काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा अहिले चर्केको विवाद उत्कर्षमा पुगेको छ । तत्कालिन नेपाल कम्युनिस्ट पार्टी(एमाले) र नेकपा माओवादी केन्द्रबीच एकताहुँददेखिनै विवादरहित हुन नसकेको नेकपालाई अहिले विभाजनको नजरले पनि व्यख्या गर्न थालिएको छ ।
यस्तो तयारीमा लागे दुबै अध्यक्ष
दुई अध्यक्ष रहेको नेकपामा अहिले दुबै पक्ष एकअर्कामाथि दबाब बढाउने तयारीमा जुटेका छन् । स्रोका अनुसार प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालयका बहुमत सदस्यले बैठक बोलाउन गरेको लिखित आग्रहको वेवास्ता गर्दै संसदीय दलमा बहुमत जुटाउने खेलमा लागेका छन् ।
यता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कर्यकारी अध्यक्षको अधिकार प्रयोग गर्दै पार्टीको बैठक बोलाउने तयारीमा लागि परेको स्रोतको भनाइ छ । दुबै अध्यक्ष आफुलाई शक्तिशाली बनाउने र अर्को समूहलाई दबाउने योजना बनाउ लागिपरेका छन् ।
कार्यकारी अध्यक्ष प्रचण्ड समूहमा सचिवालयका बहुमत सदस्यहरु बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा मगर रहेका छन् । असन्तुष्ट रहेका बहुमत सविचालय सदस्यहरुले ओलीलाई भेटी पार्टीको बैठक राख्न आग्रह गरेका थिए । ओलीद्वारा असन्तुष्ट पक्ष प्रचण्ड, नेपाल, खनाल, गौतम, श्रेष्ठको आग्रह अस्विकार भएपछि अहिले दुवै समूह रणनीति बनाउन लागि परेको स्रोतको भनाइ छ ।
नेकपाको हाइकमाण्ड मानिने सचिवालय जम्मा ९ जना सदस्यहरु छन् । जसमा ओली समूहमा ओली, महासचिव विष्णु पौडेल र इश्वर पोखरेल गरी तीन जना छन् । यता असन्तुष्ट पक्ष प्रचण्ड, नेपाल समूहमा ६ जना रहेका छन् । ‘९ जनामा ६ जना ओलीको विपक्षमा भएपछि ओली अहिले संसदीय दलमा बहुमत पुर्याउने खेलमा छन,’ एक सचिवालय सदस्यले भने, ‘हामीले बहुमतको दम्ब देखाएका छैनौँ, नाम नखुलाउने शर्तमा भने, ‘हामी सहिमतिबाट नेकपाको विवाद समधान गर्ने गरी छलफल गरिरहेका छौँ ।’
उनले पार्टीको बैठक राख्ने तयारी कार्यकारी अध्यक्ष कमरेड प्रचण्डले तयारी सुरु गरेको भन्दै भने, ‘ओली कमरेड नआएपनि नेकपामा बैठक अपरिहार्य बन्यो ।’ ओलीले संसदीय दलमा बहुमत जुटाउन भन्दै सांसद र पूर्वमाओवादी नेतासँग निरन्तर छलफल थालेको स्रोतको भनाइ छ ।
पार्टीका सबै तहमा अल्पमतमा परेपछि बैठकका लागि तयार नभएका प्रधानमन्त्री ओलीले संसदीय दलमा बहुमत जुटाउने तयारीमा लागेको एक स्थायी कमिटी सदस्यले बताए । ‘ओली समूह संसदीय दलमा बहुमतमा छ,’ ओली निकट मनिने एक स्थायी कमिटी सदस्यले भने, ‘त्यसमा प्रचण्ड र माधवकुमार नेपाल समूहका संसदहरुसँग पनि छलफल भइरहेको छ ।’ उनले सांसद र पूर्वमाओवादी नेताहरुसँग निरन्तर छलफल गरिरहेको जानकारी दिए । ओली निकट एक स्थायी कमिटी सदस्यले आफूहरुलाई संसदीय दलमा बहुमत जुटाउन धेरै समस्या नहुने बताएका छन् । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले बैठक बोलाउने तयारी गरेमा संसदीय दलमा बहुमत जुटाउने गरी छलफल चलिरहेको उनको भनाइ छ ।
ओली पक्षका नेताहरुले बहुमत पुर्याउनका लागि ५ देखि १० जना सांसद आवश्यक पर्नेमा पूर्वमाओवादीकै १० सांसद ओलीको पक्षमा आएको दाबी गरेका छन् । उनी भन्छन्, ‘५ देखि १० सांसद अपुग भएपनि बहुमत जुटाउन समस्या छैन । पूर्वमाओवादीका हरिबोल गजुरेल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभू साहलगायतका नेताहरु हाम्रो खेमामा आइसकेका छन् ।’
तर, प्रचण्ड पक्षीय नेताहरुले ओलीलाई अन्तिम अवस्थामा साथ नदिने पूर्वमाओवादीका नेताहरुले बताएका छन् । संसदीय दलमा बहुमत जुटाउन नसकेको अवस्थामा भने पार्टी विभाजनका लागि अध्यादेश ल्याउनेगरी ओलीले आफू निकटसँग छलफल गरिरहेका छन् । पार्टी विभाजनका लागि सजिलो प्रावधानसहितको अध्यादेश ल्याउने तयारी ओलीको छ ।
ओलीले लिखित आग्रह गर्दा पनि बैठक नबोलाएपछि आज बेलुकीसम्म भोलि वा पर्सीसम्म बैठकका लागि प्रचण्डले सूचना जारी भएका छन् । सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तोक्ने र अगाडि बढ्ने तयारी गरेको स्रोतको भनाइ छ ।
प्रचण्डले महासचिव विष्णु पौडेलमार्फत ओलीलाई बैठक बोलाउने सन्देश पठाइसकेका छन् । आफूसँग बैठक बोलाउने अधिकार भए पनि सहमतिका लागि ओलीलाई लिखित आग्रह गरिएको र त्यो आग्रहलाई बेवास्ता गरिएकाले अब आफैले बैठक बोलाउने प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले बताएका छन् ।
पार्टीका नेताहरुलाई जानकारी नदिइकन राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग कूटनीतिक मर्यादाविपरित प्रधानमन्त्री ओलीले भेटेपछि नेकपाभित्रको विवाद फेरि एक पटक उत्कर्षमा छ ।
अब के होला त ?
केही समय अघि सम्पन्न स्थायी कमिटी बैठकले जारी विवाद समधान महासचिव पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदल गठन गरेको थियो । ओली त्यही कार्यदल सक्रिया पर्ने योजनामा थिए । (सोमबार) हिजो ओलीकै चाहना अनुसार महासचिव पौडेलले कार्यदलका अन्य सदस्यलाई आज बालुवाटार बोलाएका थिए । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेर ओलीको सन्देश सुनाएका पौडेलले कार्यदलका सदस्यलाई बालुवाटार बोलाएका थिए ।
तर, कार्यदलका सदस्यहरुले नै बैठक बस्न अस्वीकार गर्दै स्थायी कमिटी बैठकको निर्णयको कार्यान्वयनमा जोड दिएपछि कार्यदल सक्रिय पार्ने प्रयास बिसफल भएको हो । कार्यदल सदस्यहरु पम्फा भुषाल र जनार्दन शर्मा बालुवाटार गएनन् भने बालुवाटार पुगेका भीम रावल र सुरेन्द्र पाण्डे पनि प्रधानमन्त्री ओलीलाई नभेटेरै फर्किएका थिए ।
बालुवाटार पुगेपछि भुषाल र शर्मालाई नदेखेपछि रावल र पाण्डेले उनीहरु किन नआएको भनेर महासचिव पौडेललाई प्रश्न गरेका थिए । कार्यदलकी सदस्य पम्फा भुषालले पनि कार्यदलको छुट्टै बैठक बस्नु औचित्य नभएको भन्दै महासचिव पौडेललाई आफू नआउने जानकारी दिएको बताएकी छिन् । कार्यदलका अर्का सदस्य जनार्दन शर्माले पनि आफू छलफलमा सहभागी बन्न नसक्ने जवाफ पौडेललाई दिइसकेको बताएका छन् ।
विवाद उत्कर्षमा पुगेपछि यसअघि पौडेल नेतृत्वमा बनाइएको कार्यदलले विभिन्न सुझाव दिएको थियो । कार्यदलको सुझावका आधारमा नेकपा स्थायी कमिटी बैठकले विभिन्न निर्णय गरेको थियो । तर, ती निर्णय कार्यान्वयन नगरेर प्रधानमन्त्री ओलीले छुट्टै भेला गर्दै आएका छन् । उनले पार्टी बैठक बस्नसमेत अस्वीकार गरेका छन् ।
कार्यदलमा ओली निकट पौडेल र पोखरेल, प्रचण्ड निकट शर्मा र भुषाल तथा वरिष्ठ नेता माधव कुमार नेपाल निकट पाण्डे र रावल सदस्य थिए । कार्यदलले चैतमा महाधिवेशन गर्ने, सरकारको जिम्मेवारी ओलीलाई र पार्टीको सम्पूर्ण जिम्मेवारी प्रचण्डलाई दिने लगायतका सुझाव दिएको थियो । ओलीको चाहाना अनुसार कार्यदलका सदस्यहरुले वेवास्ता गरेपछि पौडेल मौन बसेका छन् । ओली कार्यदल सक्रिय बनाउने योजना पनि विफल भएको छ ।
यता नेकपाको अनुशासन आयोगले शिर्ष नेतृत्वलाई बैठक राखेर विवाद समाधान गर्न आग्रह गरेको छ । पार्टीको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृत कुमार बोहराले सोमबार साँझ एक विज्ञप्तिमार्फत तत्काल बैठक राखेर विवाद समाधान गर्न आग्रह गरेका हुन् । पार्टीको बैठक बोलाउने विषयलाई प्रतिष्ठाको विषय बनाएर बस्न नहुने उनको सुझाव छ ।
पार्टी एकताका बाँकी काम अविलम्ब पुरा गर्नुपर्ने र भाका सारेर बस्नु नेतृत्वको कमजोरी भएको भन्दै उनले तत्काल पार्टीलाई चलायमान बनाउन पनि आग्रह गरेका छन् । जसबाट ओलीलाई थप संकट आइपरेको छ । दुबै समूहमध्ये एक समूहले लचकता नपनाउँदा नेकपा संकटमा आउने हो की भन्ने चिन्ता अहिले कर्यकर्तामा रहेको छ ।