काठमाडौं । आज बस्ने भनिएको विवादित सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हाइकमाण्ड सचिवालयको बैठक स्थगित भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली नेकपा सचिवालय बैठक बोलाउन तयार भएपछि आजको बैठक स्थगित गरिएको हो ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेपाल माधवकुमार नेपाल, झलनाथ खनाल, उपाअध्यक्ष बामदेव गौतम, प्रवक्त नारायणकाजी श्रेष्ठ लगाएले आज राख्न लागेको बैठक स्थगित भएको छ । ओलीकाे नीजि सचिवालयका अनुसार बोलाउन ओली नै तयार भएपछि भोलिसम्म (शुक्रबार) का लागि सरेको जनाइएको छ । ओली र प्रचण्डसँग परामर्स गरेपछि महासचिव विष्णु पौडेलले भोलि दिउँसो ४ बजे बैठक बस्नेगरी सबै सचिवालय सदस्यलाई खबर गरेको जानकारी दिइएकाे छ ।
सचिवालय बैठक बस्न अस्वीकार गरेका ओली तयार भएपछि प्रचण्डले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गरेर बोलाएकाे राेकिएकाे छ । प्रचण्डनिकट एक सचिवालय सदस्यले ओली आफै उपस्थित हुने भनेर खबर आएपछि भोलिका लागि बैठक सारिएको जानकारी दिए । उनले बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने पनि बताए ।
लामो समयदेखि ओलीले सचिवालय बैठक बोलाउन अस्वीकार गर्दै आइरहेका थिए । नेकपा सचिवालयको औपचारिक बैठक बिहीबार बस्ने र उक्त बैठकमा सहभागी बन्न प्रचण्डले मंगलबार नै ओलीलाई आग्रह गरेका थिए । महासचिव पौडेल, स्थायी कमिटी सदस्यद्वय सुवास नेम्बाङ र शंकर पोखरेललगायतका नेताहरुले सहमतिमै बैठक बोलाउनु पर्नेमा जोड दिएका थिए । तर, अन्य नेताहरुले भने प्रधानमन्त्री ओलीलाई बैठक पनि नबोलाउन र बैठकमा पनि नजान सुझाव दिएको पनि स्रोतको दावी छ । केही नेताले भने अध्यादेश ल्याउने सुझाव पनि दिएका ती स्थायी कमिटी सदस्यको भनाइ छ ।
ओली इतरका एक स्थायी कमिटी सदस्यले भने ओलीमा दम्भ र अहंकारले गर्दा पार्टी संकटमा परेको बताएका छन् । उनी भन्छन्, ‘ओलीमा दम्भ, घमण्ड र अहंकार छ । उहाँ बैठकमा नआउन पनि सक्नुहुन्छ । अझै एक चरण उहाँले नेताहरुलाई धम्काउने काम गर्नु हुन्छ । त्यसपछि उहाँ पार्टी निर्णय मान्छु भन्दै सहमतिमा आउने सम्भावना छ । पार्टी विभाजनका लागि पनि उहाँले निरन्तर प्रयास गर्नु भएको छ ।’
नेकपाको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा ओली अल्पमतमा छन् । ओली, प्रचण्ड र नेपाल समूहमध्ये दुई समूह एक ठाउँमा हुँदा अर्को समूह रक्षात्मक अवस्थामा पुग्छ । सचिवालयका ९ सदस्यमध्ये ओलीसँग आफू बाहेक ईश्वर पोखरेलले प्रष्ट साथ दिने अवस्था छैन । महासचिव पौडेलले अहिले ओलीलाई साथ दिए पनि अन्तिम अवस्था हेरेर परिवर्तन गर्न सक्ने नेताहरु बताउँछन् ।
त्यसो त अर्थमन्त्री बनाउने समयमा पनि ओलीले खराबमध्ये कम खराब भएकाले मन्त्री बनाएको आफू निकट नेताहरुसँग बताएका थिए । सचिवालय बैठकमा ओलीलाई साथ दिँदै आएका रामबहादुर थापा ‘बादल’ले भने अन्तिम अवस्थामा प्रचण्डलाई साथ दिने तयारीमा छन् । प्रचण्डसहित खनाल, नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठले पहिल्यै प्रचण्डलाई साथ दिँदै आएका छन् ।
पार्टीका नेताहरुलाई जानकारीसम्म नदिइकन राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग कूटनीतिक मर्यादाविपरित प्रधानमन्त्री ओलीले भेटेपछि नेकपाभित्रको विवाद फेरि एक पटक उत्कर्षमा छ ।