै कठोर रूपमा प्रस्तुत हुने स्रोतको दाबी छ । ती केन्द्रीय सदस्यले भने, ‘उहाँहरू दुवैजनाको निचोड भनेको जस्तालाई त्यस्तै जवाफ दिनुपर्छ भन्ने थियो ।
ओलीले पटक पटक अपमान गरेः प्रचण्ड
कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पटकपटक अपमान गरेको गुनासो गरेका छन् ।
पार्टीको एउटा केन्द्रीय कार्यालय पेरिस डाँडामा शुक्रबार प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुसँगको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । भेलामा सहभागी प्रदेश १ का एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डले सम्बोधनको धेरै समय ओलीले आफूलाई गन्दै नगनेको गुनासो गर्न खर्चिएका थिए ।
प्रचण्डले यो कुनै गुटको भेला नभई ओलीले पार्टीटमा फैल्याएको भ्रम चिर्न ग्राउन्डसम्म सन्देश पुर्याउन गरिएको कार्यक्रमका रुपमा बुझ्न आग्रह गरेका थिए । आफू पार्टीको कार्यकारी अध्यक्ष भए पनि ओलीले कहिल्यै त्यो कुरा नस्वीकारेको धारणा प्रचण्डले भेलामा राखेका थिए । ‘ओलीजीले मलाई कहिल्यै अध्यक्षका रुपमा हेर्नु भएन, बारम्बार अपमान गरिरहनु भयो । यसरी समूह बनाएर हिँड्ने मलाई रहर थिएन तर ओलीजीको व्यवहारका कारण मैले यो कदम चाल्नै पर्ने भयो, प्रचण्डले भने, ‘उहाँले तँ अध्यक्ष नै होइनस् भन्नु भयो, मलाई रबर स्ट्याम्प अध्यक्ष ठान्नुभयो ।’
ओलीको प्रवृत्ति नै अरुलाई धोका दिने र अपमान गर्नेः नेपाल
वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्ति नै अरुलाई धोका दिने र अपमान गर्ने रहेको बताएका छन् ।
शुक्रबार पेरिसडाडाँमा प्रदेश १ का आफू निकट नेताहरुको भेलामा नेपालले ओलीको बोलीको विश्वास नै नहुने बताए । पहिले आफूलाई अपमान गर्ने काम गरेको ओलीले पछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि त्यसै गरेको नेपालको भनाइ थियो । ‘पार्टीका पूर्वप्रमुख र पूर्वप्रधानमन्त्री भइसकेका नेताहरुलाई धोका दिने, अपमान गर्ने प्रवृत्ति अझै पनि रोकिएको छैन । सहमति गरेर उठ्यो, भोलिपल्टै होइन भन्नु नै केपी ओलीको योग्यता बनेको छ’, नेपालको भनाइ थियो ।
तर, पार्टीलाई कुनै हालतमा विभाजन हुन नदिने उनको भनाइ थियो । ‘त्यसका लागि हामी माथि लड्छौं । तपाईंहरु तल लड्नु होला’, नेपालले आग्रह गरे । अहिले पूर्वएमाले र पूर्वमाओवादी भन्ने कुरा उठाएर विभाजन गर्ने नियत देखिएकाले यसविरुद्ध लाग्न पनि नेपालको आग्रह थियो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता झलनाथ खनालले पार्टी विधि र पद्दतिमा चले आफ्नो जित हुने बताएका छन् । पेरिसडाडाँमा शुक्रबार आयोजित कार्यक्रममा नेता खनालले पार्टी एकीकरण भएबाटै विधि र पद्दतिमा चल्न छोडेको बताए ।
ओलीले मनपरी गरेः खनाल
यसैगरी पार्टी एकता ऐतिहासिक काम थियो । हामी उत्साहित र खुशी भयौं । तर, एकतालाई व्यक्तिगत लाभका नाममा दुरुपयोग गर्ने प्रयत्न भयो’, खनालले भने । उनले पार्टी एकता एकीकरणको सुरुबाटै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मनपरी गर्न थालेको बताए । बदमासी र मनपरीकै कारण अहिले पार्टीमा संकट देखिएको खनालको भनाइ थियो ।
नेकपाभित्रको आन्तरिक कलह चर्किदै जाँदा दुई पक्षको गुट भेला बढेको छ । शुक्रबार पेरिसडाडाँमा प्रचण्ड र नेपाल पक्षका प्रदेश १ का जिल्ला अध्यक्ष, सचिव र राजधानी उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुको भेला पेरिसडाडाँमा राखिएको थियो ।
प्रचण्ड र नेपाल समूहले पार्टी कार्यालय पेरिसडाँडामा आज दिउँसो आयोजना गरेको भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायतले बोलेका थिए । बैठकमा प्रचण्डले पछिल्लो घटनाक्रम र पार्टीमा अबको आफूहरुको रणनीतिका बारेमा ब्रिफिङ गरेका थिए ।
भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शैली सुधार्ने कुनैपनि लक्षण नदेखिएकाले आगामी कदमका लागि आफूहरु तयार रहनुपर्ने अवस्था रहेको बताएका भेलामा सहभागी नेपालनिकट एक नेताले जानकारी दिएका छन् । भेलाले प्रधानमन्त्री ओलीको कार्यशैली यथावत रहेको अवस्थामा हेरेर मात्रै बस्न नहुने निश्कर्षसहित नयाँ कदम के हुने भन्ने विषयमा पनि छलफल गरेको छ ।
भेलामा प्रदेश १ का १४ वटै जिल्लाका प्रचण्ड नेपाल पक्षका अध्यक्ष तथा सचिवहरु र केन्द्रीय समितिमा रहेका नेताहरु उपस्थित रहेका थियो । यता ओली समूहले मदन भण्डारी फाउण्डेसनको नाममा भेला तथा बैठक गरिरहेको छ भने प्रचण्ड नेपाल समूले संगठनकै नाममा भेला गरिरहेको छ ।