उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ४ का अगुवा कृषक शिवजी निरौला (किसान) लाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारले सम्मान गरिएको छ ।
सरकारी जागिरपछि तरकारी खेतीमा छुट्टै पहिचान बनाएका निरौला जागिरे जीवनभन्दा अझ जोशकासाथ कृषि पेसामा व्यस्त रहेका उनलाई कृषि ज्ञान केन्द्र उदयपुरले कृषि क्षेत्रमा योगदान पुर्याएबापत जिल्ला स्तरिय मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारले सम्मान गरेको हो ।
कृषि क्षेत्रमा प्रोत्साहन गर्न कार्यालयले स्वीकृत गरेको बार्षिक कार्यक्रम अनुसार आर्थिक बर्ष २०७६÷०७७ बाट निरौलालाई नगद बीस हजारले सम्मान गरिएको कार्यालय प्रमुख प्रकाश विश्वकर्माले बताए । उनले अघिल्लो आर्थिक बर्षमा नै सम्मान गर्ने कार्यक्रम भएपनि कोरोना भाइरस (कोभिड १९) का कारण जमघट गर्न सक्ने अवस्था नरहेकाले ढिला गरी सम्मान गरिएको बताए ।
उनले आगामी दिनमा पनि कृषकहरुलाई प्रोत्साहन, क्षमता अभिवृद्धि, कृषिमा आधुनिकिकरण जस्ता कार्यक्रम ल्याइने कार्यलय प्रमुख विश्कर्माले बताए । नेपाल प्रहरीको सिपाही पदमा नियुक्ती भएर २०६० सालमा १८ बर्ष पूरा गरी असईबाट सेवानिवृत भएका शिवजी २०६३ सालदेखि व्यवसायिक कृषि पेसामा छन् ।
एक विघा क्षेत्रफलमा उनले व्यवसायिकरुपमा तरकारी खेती लगाएका छन् । उनी नगरक्षेत्रकै उत्कृष्ट किसानकोरुपमा चिनिन्छन् । उनको तरकारी खेतीमा विषाधी मुक्त छ । आर्गेनिक तरकारी खेती उत्पादनमा जोड दिएका शिवजी भन्छन्, ‘कृषि पेसा गर्न ढिलो गरेछु ।
‘अहिले म सिजन अनुसारका तरकारी बेचेरै मासिक ८० हजारदेखि एक लाख रुपैँयासम्म कमाई रहेको छु, उनले भने ‘असईको जागिरबाट त्यति कमाउन ३, ४ महिना लाग्छ । ‘राष्ट्रसेवकको सम्मान गर्छु तर, जति मेहनत गर्छौ त्यति पैसा छैन, उनले भने, ‘त्यतिको खटने हो भने सजिलै महिनाको एक लाख कमाइन्छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले सम्मान र खेतीको ग्यारेण्टीको अभावमा कृषकहरु यो क्षेत्रबाट नै विस्थापित हुँदै गएकाले यस्ता कार्यक्रमले उनीहरुको रुचीमा वृद्धि हुने बताए । ‘किसानलाई हिलो र धुलाम्मे देख्दा गिज्याउने र सबैभन्दा तल्लो वर्गकोरुपमा हेर्ने चलन छ, प्रमुख परियारले भने, ‘जवसम्म कृषकलाई समान दृष्टिकोण र उनीहरुको योगदानको प्रंशसा गर्न सकिन्न तवसम्म उनीहरु अपहेलित जीवन जीउन बाध्य छन परियारले भने ।
उनीहरुले गरेको दुःखकै कारण आफूहरुको पेट भरिएको छ भन्ने सोचाइ नहुँदा कृषि पेसा ओझेलमा परेको बताए ।