काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आगामि फागुनमा गर्ने भनिएको महाधिवेशन अनिश्चित बन्दै गएको छ । १४ औं महाधिवेशनसहितका बाँकी काम कोरोना भाइरस (कोभिड १९) लगायतको कारण रोकिएपछि अनिश्चित बन्दै गएको हो ।
पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षबीच विवाद बढि रहेका बेला काेराेनाकाे कारणा पनि महाधिवेश प्रभावित भएकाे छ । महाधिवेशकै लागि नेता राधेश्याम अधिकारी नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन समितिका सबै सदस्यहरूले पनि प्रशस्त मार्ग लेखेका छन् ।
नेता पौडेलसहित असन्तुष्ट पक्षका २७ केन्द्रीय सदस्यले गएको असोज १२ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बुझाएको १६ बुँदे विरोधपत्र निर्वाचन समितिमाथि पनि प्रश्न उठाएका छन् । पार्टीका शीर्ष नेताहरूले नै निर्वाचन समितिको कामप्रति प्रश्न उठाएकाले आफुहरू नयाँ समिति गठनका लागि मार्गप्रशस्त गर्न तयार रहेको व्यहोराको पत्र दशैअघि नै दर्ता गराएका थिए । जसकाे कारण पनि १४ महाधिवेशन प्रभावित भएकाे छ । पाैडेल समूहले देउवानिकट रहेकाे निर्वाचन समितिले काम गर्न नसकेकाे आराेप लगाउँदै आएकाे थियाे ।
केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले पार्टीका नेताहरूबाटै समितिको निष्पक्षतामाथि प्रश्न उठेकाले सामुहिक निर्णयमार्फत १४औं महाधिवेशनको बाँकी काम र अन्य कामका लागि हामीहरूले मार्ग प्रशस्त गर्न तयार रहेको पत्र पार्टीको केन्द्रीय सचिवालयमा दिएको बताए । ‘हामी पाँचै जनाको सहमति र हस्ताक्षरमा पत्र बुझाएका छौं,’ उनले भने, ‘हामीले घटस्थापना अघि नै उक्त पत्र दिएका हौं ।’
निर्वाचन समितिले बाँकी काम गर्न नसक्ने जनाकारी पनि सोही पत्रमार्फत दिएको जनाउँदै महामन्त्री पूर्णबहादुर खड्काले गएकाे सोमबार पदाधिकारी, पूर्वपदाधिकारीसहितका नेताहरूको अनौपचारीक बैठकमा समितिको पत्र पढेर सुनाएका थिए ।
असन्तुष्ट पक्षले ‘नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको परिपत्रअनुसार समायोजन सम्बन्धी निर्देशिका बमोजिम समायोजन सम्पन्न गरी सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र मुस्ताङ्ग जिल्लाले केन्द्रीय निर्वाचन समितिलाई फाइल बुझाइसक्दा पनि निर्वाचन समितिले उक्त जिल्लाहरूको सम्बन्धमा निर्णय नै नगरी क्रियाशील सदस्यता वितरण प्रकृयामा नै अवरोध सृजना गर्नुका पछाडि निर्वाचन समितिको निष्पक्ष जिम्मेवारीप्रति पनि प्रश्न खडा भएको छ र यसमा समेत नेतृत्वको अनुचित हस्तक्षेप छ भन्ने बुझ्न कठिन छैन’ १६ बुँदे विरोधपत्र उल्लेख गरेका थिए ।
के के काम बाँकी छन् त ?
पार्टी विधानअनुसार नेपाली कांग्रेसको महाधिवेशन आउने फागुनमा हुनैपर्छ । तर कोरोना भाइरस संक्रमणका कारण महाधिवेशन गतिविधि ठप्प भएकाले फागुनमा असम्भव जस्तै छ ।
कांग्रेसले त्यसपछि संविधानको व्यवस्थाअनुसार महाधिवेशनका लागि ६ महिनाको सुविधा पाउनेछ । कोरोना संक्रमण कहिलेसम्म रहन्छ भन्ने टुंगो नभएकाले अर्को वर्ष भदौसम्म पनि महाधिवेशन नहुने जोखिम उत्तिकै छ । ‘अहिलेकै अवस्थामा पार्टी महाधिवेशन फागुनमा त नहुने निश्चित नै भइसक्यो । अर्को वर्ष भदौमा पनि नहुने जोखिम छ’, कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, क्रियाशील सदस्यताको काम भएकै छैन । यसअघि क्रियाशील सदस्य लगेका जिल्लामा पनि आधामा मात्रै सदस्यता गएको छ ।
एक दर्जन जिल्लामा समायोजनको काम सकिएको छैन । कोरोनाको कहर कहिलेसम्म जान्छ भन्न सक्ने अवस्था छैन ।’ कांग्रेसले दोस्रोपटक संशोधन गरेको महाधिवेशन कार्यतालिका पूर्णरूपमा प्रभावित भइसकेको छ । साउनभित्र क्रियाशील सदस्यता वितरण गरेर मंसिरमा सदस्यताको अन्तिम सूची प्रकाशित गर्ने कार्यतालिका रहेकोमा भदौ अन्तिमसम्म पनि सदस्यता वितरण र नवीकरणको काम भएको छ, जुन काम कात्तिकसम्म रोकिएको छ ।
कांग्रेसमा समायोजन भएका उपसभापति विजयकुमार गच्छदारको पार्टीबाहेक अन्य पार्टी र कांग्रेस प्रवेश गरेका नेतालाई कति क्रियाशील सदस्यता दिनेबारे पार्टीले ठोस निर्णय गरेको छैन । कांग्रेसमा तीन समूह सक्रिय छन् । तीनै समूहबाट गरी ११ नेता आगामी महाधिवेशनमा सभापति पदका आकांक्षी देखिएका छन् । एउटै समूहबाट धेरैले सभापति पद ताकेपछि नेता मिलाउन सकस देखिएको छ । जसको कारण पनि महाधिवेश सर्ने पक्कापक्की भएको कांग्रेस स्रोतको भनाइ छ । यता देउवा र पौडेल समूह सतहमै एक अर्कालाई विरोध गरिरहेका छन् । जसमा देउवा महाधिवेश सारेर भएपनि कार्यकाल लमब्याउने पक्षमा छन्, भने पौडेल फागुन मै महाधिवेश गर्न माग गर्दै आइरहेका छन् ।
अधिकाँश नेता सभापतिकाे आकांक्षी बन्दा पनि महाधिवेश प्रभावित
कांगेसमा अधिकाँश नेता सभापतिकाे उम्मेदवारी बनेकाे कारण पनि १४ आैँ महाधिवेश प्रभावित बनेकाे छ । सभापति देउवा, वरिष्ठ नेता पौडेल, तेस्रो समूहको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला सम्भावित उम्मेदवारको लाइनमा छन् । देउवा समूहका उपसभापति विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ, पौडेल समूहका महामन्त्री डा शशांक कोइराला, नेता प्रकाशमान सिंह र डा शेखर कोइरालाले आआफ्नो तयारी थालेका छन् ।
पौडेल समूहबाटै डा रामशरण महत र अर्जुननरसिंह केसी सभापति पदका आकांक्षी बनेका छन् । सिटौला समूहबाट गगनकुमार थापाले सभापति पदमा उम्मेदवारी दिने बताएका छन् । पौडेल समूहमा नेता मिलाउन सिंह र केसी लागेका छन् । देउवा भने निधि नउठ्नेमा ढुक्क रहेको उनीनिकट स्रोत बताउँछ । तर, देउवा अन्तिममा पुन दाेहाेरिने तयारीमा रहेकाे स्राेतकाे भनाइ छ ।
देउवा, पौडेल र सिटौलाबीच १३ औं महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा सिटौलाको समर्थनमा देउवा निर्वाचित भएका थिए । पार्टीको १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुने तय भएको थियो । ४ वर्षमा हुनुपर्ने महाधिवेशन ‘असाधारण कारण सम्भव नभए एक वर्ष थप गर्न मिल्ने’ पार्टी विधानको सुविधा कांग्रेसले उपयोग गरिसकेको छ । तर, नेताहरूले कोभिड–१९ का कारण महाधिवेशन प्रभावित हुने निश्चितजस्तै रहेको बताउन थालेका छन् ।
यसअघि ४ महिना लकडाउनका कारण महाधिवेशन गतिविधि ठप्प भएको थियो । कोरोना संक्रमण तीव्र भएसँगै महाधिवेशन अनिश्चित बन्ने आशंका गर्न थालिएको छ। फागुनमा सम्भव नभए २०७८ भदौभित्र महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता छ । काेभिड १९ काे कारण लगायतका विवाद सिर्जान गरेर देउवा, पाैडेल लगायतका नेताहरु आ-आफ्नाे समूह मिलाउने र अर्काे समूहका नेताहरु आफ्नाे समूहमा ल्याउने काम पनि जुटेकाे स्राेतकाे भनाइ छ ।
महाधिवेशन समयमै गर्नुभन्दा आफ्नो गुट कसरी मिलाउने अनि अर्काे गुटका नेताहरु आफ्नो गुटमा कसरी ल्याउने होडबाजी चलेको छ । स्रोत भन्छ, ‘देउवा पौडेल विवाद बाहिरी नाटक गरेर गुटको तयारीमा जुटेका छन् । पौडेलले देउवाको विरोध गरेर भएपनि महाधिवेश सार्ने तयारी गरका छन्, यता देउवा पनि विरोध भयो भन्दै महाधिवेश सार्ने र हाललाई टार्ने पक्षमा छन् ।’ यही विवादको मौका छोपेर अन्य नेताहरु बार्गेनिङमा लागेका छन् ।