नेपालटार । उदयपुरगढी गाउँपालिको नेपालटारमा सामुदायिक वन उपभोक्ता समुहहरुबीच सामुदायिक वन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
त्रिवेणी डिभिजन वन कार्यालय प्रमुख फडिन्द्रप्रसाद पोखरेलको उपस्थितिमा हिजो शुक्रबार नेपालटार सव डिभिजन वन कार्यालय अन्तर्गत रहेका ३० सामुदायिक वन उपभोक्ता समुहहरुको प्रतिनिधि बीच अन्तरक्रिया कार्यक्रम भएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै त्रिवेणी डिभिजन वन कार्यालय प्रमुख पोखरेलले गाउँको विकासमा सामुदायिक वन उपभोक्ता समुहको भुमिकाको प्रशंसा गरेका थिए । उनले सामुदायिक वन समुहले एकातिर वनजंगलको संरक्षण गर्दै वातावरण प्रदुषण नियन्त्रण गर्न सहयोग गरेको तथा अर्कोतिर स्थानीय स्तरमा विभिन्न विकास निर्माणको काममा सक्रिय भुमिका खेलेको पनि बताएका थिए ।
अन्तरक्रिया कार्यक्रममा सहभागी वन उपभोक्ता समुहका प्रतिनिधिहरुले सरकारले वन क्षेत्रका रुख कटान तथा ओसारपसारमा प्रतिबन्ध लगाएकोले आफुहरु समस्यामा परेको बताएका थिए ।
कार्यक्रममा सहभागी आकाशगंगा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गुरु बहादुर राउत भन्छन् ,'हामीले पुराना तथा बुढा रुखहरु काटेर बेचेको रकमले ग्रामीण सडक,खानेपानी तथा शिक्षामा खर्च गर्दै आएका थियौं । सरकारले रुख कटान तथा ओसारपसारमा प्रतिबन्ध लगाएसगै सामुदायिक विद्यालयका शिक्षकलाई तलब खुवाउन समेत हामीलाई समस्या परेको छ । '
विश्वकंचन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भिम बहादुर वस्नेत भन्छन् ,"स्थानीय सरकारले ग्रामीण सडक निर्माण,स्वस्थकर खानेपानी तथा शिक्षामा न्युन लगानी गरेको छ । हामीले सामुदायिक वनबाट यसको व्यवस्था गर्दै आएका थियौं । ग्रामीण ठाउँमा गरीबी निवारणमा सहयोग पुर्याउदै आएका थियौ । सरकारले यो समस्याप्रति ध्यान नपुर्याइ एक्कासि प्रतिबन्ध लगाउदा जनता समस्यामा परेका छन् । भने नेपालको वन संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेका सामुदायिक वन उपभोक्ता समुहहरुले अपमानित भएको महसुस गरेका छन् ।"
मन्त्रीपरिषद् को २०७७ जेष्ठमा बसेका बैठकले रुख कटान तथा ओसारपसारमा पुर्णतया प्रतिबन्ध लगाएको थियो । यसको विरोधमा सामुदायिक वन उपभोक्ता महासंघले विभिन्न बिरोधका कार्यक्रम गरेपनि सरकार आफ्नो निर्णयमा पछि हटेको छैन ।
अन्तरक्रिया कार्यक्रममा सहभागी वन उपभोक्ता समुहका प्रतिनिधिहरुले यही विषयलाई प्रमुखताका साथ डिभिजन वन अधिकृत समक्ष उठाएका थिए । छलफलमा वन उपभोक्ता समुहका प्रतिनिधिको कुरा सुनेपछि प्रतिक्रिया दिदै डिभिजन वन अधिकृत पोखरेलले आफुले पनि वन उपभोक्ता समुहले देखाएका समस्या प्रत्यक्ष देखेको बताएका थिए ।
उनले यसको समाधानतर्फ सरकार तथा वन मन्त्रालयले उपयुक्त कदम छिटै चाल्ने पनि बताएका थिए । नेपालटार सब डिभजन वन कार्याल प्रमुख अधिकृत देबचन्द्र गोइतले आफ्नो मातहत रहेका सामुदायिक वनहरुमा पर्यटन प्रवर्द्धन तथा जडिबुटी संरक्षण गर्नेतर्फ आफुहरुको मुख्य लक्ष्य रहेको बताएका छन् ।
त्रिवेणी डिभिजन वन कार्यालयमा नयाँ प्रमुखको रुपमा आएका फडिन्द्रप्रसाद पोखरेलको स्वागतमा नेपालटार सव डिभिजन कार्यालले कार्यक्रम आयोजना गरेको थियो । विश्व कंचन सामुदायिक वन समुहले व्यवस्थापन गरेको कार्यक्रमको अध्यक्षता विश्व कंचन सामुदायिक वन समुहका अध्यक्ष भिम बहादुर वस्नेतले गरेका थिए ।
कार्यक्रममा त्रिवेणी डिभिजन वन कार्यालय प्रमुख फडिन्द्रप्रसाद पोखरेल ,उदयपुरगढी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष टंक श्रेष्ठ , सामुदायिक वन उपभोक्ता महासंघ उदयपुर गढीका अध्यक्ष खेम मगर,नेपालटार सव डिभिजन वन कार्यालय प्रमुख देबचन्द्र गोइत लगायतको सहभागीता थियो ।