काठमाडौं । नेकपा स्थायी समिति सदस्य हरिबोल गजुरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारभन्दा एक साताअघि नै भेट्नुभएको र उहाँ विभिन्न नेतासङ्ग फलोअप भेटघाटको निम्ति आज बिहान सिन्धुलीबाट काठमाण्डौतर्फ प्रस्थान गर्नुभएको छ । केही समय अघिसम्म गजुरेललाई खुमलटार छाडेर बालुवाटारतर्फ नजिकिएको आरोप लागेको थियो । तर,अब भने केही गरी पार्टी विभाजन भएमा त्यसको सम्पूर्ण दोष प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको हुने बताउन थाल्नुभएको छ ।
निकट स्रोतका अनुसार पहिले ‘पार्टी एकताको मूल्य,मान्यता र भावना विपरित कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले दुईवटै पदबाट हट्नुपर्ने भन्दै राखेको माग गलत थियो । एकताअघि दुई जना अध्यक्षमध्ये एउटाले सरकार र अर्कोले पार्टी सञ्चालन गर्ने सहमति थियो । तर एकता महाधिवेशन नहुञ्जेल प्रधानमन्त्री तथा अध्यक्षलाई दुईवटै पदबाट छोड् भन्नु विधिसम्मत थिएन । पार्टीले समस्या समाधानको लागि गठन गरेको आयोगको प्रतिवेदन तथा स्थायी समितिको निर्णयलाई नमान्ने भन्ने प्रधानमन्त्रीको धारणा अहिले आएर सरासर गलत हो ।’
गजुरेलको भनाई उद्धृत गर्दै स्रोतले भनेको छ ‘हिजो अर्को पक्षको गलत माग र अहिले प्रधानमन्त्री तथा नेकपा अध्यक्षको विधि,पद्धति र सिन्द्धान्त विपरितको धारणालाई ठीक ठाउँमा ल्याउन आफूले विधानसम्मत कुरो उठाएको हुँ । कुनै चिज पाउन वा गुमाउनको लागि धारणा राखेको होइन ।’
कसैले पनि कमिटीको निर्णय मान्दिँन,बहुमतको निर्णय पनि मान्दिँन र आफूले त्यसबारे केहि पनि मान्दिँन भन्नु गलत हो भन्दै वहाँले उक्त प्रवृत्तिले तानाशाही,सामन्ती र गैरकम्युनिष्ट चरित्रको झल्को दिने हरिबोलको पछिल्लो धारणा छ। यसले पार्टी एकतालाई सुदृढभन्दा पनि विखण्डनतर्फ डोर्याउँछ । साथै,वामपन्थी आन्दोलनभित्र अराजक प्रवृत्तिलाई समेत मलजल गरेको अर्थ लाग्छ । त्यसैले यस्तो अवस्थामा पार्टी विभाजन भएमा त्यसको दोष स्वयम् प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले लिनुपर्ने गजुरेलको दाबी छ ।
प्रधानमन्त्रीले पार्टीभित्र कसैले १ कदम चालेमा आफूले १० कदम चाल्ने धम्की दिनुलाई पनि गजुरेलहरूले स्वाभाविक रूपमा लिनुभएको छ ।
पछिल्लो दुई वर्षमा ‘सिंगौरी खेल्ने अनि सम्झौताको नाममा त्यत्तिकै छाड्ने’ एउटा अचम्मको प्रवृत्ति देखिएको छ । अहिलेको अवस्था त्यसैको विकसित रूप भएको गजुरेलहरूको ठहर छ ।
अहिलेसम्मको परम्परा शुरुमा सिंगौरी खेल्नेहरूले समेत धम्कीपछि लुरुलुरु चिसो पानीले नै नुहाउने गरेकाले त्यस्तो अवस्थामा उहाँले धम्क्याउनु कुनै अचम्म होइन । गजुरेलको भनाइ नै छ ‘कि पद छाड्नुपर्छ कि विधान र विधिसम्मत चल्नुपर्छ भनेर प्रधानमन्त्रीलाई मनोविज्ञान घुसाइदिन कार्यकारी अध्यक्षलगायत बहुमतमा रहेका नेतृत्व तहले बोल्ड डिसिजन गरेर झ्याप्प अगाडि बढ्न सक्नुपर्छ । अन्यथा,प्रधानमन्त्रीले होइन मौका पाए भने वहाँका कनिष्ठ सल्लाहकारले पनि पेल्न शुरु गर्छन् । त्यहि पृष्ठभूमिमा वहाँको पछिल्लो धम्की आएको रूपमा बुझ्नुपर्छ ।’
पार्टीभित्र पछिल्लो दुई वर्षमा ‘सिंगौरी खेल्ने अनि सम्झौताको नाममा त्यत्तिकै छाड्ने’ एउटा अचम्मको प्रवृत्ति देखिएको छ । अहिलेको अवस्था त्यसैको विकसित रूप भएको गजुरेलहरूको ठहर छ ।
यता,भाइटिकाको राती बालुवाटारमा प्रधानमन्त्रीनिकट नेताहरूको निकै बेर छलफल भएको बुझिएको छ । ईश्वर पोखरेल,शंकर पोखरेल,लगायतका नेताहरूको छलफलले ‘अब एकपटक पूर्व माओवादीहरूलाई घेरा हालेर साइजमा ल्याउनुपर्ने’ निश्कर्ष निकालेको बताइन्छ । (जनआस्था डटकमबाट साभार गरिएको होः सम्पादक)