काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले भोली (बुधबार) गरेको सचिवालय बैठक सार्न गरेको प्रस्ताव कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा अस्विकार भएको छ ।
ओलीले बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पर सार्न महासचिव विष्णु पौडेलमार्फत गरेको प्रस्ताव कार्यकारी अध्यक्ष प्रचण्डले अस्वीकार गरेको स्रोतको भनाइ छ ।
बैठक सार्ने ओलीको प्रस्ताव लिएर आज (मंगलबार) बिहान अध्यक्ष प्रचण्डनिवास खुमलटार पुगेका महासचिव पौडेललाई प्रचण्डले बैठकमै छलफल गर्ने भन्दै अस्वीकार गरेका बताइएको छ ।
पौडेलले प्रचण्डसँगको भेटमा समस्या समाधानको सूत्र खोजेर मात्रै बैठक बस्न उपयुक्त हुने ओलीको रहेको सन्देश सुनाएका थिए । गएको शुक्रबार सुरु भएको सचिवालय बैठक बुधबार दिउँसो १ बजेलाई बोलाइएको छ । शुक्रबारको बैठकअघि अध्यक्षद्वयबीच पत्रमार्फत एकअर्कामा जवाफ आदान प्रदान भएको थियो ।
सोही बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावमा समेत ओली सकारात्मक छैनन् । अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले पटकपटक अनौपचारिक बैठक बसेर सचिवालयको औपचारिक बैठकका लागि ओलीलाई दबाब दिएपछि कार्तिक २८ गते बैठक बसेको थियो ।
प्रचण्डको बैठक नरोक्ने जवाफ बोकेर महासचिव विष्णु पौडेल मंगलबार नै बालुवाटार पुगेपछि ओलीले आफू निकटका नेताहरुलाई बालुवाटारमै बोलाएर छलफल गरेका छन् । सो छलफलमा पनि ओलीले पहिला दुई अध्यक्षबीच सहमति कायम गरेर मात्रै सचिवालय बैठक बस्नुपर्ने भन्दै के गर्दा ठिक हुन्छ भनेर धारणा मागेका थिए ।
पार्टीका नेताहरुलाई जानकारीसम्म नदिइकन राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग कूटनीतिक मर्यादाविपरित प्रधानमन्त्री ओलीले भेटेपछि नेकपाभित्रको विवाद फेरि एक पटक उत्कर्षमा छ ।