उदयपुर । उदयपुरकाे कटारी नगरपालिका २ गराँसका युवाहरुले देउसी खेलेर उठेको रकम रोगी बालिकाकाे उपचारलाई सहयोग गरेका छन ।
बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङको १० महिने छोरी सियोना श्रेष्ठ स्पाइनल मस्कुलर एट्रोफी) नाम रोगसँग लडिरहेकी छिन् । सियोनाको उपचारको लागि ठूलो रकम लाग्ने भएपछि उनको परिवारले सबैसँग सहयोगकाे अपिल गरिरहेकाे छ ।
पीडित परिवारकाे अपिल अनुसार युवारले देउसी खेलेर संकलन गरेकाे रकम वनभाेज र रमाइलाे गर्न छाडेर उपचारकाे लागि सहयाेग गरेकाे युवाहरुकाे भनाइ छ । युवाहरुले देउसी खेलेर संकलन गरेकाे ६० हजार रुपैँय रकम सहयोग गरेका छन । देउसी भैलो खेलेको रकमबाट सामाजिक कामका सहयोग उदेश्याका साथ बैंक अफ काठमाण्डु लिमिटेडको खाता नम्वर २०६५००००००३१५२४ मा जम्मा गरिएको सोनु तामाङले जानकारी दिए ।
आजकाल अधिकाँश युवाहरु देउसी भैलो खेलेर उठाएको रकमबाट बनभोज, भ्रमण, मनोरञ्जन गरेर सक्ने गरेको पाइएता पनि तर कटारी २ गराँसका युवाहरुले उपचारकाे लागि सहयाेग गरेपछि चर्चा कमाएका छन् ।
‘अपाङ्ग, अशक्त गरिब दिन दुःखीलाई सहयोग गर्ने उदश्यले युवाहरु मिलेर देउसी भैलो कार्यक्रमको आयोजना गरेर उक्त रकम उठाईएको र सामाजिक संञ्जालहरुका सियोना श्रेष्ठको भिडियो देखेपछि सहयोग गरेको गरासका युवा प्रशान्त लामाले बताए ।’ सानो सहयोग भएता पनि साथीभाई मिलेर सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी भएको लामाले बताए ।
सियोनाको उपचारको करिब २५ करोड रुपैयाँ खर्च लाग्ने र नेपालमा उपचार सम्भव नहुने भएकोले अमेरिकामा मात्रै सम्भव हुने भएकोे सियोनाका आमा एलिनाले जानकारी गराएकी छन् । यस रोगको उपचार २ वर्षभित्र गरिसक्नुपर्ने श्रेष्ठ दम्पतीको भनाइ छ । छोरीको उपचारको लागि ठूलो रकमको आवश्यकता भएको हुनाले तत्काल जोहो गर्न सम्भव नभएको उनीहरुको गुनासो छ ।
सहयोगका लागि सियोना श्रेष्ठको आफ्नै खाता नम्बर ‘सियोना श्रेष्ठ, २०६५००००००३१५२४, बैंक अफ काठमाण्डु लिमिटेड, परासी ब्राञ्चमा सहयोग गर्न अपिल गरिएको छ ।