काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद चर्कदै गएको छ । हिजो बसेको स्थायी कमिटीको बैठक आगामि २८ गते पुन अर्काे स्थायी कमिटिको बैठक राख्ने निर्णय गर्दै यसबीचमा सहमतिको लागि प्रयास गर्ने तयारी गरेको छ ।
नेकपा स्थायी कमिटी बैठकको तयारीमा नेताहरु पूर्व समूहप्रति नै प्रतिवद्ध देखिएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि सचिवालय बैठकमा प्रस्तुत गरेका प्रतिवेदनमा छलफल गर्ने तयारी छ । बैठकमा ओलीले पत्र पठाएर बैठकमा सहभागि जनाएका छन्, भने अन्य नेताहरु सहभागी भएका छन् ।
ओली पक्षधर पनि सहभागी भएका छन् । बैठकअघि नै नेताहरु आआफ्नो समूहमा छलफल तिब्र पारेका थिए । सबैजना नेताहरु समूहप्रति प्रतिवद्ध नभए पनि एजेण्डा र आफ्नो अनूकुलतामा कुनै एक समूहमा लाग्ने गरेका छन् । समूहमा पनि उपसमूह देखिएका छन् ।
नेकपामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली, ‘प्रचण्ड’ र माधव कुमार नेपालका मुख्य तीन समूह सक्रिय छन् । यी समूहमा वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले आफूलाई एजेण्डा अनुसार प्रस्तुत गर्छन् । पूर्व समूहमा क्रियाशील नेताहरुमा परिवर्तन आएको बताए पनि अन्तिम समयमा नेताहरुले आफ्नो पूर्व समूहप्रतिको मोह त्याग्न सकेका छैनन् । त्यसैले ४५ सदस्यीय नेकपाको स्थायी कमिटीका नेताहरु मुख्य तीनवटा समूहमा सक्रिय छन् । प्रचण्ड निकट सभामुख अग्नि प्रसाद सापकोटा सभामुख भएपछि एक स्थान रिक्त छ ।
नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी समीकरणमा तीनवटा गुट सक्रिय छन् । अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता नेपालका तीनवटा गुट नेकपामा मुख्य गुटका रुपमा सक्रिय छन् । स्थायी कमिटीको समीकरणमा प्रचण्ड बलिया छन् । हरेक संरचनामा जस्तै तीन मध्ये दुईवटा गुट एक ठाउँ हुँदा अर्को गुट रक्षात्मक अवस्थामा पुग्छ । नेकपामा अहिले ओली रक्षात्मक अवस्थामा छन् ।
४५ सदस्यीय स्थायी कमिटीमा प्रचण्ड निकट अग्नि प्रसाद सापकोटा सभामुख छन् । ४५ सदस्यीय स्थायी कमिटीमा पूर्वएमालेबाट २६ र पूर्वमाओवादीबाट १९ जना सदस्य छन् ।
ओली समूहमा १२ जना
आजसम्मको अवस्था हेर्दा ओली समूहमा १२ जना सदस्य रहेका छन् । केपी शर्मा ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, सत्यनारायण मण्डल, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र विष्णु रिमाल ।
नेपाल समूहमा १४ जना
यो समूहमा माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रघुजी पन्त, बेदुराम भुषाल, घनश्याम भुषाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपाने रहेका छन् ।
प्रचण्ड समूहमा १८ जना
स्थायी कमिटी र केन्द्रीय कमिटीमा प्रचण्ड समूह बलियो छ । यो समूहमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’, गिरिराजमणि पोखरेल, वर्षमान पुन ‘अनन्त’, टोपबहादुर रायमाझी, जनार्दन शर्मा ‘प्रभाकर’, पम्फा भुषाल, देव गुरुङ, हरिबोल गजुरेल, गणेश शाह, देवेन्द्र पौडेल, मातृका यादव, मणि थापा, लीलामणि पोखरेल, लेखराज भट्ट, चक्रपाणि खनाल र शक्ति बस्नेत रहेका छन् ।
यो समूहबाट मणि थापा र लेखराज भट्ट प्रधानमन्त्री ओली निकट भएका छन् भने बादलले सन्तुलनको भूमिका निर्वाह गर्दै आएका छन् । तर, पूर्व समूहको धुर्विकरण हुँदा थापा र भट्ट पनि प्रचण्ड समूतिरनै फर्कने निश्चित छ ।
प्रचण्ड नेपाल समूह बलियो
अहिले नेकपा(नेकपा) मा देखिएको विवादमा ओली इतर प्रचण्ड नेपाल समूह बलियाे छ । स्थायी कमिटीमा प्रचण्ड नेपाल समूहले निर्णायक देखिन्छ । ओली समूहमा १२ मात्र स्थायी कमिटी सदस्य छन् । प्रचण्ड नेपाल समूहमा ३२ जना छन् । जसको कारण ओली अहिले बैठक बहिष्कार गर्ने, स्थायी र केन्द्रिय कमिटीको आवश्यक नरहेको बताउँदै आएका छन् । प्रचण्ड नेपाल समूहले निर्णायक भएकाे प्रष्ट छ ।