काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अनौपचारिक बैठक सम्पन्न भएकाे छ । प्रचण्डको अध्यक्षतामा बहुमत सदस्यको बैठकले बिहीबार २७ गतेसम्म सचिवालय बैठक बोलाउने विषयमा छलफल गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
उनले आजको अनौपचारिक बैठकले बिहीबारसम्म सचिवालयको औपचारिक बैठक बोलाउने निर्णय गरेको पनि जानकारी दिए । आजको बैठकमा सुरुमा प्रचण्डले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै दिउँसाे भएको भेटवार्ताका विषयमा जानकारी गराएका थिए । प्रचण्डले पर्सि २७ गते बिहीबार सचिवालय बैठक बस्नका लागि गरेको आग्रहमा पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सकरात्मक जवाफ नदिएको प्रवक्ता श्रेष्ठले बताएका छन् । ‘उहाँ अझै पनि बैठकमा सहभागी हुने/नहुने कुनै सकारत्मक प्रतिक्रिया आएको छैन,’ उनले अनौपचारिक बैठकको निर्णय सुनाउँदै भनेका छन्, ‘हामीले सकेसम्म आउन अनुरोध गरेका छौँ , आजकाे निर्णय पनि त्यही भएकाे छ ।’
आजको अनौपचारिक बैठकले सहमतिका लागि गरिएको आग्रह वा ढिलाइलाई कमजोरीका रुपमा नलिन चेतावनी पनि दिएको उनको भनाइ छ । पार्टी एकताका कायम राख्नका लागि आफूहरुले निरन्तर प्रयास गरिरहेको श्रेष्ठले बताएका छन् ।
बहुमत सचिवालय सदस्यले दुई दिनभित्र पार्टीको सचिवालय बैठक बोलाउन आग्रह गर्दै ओलीलाई शनिबार पत्र बुझाएका थिए । तर, ओलीले तत्काल बैठक बस्न नसक्ने जानकारी गराएपछि पार्टी निर्णय अनुसार अगाडि बढ्न औपचारिक बैठक बोलाउने तयारीकाे लागि आजकाे अनाैपचारिक बैठककाे आयाेजना गरिएकाे बताइएकाे छ ।
नेकपमा हाइकमाण्ड मानिने ९ सदस्यीय सचिवालयमा ओली अल्पमतमा छन् । ओलीको पक्षमा ईश्वर पोखरेल छन् । महासचिव विष्णु पौडेल र रामबहादुर थापा बादलले दुबैतर्फ आफूहरु रहेको बताउँदै आएका छन् । कार्यकारी अध्यक्ष प्रचण्डलाई भने खनाल, नेपाल, गौतम र श्रेष्ठको साथ छ ।
पार्टीका नेताहरुलाई जानकारी नदिइकन राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग कूटनीतिक मर्यादाविपरित प्रधानमन्त्री ओलीले भेटेपछि नेकपाभित्रको विवाद फेरि एक पटक उत्कर्षमा छ ।