काठमाडौं । सत्तारुढ दल नेकपामा चुलिएको विवाद जारी छ । नेताहरूले विवाद मिलाउने मेलोमेसो नपाए पनि बालुवाटार र खुमलटारमा भेटघाट गर्न दौडिरहेका छन् । दुवै पक्षका नेताबीच ओहोरदोहोर जारी छ ।
दुई अध्यक्षबीच गएको कात्तिक २५ गतेयता पार्टी बैठकबाहेक भेटघाट ठप्प छ । तर, विवाद समाधानको सूत्र खोजी गर्न दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेताहरूले घचघच्याइरहेका छन् । सचिवालयमा एकअर्काविरुद्ध लिखित प्रस्ताव ल्याएर सिँगौरी खेलिरहेका ओली र दाहालले बिहीबार एकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए ।
नेताहरूले २० मंसिरसम्म सचिवालय बैठक रोकेर आ–आफ्ना तयारीसहित अनौपचारिक संवादमा जुटेका छन् । दुवै पक्ष भने टसमस देखिएका छैनन् । ओली सचिवालय बैठकमा जान छाडेका छन् भने दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बहुमत÷अल्पमतबाटै पार्टीलाई एउटा प्रक्रियामा लैजानुपर्ने बताइरहेका छन् । दोस्रो तहका नेताहरू असारमा स्थायी समिति बैठकमा देखिएको विवाद मिलाउन हस्तक्षेपकारी भूमिकामा थिए ।
परिणामस्वरूप दुवै अध्यक्षसहित शीर्ष नेता पार्टी विवाद मिलाउन कार्यदलमार्फत एउटा टोस प्रस्ताव बनाउने र त्यसकै आधारमा अगाडि बढ्नेसम्मको समझदारीमा पुगेका थिए । तर, यसपटक उनीहरूको प्रयास कामयावी हुन सकिरहेको छैन । उनीहरूका दबाब अध्यक्षद्वयले स्विकारिरहेका छैनन् । यस्तो बेला राष्ट्रपति भण्डारीले आफ्नो तहबाट नेकपाभित्रको विवाद समाधान गर्न दुई अध्यक्षलाई मिलाउन सक्रियता देखाउन थालेको स्रोतको भनाइ छ ।
भण्डारीसँग बिहीबार दिउँसो ओली र साँझ दाहालले गरेको भेटवार्ता मध्यस्थताको भूमिका निर्वाह गर्न रहेको बताइन्छ । राष्ट्रपतिले सोमबार उपप्रधानमन्त्री ईश्वर पोखरेल र मंगलबार कृषिमन्त्री घनश्याम भुसालसँग भेट गरेकी थिइन् । राष्ट्रपतिले कात्तिक १८ मा उपाध्यक्ष वामदेव गौतम र २० गते गृहमन्त्री रामबहादुर थापासँग पनि छलफल गरेकी थिइन् ।
राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता नियमित भएको तर दाहालसँगको भेटवार्ता अध्यक्ष दाहालले चाहेर भएको शीतल निवास स्रोतले बताएको छ । तर, भेटमा भएका कुराकानीबारे भने खुल्न सकेको छैन । राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्रीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, महासचिव विष्णु पौडेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग पनि भेट गरेका थिए । उता, दाहालले पनि महासचिव पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङलगायत नेताहरूसँग छलफल गरेका थिए ।
ओलीसँग दाहालको प्रत्यक्ष संवाद हुन नसकिरहेका बेला पौडेल र नेम्बाङ बिहीबार खुमलटार पुगेका थिए । पौडेलले दुवै अध्यक्षले सचिवालयमा पेस गरेको प्रस्ताव थाती राखेर संयुक्त प्रस्ताव तयार पारेर जाने विषयमा दाहालसँग आग्रह गरेका थिए । दाहालले त्यसमा अरुचि देखाएको खुमलटारनिकट स्रोतले बताएको छ । त्यसमा दाहालले ओलीको प्रस्तावको जवाफसहित आफूले पूरक प्रस्ताव तयार पारिरहेको, आउने पार्टी बैठकमा छलफलका लागि राखेर जान चाहेको जवाफ दिएर फर्काएको स्रोतको भनाइ छ ।
दाहालले ओलीले दुईमध्ये एक पद छाडे मात्रै कुरा मिल्ने संकेत गरेका छन्। सरकार सञ्चालन गर्ने कि पार्टी सञ्चालन गर्ने भन्नेबारे दुई अध्यक्षबीच विवाद भइरहेका बेला अध्यक्ष दाहालले आफूनिकट नेताहरूसँगको छलफलमा ओलीले सकेसम्म प्रधानमन्त्री नभए अध्यक्ष छाड्नुपर्ने बताएको स्रोतको दाबी छ । ‘दुईमध्ये एक पद छाड्नुपर्ने विषय धेरै पहिलादेखि वरिष्ठ नेता माधव नेपालले उठाउँदै आएका थिए । अहिले दाहालले पनि यही विषयलाई बटमलाइन बनाउन थालेका छन्,’ दाहालनिकट स्रोतले भन्यो, ‘यो विषय पुरानो हो तर अहिले पनि निकै जोडतोडका साथ उठाइएको छ ।’
दाहालनिकट नेताहरू जनार्दन शर्मा, देवेन्द्र पौडेललगायतले केही दिनयता ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने धारणा सार्वजनिक गरिरहेका छन् । तर ओली भने दुवै पद छाड्ने पक्षमा छैनन् । उनले प्रधानमन्त्री पद लिन निर्वाचन कुर्न र अध्यक्षको पद लिन महाधिवेशन कुर्न भनिसकेका छन् । चार महिनापछि हुने पार्टीको महाधिवेशनले अध्यक्षको पद निर्धारण गर्ने र आगामी निर्वाचनले प्रधानमन्त्रीको पद निर्धारण गर्ने भएकाले त्यतिबेलासम्म धैर्य गर्न ओलीले भनेका हुन् ।
अर्कोपटक अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा आफू नहुने भएकाले त्यसका लागि निर्वाचन र महाधिवेशन कुर्नुपर्ने ओलीका भनाइ छ । दाहाल–नेपाल समूहले भने ओलीले पटकपटक धोका दिएको, हेपेको र पार्टीलाई विधि र पद्धतिमा सञ्चालन नगरेकाले अहिले दुईमध्ये एक पद छाड्न दबाब दिएको बताउँदै आएका छन् ।
खुम्लटार किन धाउँदै छन्, ‘ओली निकट नेताहरु’
ओलीका दूतका रुपमा तीनजना नेताहरु कार्यकारी अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगिरहेका छन् । आज बिहान उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेल प्रचण्ड निवास पुगेको स्रोतको भनाइ छ । कार्यकारी अध्यक्ष दाहालसँग झण्डै डेढ घन्टा भएको भेटवार्तामा अध्यक्षद्वय मिल्नुपर्ने ओलीको सन्देशमा छलफल भएको छ ।
दाहाललाई भेट्न पोखरेल बिहान साढे नौ बजे खुमलटार पुगेका थिए । पोखरेलले सचिवालय बैठकमा प्रस्तुत भएका अध्यक्षद्वयका प्रस्ताव फिर्ता लिएर साझा प्रस्ताव तयार पार्नुपर्ने कुरा प्रचण्डलाई गरेका बालुवाटार स्रोतले जनाएको छ ।
यसअघि ओलीको त्यहीँ सन्देश बोकेर महासचिव विष्णु पौडेल बिहीबार बिहान र स्थायी कमिटी सदस्य सुवास नेम्बाङ बिहीबार बेलुकी खुमलटार पुगेका थिए । भेटवार्तामा अध्यक्षद्वयबीच भेटवार्ताको पहल पनि भएको एक नेताले जानकारी दिए । तर, प्रचण्डले पार्टी कमिटीमा आएका प्रस्तावहरु फिर्ता नहुने बताएका छन् । उनले पार्टीले लिने निर्णयलाई कार्यान्वयन गरेर जानुको विकल्प नभएको बताएका स्रोतले जनाएको छ ।
शनिबार नेकपा सचिवालय बैठक बस्दैछ । आइतबार नेकपाको स्थायी कमिटी बैठक बस्ने तयारी छ । भोलिको बैठकमा पनि ओली नआएमा प्रस्तावहरु स्थायी कमिटीमा लैजाने तयारी प्रचण्डको छ ।
उनले स्थायी कमिटीमा ओलीले दिएको जवाफी प्रस्तावको प्रतिउत्तरसहित पूरक प्रस्ताव पनि तयार गरेका छन् । अल्प मतमा परेका ओली दाहाललाई फकाउन दुत पठाउने गरेको स्रोतको भनाइ छ ।