काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा असन्तुष्ट समूहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बरिष्ठ नेता माधवकुमार नेपाल लगायतका हाइकमाण्ड मानिने सविचालयका सदस्यहरुले आज अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् ।
असन्तुष्ट समूहका सचिवालय सदस्यहरुमा कार्यकारी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता नेपाल, सदस्यहरु झलनाथ खानाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठको टोलीले भेट गरेका हुन् । असन्तुष्ट समूहका नेताहरुले पार्टी कार्यालयमा दुई दिन छलफल गरेर नेकपामा देखिएको विवाद अन्त्य गर्न पार्टीको बैठक राख्न पहल गर्न आग्रह गर्ने निर्णयकासाथ ओलीसँग भेट गरेका हुन् ।
लिखित पत्र दिएर ओलीसँग बैठकको पहल गरिए पनि बैठक नबस्ने संकेत ओलीले गरेको असन्तुष्ट नेताहरुको भनाइ छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफूहरुले तत्काल सहमतिमै पार्टीको बैठक बस्नका लागि लिखित पहल गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बताए ।
ओलीलाई बुझाइएको पत्रमा कोरोना महामारी र त्यसले पारेको असर न्यूनिकरण गर्न छलफल आवश्यक भएको उल्लेख छ । पत्रमा भनिएको छ, ‘लगातार बैठकको पहल गर्दा पनि र बैठक बसाल्न तपाईँले देखाएको असमतिका कारण यहाँ आउनु परेको छ । कोरोना महामारीले नागरिकमा परेको गम्भीर असरको विषय, स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नभएपछिको समीक्षा र पार्टीमा देखिएको समग्र संकट सम्बोधनका लागि सकरात्मक निष्कर्ष निकाल्न बैठक आवश्यक छ ।’
नेताहरुसँगको छलफलमा ओलीले बैठक बस्ने कुरा अस्वीकार गरेका छन् । स्रोतका अनुसार उनले भने, ‘बस्ने र बैठक ? हुन्छ बसौँला । समय मिलाएर बस्नुपर्छ । तर, त्यसअघि छलफल गर्न आवश्यक छ ।’ बालुवाटार स्रोतका अनुसार ओलीले बैठक बस्नुपूर्व दुई अध्यक्षबीच सहमति हुनुपर्ने कुरामा ओलीले आफ्नो धारणा राखेका छन् ।
प्रचण्डसहितका नेताले भोलि वा पर्सीसम्म बैठक बस्नुपर्नेमा जोड दिए पनि ओलीले तत्काल बैठक नबस्ने संकेत गरेका छन् ।
यसअघि शनिबार बिहान पनि पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बसेको थियो ।
नेकपामा स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नभएको मात्र नभएर कर्णाली प्रकरण, पर्सा घटना, मन्त्रिपरिषद्को बिस्तार तथा हेरफेर, राजदूत नियुक्ति र प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग कुटनीतिक मर्यादाविपरित गरेको भेटले विवाद उत्कर्षमा छ ।