काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेका बेला कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेपालमाधवकुमार नेपाल समूहले सातै प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाएका छन् ।
आज पहिलो दिन प्रदेश १ का १४ जिल्लाका अध्यक्ष र सचिवहरुलाई पेरिसडाँडामा भेला भएका छन् । यसअघि बागमती प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुको भर्चुअल भेला भएको थियो । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली इतर समूका प्रचण्ड, नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, बामदेव गौतम समूहले निरन्तर रुपमा भेला आयोजना गर्दै आएका छन् । जिल्ला अध्यक्ष र सचिवलाई पार्टीभित्रको पछिल्लो अवस्थाबारे शीर्ष नेताले जानकारी गराउने कार्यक्रम रहेको जानकारी दिइएको छ । पछिल्लो समयमा नेकपाभित्र गुटका भेला र बैठकहरु चलिरहेका छन् । प्रचण्ड–माधव नेपाल पक्षले विद्यार्थीको भेला समेत बिभिन्न प्रदेशमा गरिसकेको छ ।
अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीले आनाकानी गरिरहेको भन्दै ती नेताले आजको बैठकमा यसबारेमा सचिवालयका नेताहरुले आफ्नो पक्षको धारणा राखेका छन् । प्रचण्ड माधव नेपाल पक्षले सातै प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुको भेला क्रमशः काठमाडौं गर्ने भएको छ । काठमाडौंमा आएका जिल्ला अध्यक्ष र सचिवहरुलाईै आफ्नो पक्षको रणनीतिबारे निर्देशन दिएर जिल्ला जिल्ला पठाउने तयारी प्रचण्ड नेपाल समूहको रहेको बताइएको छ ।
पार्टीमा पछिल्ला दिनमा बढ्दै गएको ध्रुवीकरण र संकट समाधानका गर्न आगामी दिनका लागि रणनीति तय गर्न भेलाको आयोजना गरिएको आफूहरूलाई जानकारी प्राप्त भएको जिल्लाबाट आएका नेताहरुको भनाइ छ ।
दुई दिनअघि बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन बोलाउन गरिएको सांसदहरूको हस्ताक्षर फिर्ता लिने प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच सहमति भएको थियो ।
नेकपामा आन्तरिक विवादको सुरुवातसँगै प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र प्रचण्ड नेपाल पक्ष गुटगत गतिविधिमा सक्रिय देखिएका छन् । ओली समूहले मदन भण्डारी फाउण्डेसनको नाममा भेला तथा बैठक गरिरहेको छ भने प्रचण्ड नेपाल समूले संगठनकै नाममा भेला गरिरहेको छ ।