काठमाडौं । काठमाडौं उपत्यकामा १६८ सहित देशभरमा ५८१ नयाँ सङ्क्रमित थपिएका छन् । आज थपिएका सङ्क्रमितमध्ये ४०८ पुरुष र १७३ महिला रहेका छन् ।
उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरका १४ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले बताए । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ११ हजार ५२० नमूना परीक्षण भएको थियो । हालसम्म पाँच लाख २९ हजार ७२७ नमूना परीक्षण भइसकेको छ ।
देशभरमा गरी पछिल्लो २४ घण्टामा १६० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १७ हजार ७९५ रहेको छ । यो जम्मा सङ्क्रमितमध्ये ६४ दशमलव दुई प्रतिशत हो । देशभरमा क्वारेन्टिनमा रहेको सङ्ख्या १५ हजार १९८ रहेको छ । देशभर जम्मा नौ हजार ६३९ सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसोलेशनमा सात हजार ३८ र होम आइसोलेशनमा दुई हजार ६०१ रहेका छन् ।
प्रदेशअनुसार सक्रिय सङ्क्रमित प्रदेश १ मा ९१०, प्रदेश २ मा एक हजार ८६७, वाग्मती प्रदेशमा दुई हजार २१८, प्रदेश ४ मा २९७, प्रदेश ५ मा ७३५, कर्णाली प्रदेशमा २१२ र सुदूरपश्चिम प्रदेशमा ७९९ रहेका छन् ।
देशभरमा गरी ११३ सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा एक, प्रदेश २ मा ४१, वाग्मती प्रदेशमा ५९, गण्डकी प्रदेशमा एक र प्रदेश ५ मा ११ जना आइसियुमा रहेका छन् । वाग्मती प्रदेशमा छ जना सङ्क्रमित भेण्टिलेटरमा रहेका छन् ।
नेपालमा प्रति १० लाख जनसङ्ख्यामा आजसम्म १८ हजार १४३ जनामा पिसीआर परीक्षण भएको छ भने प्रति १० लाख जनसङ्ख्यमा नै मृत्यु तीन दशमलव चार रहेको छ । आज नयाँ सङ्क्रमित फेला परेका जिल्लामा बाँके, सल्यान, बारा, पर्सा, सप्तरी, मोरङ, झापा, सुनसरी, कपिलवस्तु, काभ्रे, महोतरी, धनुषा, दैलेख, जुम्ला, मोरङ, नवलपरासी पूर्व र नवलपरासी पश्चिम छन् । त्यस्तै, रौतहट, सिन्धुपाल्चोक, कास्की, सुर्खेत, तनहुँ, अर्खाखाँची, प्युठान, दाङ, कैलाली, कञ्चनपुर, मकवानपुर, धादिङ, सर्लाही, चितवन, महोत्तरी, रुपन्देही र नुवाकोटमा पनि नयाँ सङ्क्रमित फेला पुष्टि भएको छ ।
जम्मा सङ्क्रमितमध्ये ८० प्रतिशतलाई आफैँ निको हुने र १० प्रतिशतलाई अस्पताल नै जानु परेपनि जटिल समस्या नहुने प्रवक्ता गौतमले बताए । अस्पताल पुग्ने १० प्रतिशत व्यक्तिलाई सामान्य लक्षण मात्रै देखिने हुँदा क्षणीक उपचार गरे पुग्ने हुन्छ । बाँकीलाई आइसियू र भेण्टिलेटर आवश्यक पर्न सक्ने देखिएको उनले जानकारी दिए । कुनै पनि व्यक्तिले मेरो जिल्ला वा क्षेत्रमा सङक्रमित नदेखिँदा म सुरक्षित छु भन्ने सोच्नु नहुने, परीक्षणका क्रममा पोजेटिभ आउने व्यक्तिले पनि म त अब बर्बाद नै भए भन्ने सोचाइ राख्न नहुने उनको भनाइ छ । कुनै पनि व्यक्ति अत्यावश्यक कामका लागि बाहेक घर बाहिर निस्कन नहुने उनको सुझाव छ ।
थप तीनको मृत्यु
कोभिडका कारण थप तीन जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १०७ पुगेको छ । पछिल्लो विवरणअनुसार मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरुष, काठमाडौँका ५८ वर्षीय महिला र मोरङका ६० वर्षीय पुरुष छन् ।