इलाम । दुई वर्षअघिसम्म नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फको सुरक्षा संयन्त्र नपुग्दा त्यस क्षेत्रका बासिन्दाले अनेकन पीडा खेप्नुपर्यो । आफैँले भोगचलन गर्दै आएको जग्गामा खेती गर्दा र संरचना बनाउँदासमेत पटक–पटक भारतीय सीमा सुरक्षा निकाय (एसएसबी) को गाली खानुपर्यो ।
भारततर्फ बाक्लो सुरक्षा रहे पनि नेपालमा सुरक्षा निकाय नहुँदा यस क्षेत्रका बासिन्दाले भारतको नियन्त्रणमै रहनुपथ्र्यो तर अब भने सीमावर्ती क्षेत्रका बासिन्दाले अलि हल्का सास फेर्न थालेका छन् । नेपालतर्फ पनि ठाउँठाउँमा सशस्त्र प्रहरीको बिओपी .(बोर्डर आउट पोष्ट) स्थापना भएपछि पुराना समस्या हल हुने स्थानीयवासीको अनुमान छ । हुन पनि सीमावर्ती क्षेत्रमा पाँच महिनाको अवधिमा पाँचवटा बिओपी स्थापना गरिएको छ ।
सूर्योदय नगरपालिकाको पशुपतिनगरमा अघिल्लो वर्ष नै बिओपी स्थापना भएको थियो भने कालपोखरी, छब्बिसे, सलकपुर, समाल्बुङ र जौबारीमा बिओपी स्थापना भइसकेको छ । जौबारीमा सोमबार मात्रै बिओपी स्थापना गरिएको हो । सरकारले बिओपी स्थापनाका लागि स्वीकृति दिएको मानेभञ्ज्याङमा मात्रै बिओपी राख्न बाँकी छ । मानेभञ्ज्याङमा पनि बिओपी स्थापनाका लागि तयारी भइरहेको बताइएको छ ।
सीमामा प्रहरी निरीक्षकको नेतृत्वमा बिओपी खडा गरिएको प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुधीरजङ्ग थापाले बताए । छोटो समयमा सुरक्षाका लागि बिओपी बने पनि यति मात्र सुरक्षाले सीमा पूर्ण हुने अवस्था छैन । भारततर्फ एसएसबीको क्याम्प नै बसेकाले पनि ठूलै सङ्ख्यामा सुरक्षा खटाउनुपर्ने देखिन्छ । थापाका अनुसार अहिले पनि बिओपीमा तोकिएबमोजिमको सुरक्षा दिन जनशक्तिको अभाव छ ।
कालपोखरीको बिओपी स्थापनाका लागि एक स्थानीयले छ महिनाका लागि निःशुल्करूपमा आफ्नो घर दिएका छन् भने छब्बिसेमा एक वर्षका लागि निःशुल्क घर उपलब्ध गराएपछि बिओपी राखिएको छ । ती ठाउँमा आफ्नै संरचना बनाउनका लागि जग्गाको खोजी भइरहेको र जग्गा प्राप्त भएपछि संरचना निर्माण अघि बढाइने सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए ।
प्रदेश १ का कृषि तथा सहकारी राज्यमन्त्री एवं इलाम क्षेत्र २ का प्रदेशसभा सदस्य राम रानाका अनुसार सीमाको गतिविधिलाई बुझ्दै निरन्तर जनशक्ति बढाउँदै लगिने छ । विगतमा सर्वसाधारणले मात्र सुरक्षा दिइरहेको सीमामा अब सुरक्षाकर्मी थपिएपछि क्रमशः सङ्ख्या र संरचना बढाउँदै लगिने उनको भनाइ छ । ‘पहिले गोठालाले मात्र सीमाको रक्षा गर्नुपथ्र्यो, अब केही दह्रो भयो’, उनले भने । पालतर्फबाट सुरक्षा नपुगेकै कारण कतिपय क्षेत्रमा गाडिएका पिलर पनि गुमनाम बनाइएको छ ।
जिल्लाकै अग्लो सन्दकपुर गाउँपालिकास्थित सन्दकपुर (३६३६ मि) मा त गाउँपालिकाले निर्माण गर्दै रहेको भवनमा समेत भारतीय पक्षले झमेला गरेको छ । सुरक्षा स्थिति फितलो हुँदा कतिपय सीमास्तम्भसमेत गायब भइसकेका छन् । जिल्लाले छोएको भारतीय सीमामा १७ मुख्य सीमास्तम्भ हुनुपर्नेमा १६ मात्रै फेला परेका छन् ।
रोङ गाउँपालिका–६ मेचीखोलाको ८१ पिपी–१० नम्बरको सीमास्तम्भ गायब छ । एउटा सीमास्तम्भ हराएको भए पनि गाडिएको स्थान भने पत्ता लगाउन सकिने ठाउँमा पाइएको छ । भएका १६ मध्ये पनि १२ वटा मर्मत गर्नुपर्ने अवस्थामा छन् भने साढे ५२ किलोमिटर दूरीमा चार मुख्य सीमास्तम्भ मात्रै सग्ला पाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसका लागि पनि सीमामा पर्याप्त सुरक्षा आवश्यक पर्ने बताउँछन् । सन्दकपुर गाउँपालिकाका प्रवक्ता गिरिराज खनाल । सीमा सुरक्षाका लागि स्थापना भएको बिओपीले सीमाको निगरानी, सीमास्तम्भको अभिलेखीकरण, त्यसको सुरक्षा, भारतीय सीमा सुरक्षा (बल एसएसबी) सँग संयुक्त गस्ती, चोरी तस्करी नियन्त्रण र सीमामा समन्वयको काम गर्नेछन् ।
अहिलेसम्म स्थापना भएका छवटा बिओपी सरदर साढे सात किलोमिटर हाराहारी पर्नुपर्ने हो । तर कुनै बिओपीलाई चार किलोमिटर दूरी पर्छ भने कुनैको भागमा १२ किलोमिटरसम्मको दूरी पर्छ । कुनै ठाउँमा बिओपीको आवश्यकता परेमा थप गर्ने प्रहरी उपरीक्षक थापाले बताए ।
पाँचथरका चार स्थानमा विओपी
पाँचथरमा ४४ दशमलव ३८ किलोमीटर भारतसँग सिमा क्षेत्र रहेको चार स्थानामा शसस्त्र प्रहरीको बोडर आउट पोष्ट स्थापना गरीएको छ ।
लामोसमयदेखि सिमानामा सुरक्षा उपस्थितिको माग गरिरहेका स्थानिय विओपी स्थापना भएपछि खुशी देखिएका छन् ।
बुधवार फालेलुङ गाँउपालीकाको फालोट भन्ने ठाँउमा विओपी उद्घाटन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले विओपीको उद्घाटन गरे । नेपाल, तत्काली सिक्किम र भारतको सिमाना रहेको तीन सिमाना भन्ने ठाँउ नजिकै पोष्ट उद्घाटन हुँदा आसपासका क्षेत्रका बासिन्दा उपस्थिति भएका थिए । चौथो विओपीको रुपमा फालोटमा पोष्ट स्थाना भएको हो । यसअघि पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवाती विन्दु चिवाभञ्याङ, सकेढापा र भैसेमा पोष्ट स्थापना भएका छन् । चिवाभञ्याङ र फालोटमा सिमाना नजिकै तथा अन्य दुईस्थानमा सिमाना भन्दा केहि टाढा पोष्ट स्थापना गरीएको छ ।
‘यो चरणमा नेपाल सरकारले स्वीकृत गरेका दुई सय २१ वटा विओपी मध्ये पाँचथरमा स्थापना गर्नु पर्ने सबै स्थापना भएका छन् । १ नम्बर प्रदेशमा ५० वटा विओपी पुर्याउने लक्षका साथ काम भईरहेको मध्ये पाँचथरको फालोटमा स्थापना भएको विओपी ४० औँ नम्बर हो । नेपाल भरीकोमा चै १ सय ९० नम्बर विओपी हो’ शसस्त्र प्रहरी बल नेपाल १ बराह वाहिनी पकलीका बाहिनिपति शसस्त्र प्रहरी नायब महानिरिक्षक (डिआईजी) वंशिराज दाहालले भने ‘पाँचथरमा उच्च पहाडी क्षेत्रमा विओपी स्थापना भएको छ ।
चिवाभञ्याङको विओपीको लागि भवनका लागि टेण्डर भएर काम सुरु हुन्छ । बाँकी तीनैवटा विओपीको लागि जग्गाको प्रक्रिया भईसकेको छ । चाडो भन्दा चाडो आफ्नै घर बनाएर बस्ने काम अघि बढाइएको छ ।’
विओपी स्थापना भएपछि समा सुरक्षा, सिमा स्तम्भको संरक्षण, उच्च पहाडी क्षेत्रमा चोरी निकासी नियन्त्रण, सुरक्षाको प्रत्याभुति लगायतका विषयमा राहत पुग्ने स्थानीयको आशा रहेको छ । आर्कषक उच्च पहाडी क्षेत्रमा सुरक्षा उपस्थीति भएपछि पर्यटकको आगमन समेत बढ्ने अपेक्षा रहेको छ । ‘सुन्य सुरक्षा उपस्थीतिको अवस्थामा शसस्त्र प्रहरीको पोष्ट स्थापना हुनु हाम्रोलागी खुसिको कुरा हो’ फालोटका गोठ सञ्चालक चन्द्रलाल नेपाल भन्छन् ‘अब भारत तर्फका सुरक्षाकर्मीले हामीलाई हेप्न सक्दैनन । महत्पूर्ण कुरा सिमा सुरक्षा, यहाँको जैविक विविधताको सुरक्षा हुने आशा गरीएको छ ।’