काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरी नियन्त्रणमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहा नगरे देशभर सरकारविरुद्ध प्रर्दशन गर्ने बताएका छन् ।
वरिष्ठ नेता पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रण लिए लगत्तै विज्ञप्ति जारी गरेर देउवाले देशभर प्रतिरोध गर्ने चेतावनी दिएका हुन् ।
विज्ञप्तिमा लेखिएको छ, ‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पुरा हुन नदिन कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।’
पौडेललाई तत्काल रिहा नगरे देशभर प्रतिरोध गर्ने र त्यसको जिम्मेवार सरकार हुनुपर्ने देउवाले बताएका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु ।’
पौडेललाई उनकै गृहजिल्ला तनहुँमा प्रहरीले पक्राउ गरेपछि प्रमुख प्रतिपक्षी कांग्रेस सरकारमाथि खनिएको हो ।
तनहुँ पुगेका पौडेललाई ब्यास नगरपालिका १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकस्थित बुल्दीखोला मोटरेबल पूलको उद्घाटन गर्ने क्रममा भएको प्रदर्शनमा तनहुँ प्रहरीले बुधबार पक्राउ गरेको थियो ।
स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाबीच पुल उद्घाटन गर्न अघि बढेका पौडेलले कयौँ कार्यकर्तामाझ धरपकड गरेर नियन्त्रणमा लिएहो । पक्राउ परेपछि वरिष्ठ नेता पौडेलले लाठी चार्ज गर्दै आफूलाई समातेको बताएका छन् ।
‘प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु,’ उनले भनेका छन्, ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस् ।
पक्राउ पर्नुको कारण
संघीय सरकारको बजेटमा बनेको उक्त पुल उद्घाटनमा विवाद भएको थियो । कांग्रेस कार्यकर्ता र नेकपानिकट राष्ट्रिय युवासंघका कार्यकर्ताबीच विवाद भएपछि सम्भावित झडप रोक्न स्थानीय प्रशासनले बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको थियो ।
पौडेलले पुल उद्घाटन गर्ने भएपछि नेकपानिकट राष्ट्रिय युवा संघले विरोध प्रदर्शन तयारी गरेको थियो । त्यहीकारण झडप हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले बुधवार मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्मका लागि व्यास नगरपालिका १ र १० स्थित चारकिल्ला क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।
प्रशासनले पृथ्वी राजमार्गमा गुड्ने सवारी साधानबाहेक पश्चिम गल्फुबेंसी, बल्दीखोला पुल, उत्तर रानीगाउँ, पूर्व घाँसीकुवा, मुसिखोला र दक्षिणतर्फ अर्मेनीको चार किल्लामा निषेधाज्ञा घोषणा गरेको थियो । प्रशासनले ठूलो समूहमा मानिस निस्किँदा कोरोना फैलिन सक्ने भन्दै संक्रामक रोग ऐन ०२० र स्थानीय प्रशासन ऐन०२८ अनुसार निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा लगाइएकै समयमा पुल उद्घाटन गर्न भन्दै कार्यकर्ताको ठूलो समूह लिएर पौडेल अघि बढेपछि उनलाई नियन्त्रणमा लिइएको तनहुँ प्रहरीले जनाएको छ ।
रामचन्द्र पक्राउप्रति पूर्व प्रधानमन्त्री तथा जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जाल ट्विट गर्दै तनहुँको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई पक्राउ गरेपछि असन्तुष्टि जनाएका हुन् ।
गणतन्त्रको विरोध गर्दै राजावादीहरू देशव्यापी गरिरहेको प्रदर्शनमा सरकार मौन बसेको आरोप लगाएका छन् । तर, गणतन्त्तवादीलाई निषेधाज्ञा र गिरफ्तार गरेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन्। उनले भनेका छन्, ‘राजावादीलाई छुट, गणतन्त्रवादीलाई निषेधाज्ञा ?
त्यस्तै कांग्रेसका अर्का नेता शेखर कोइरालाले ब्यास नगरपालिकाले निर्माण गरेको पुल उदघाटन गर्न तनहुँ पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको आपत्ति जनाएका छन् । ‘पौडेललाई पक्राउ गरेर प्रहरी प्रशासनले कानुनी राज्यको धज्जी उडाएका छन्ु, उनले भनेका छन्, ‘यस घटनाको घोर भर्त्सना गर्दै नेता पौडेललाई तत्काल ससम्मान रिहाइको माग गर्दछु ।
अर्का नेता बिमलेन्द्र निधिले पौडेलसहित तनहुँका दर्जनौ कांग्रेस नेताहरुलाई लछार पछार गरि गिरफ्तार गरेको दाबी गरेका छन् । सरकारको यो कदमको घोर भर्त्सना गर्दछु, उनले भनेका छन्, स्थानीय तहको निर्णयमा बनाएको पुल उद्घाटनलाई रोक्नु र थुन्नु संघीयता विरोधी र तानाशाही काम हो ।