गलकोट,
कोरोना कहरमा शुरुको समय अत्यन्तै कठिन थियो । कोरोना सङ्क्रमित मात्रै होइन, कोरोनाको आशङ्का गरिएकालाई समेत अस्पताल ल्याउन एम्बुलेन्स चालकले नमानेको अवस्था थियो । नेपालकै छैटाँै सङ्क्रमितका रूपमा रहनुभएका बागलुङ नगरपालिका–३ का ६५ वर्षीय महिलालाई लिन गत चैत दोस्रो हप्ता अस्पतालबाट हिँड्न थालेको रेडक्रसको एम्बुलेन्स चालक नै फरार भएपछि स्वास्थ्य कार्यालयका सवारी चालकले सङ्क्रमितलाई अस्पताल ल्याएका थिए ।
यस्तो घटना पुनः काठेखोला गाउँपालिका–५ मा आरडिटी पोजेटिभ देखिएका एक महिलालाई बोक्न रेडक्रस बिहुँ शाखाका एम्बुलेन्स चालक मानेनन् । शुरुमा केही असहज परिस्थितिमा एम्बुलेन्स चालक सङ्क्रमित बोक्न नमानेपछि नेपाल रेडक्रस सोसाइटी बिहुँ शाखा र पैयुपाटा स्वास्थ्यचौकीको एम्बुलेन्सले कोरोना सङ्क्रमित बोक्न थालियो । यद्यपि चालकको अभावै खड्किएपछि बागलुङ नगरपालिकाका हलुका सवारी चालक कमल कार्कीलाई मानवीय भावना पैदा हुन थाल्यो र स्वतःस्फूर्तरूपमा कोरोना सङ्क्रमितलाई बोक्न थाल्नुभयो ।
गत चैत महिनाको पहिलो सातासम्म बागलुङ नगरपालिकाका प्रमुखको सवारी चलाउँदै आउनुभएका काठेखोला गाउँपालिका–७ रेशका ४० वर्षीय कार्कीले नगरपालिकाकै अर्का सवारी चालकलाई नगरप्रमुखको सवारी चलाउन दिएर आफूले सङ्क्रमितलाई एम्बुलेन्समा बोक्दै आउनुभयो । अन्य समयमा नगरपालिकाको अर्को सवारीमा स्वाब सङ्कलनमा जाने स्वास्थ्यकर्मी बोक्दै आउनुभएको थियो । सत्र वर्षदेखि नगरपालिकामा काम गर्दै आउनुभएका कार्कीले १४ वर्षदेखि नगरपालिकाको शुरुमा कार्यकारी अधिकृतको सवारी र पछिल्लो समय नगरप्रमुखको सवारी चलाउँदै आए पनि गत चैतदेखि उहाँले एम्बुलेन्स र नगर स्वास्थ्यकर्मीको सवारी चलाउँदै आउनुभएको छ । अहिलेसम्म १८० सङ्क्रमित र दुई सङ्क्रमितको शव एम्बुलेन्समा बोकिसकेको चालक कार्कीले बताउनुभयो ।
“शुरुमा एम्बुलेन्स चालक सङ्क्रमित बोक्न नमानेको कुरा मैले सुनेको थिएँ, सङ्क्रमितले चालक नपाएर दुःख पाएको थाहा पाएपछि मेयर’सापको सवारी चलाउँदै आएको म एकाएक एम्बुलेन्स चलाउन थालेँ”, सवारी चालक कार्कीले भन्नुभयो, “आखिर चालकले सवारी नै चलाउने हो, सङ्कटमा मानवीय सेवा गर्नुपर्छ भन्ने कुरा मनमा आएपछि सङ्क्रमित बोक्न थालेको हुँ ।” नगरपालिकाको चालक रहेका कार्कीले नगरपालिकाको स्वास्थ्य शाखाको सवारीसमेत चलाउँदै आउनुभएको छ । उहाँले नगरपालिकामा कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब सङ्कलन गर्न जाने स्वास्थ्यकर्मी र क्वारेन्टिनमा खाना पुर्याउनका लागिसमेत नगरपालिकाको सवारी चलाउँदै आउनुभएको छ ।
“सङ्क्रमित बोक्नेबाहेक मैले कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई गाउँमा पुर्याउने काम गर्दै आएको छु”, कार्कीले भन्नुभयो, “आफू सुरक्षित भएर सङ्क्रमित बोक्दा सङ्क्रमण सर्ने जोखिम हुँदैन”, पिपिइको प्रयोग गरेर सङ्क्रमित बोक्दा सङ्क्रमण नसर्ने भएकाले अन्य चालकलाई समेत नडराउन उहाँ सुझाव दिनुहुन्छ । उहाँले नगरपालिकाको चालकले पाउने तलब भत्ताबाहेक अग्रमोर्चामा खटिने जोखिम भत्ता र सङ्क्रमित बोकेको भत्तासमेत पाउँदै आउनुभएको छ । एकपटक सङ्क्रमित बोकेमा बागलुङ नगरपालिकाले रु दुई हजार ५०० दिँदै आएको कार्कीले बताउनुभयो ।
अन्य समयभन्दा पिपिइ लगाएर सवारी चलाउँदा निकै समस्या हुने कार्कीको अनुभव छ । उहाँले बलेवाको अमलाचौर, भकुण्डे, पैयुपाटा, बिहुँसम्म पुगेर सङ्क्रमितलाई एम्बुलेन्समार्फत धवलागिरि अस्पताल ल्याउँदै आउनुभएको छ । निकै जोखिमपूर्ण काम रहेको भन्दै एम्बुलेन्स चालकले हात धोएको समयमा आफूले जागिरभन्दा पनि सङ्कटमा मानवीय सेवा र दायित्व सम्झेर सहयोग मात्रै गरेको कार्कीको भनाइ छ । “धेरैबेर पिपिइ लगाएर सवारी चलाउन निकै समस्या हुन्छ, दिसापिसाबसमेत रोकेर राख्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “जागिर मात्रै खाने भए त मलाई कुनै दुःख गर्नुपर्ने थिएन, सरर... एसी गाडीमा मेयर’सापलाई बोक्दा सहजै हुन्थ्यो, तर सङ्कटको घडीमा केही सेवा गरौँ भन्ने लागेर एम्बुलेन्स चालक भएँ ।”
एउटै एम्बुलेन्समा आठ जनासम्म कोरोना सङ्क्रमित एकैपटक बोकेको अनुभवसमेत कार्कीसँग छ । बागलुङ जिल्लाको अन्य स्थानीय तहमा भन्दा बागलुङ नगरपालिकामा धेरै सङ्क्रमित भएका कारण आफूले जिल्लामै सबैभन्दा बढी सङ्क्रमित बोकेको उहाँको भनाइ छ । शुरुमा गाउँबाट समेत सङ्क्रमितलाई जिल्ला सदरमुकामस्थित धवलागिरि अस्पतालमा उपचारका लागि ल्याउनपर्ने भएकाले आफूले धेरै सङ्क्रमित बोक्ने अवसर पाएको उहाँको भनाइ छ । अहिलेसम्म सुरक्षित भएर एम्बुलेन्स चलाएका कारण आफूलाई कोरोना सङ्क्रमण नभएको उहाँको भनाइ छ ।