काठमाडौं । भारतीय स्थल सेना प्रमुख मनोजमुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमणले दुई देशबीचको तिक्तता हट्न सक्ने सम्भावना रहेको छ । दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन सेना प्रमुख नरवणेको भ्रमणले सहज स्थिति सिर्जना हुन सक्ने संकेत देखिएको छ ।
यसअघि परम्परागत रूपमा भारतीय सेना नेपाली सेनाको निमन्त्रणामा आउने गरेको भए पनि यस पटकको भ्रमणलाई विशेष रूपमा लिइएको छ । सेनापति मनोजकुमार नरवणे नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ रथीको दर्जा दिनेछिन् । यसअघि भारतका सेना प्रमुखलाई पनि मानार्थ रथीको दर्जा ग्रहण गराउँदै आइएको भए पनि यसपटकको नरवणेको भ्रमणले विशेष अर्थ राख्नेछ । उनले सो दर्जा पाएसँगै यहाँ राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।
कालपानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवादका कारण दुई देशबीच तिक्तता बढिरहेको बेला नरवणेको भ्रमणले दुई देशको राजनीतिक र कूटनीतिक तहमा लागेको ग्रहण केही हदसम्म हट्ने अपेक्षा लिइएको छ । भारतले काश्मीरको समस्याबाट उन्मुक्ति पाउन आफ्नो युनियन सरकारअन्तर्गत राखेसँगै नयाँ जारी भएको राजनीतिक नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएपछि दुई देशको सम्बन्धमा तिक्तता आएको थियो ।
नेपालले नक्सा जारी गरेपछि भारतले आपत्ति जनाउँदै त्यहाँको विदेश मन्त्रालयले कूटनीतिक नोट पठायो । त्यसयता नेपाल र भारतबीच संवादहीनताको स्थिति थियो । दुई देशबीचको सीमा विवादपछिको तिक्तता हटाउन कूटनीतिक तहबाट नेपालले वार्ताको पहल गरे पनि भारतले चासो दिएको थिएन ।
गत वर्ष १६ कात्तिकमा कालापानी क्षेत्रलाई समेटेर भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै देखिने गरी विवाद भएको थियो । त्यसपछि नेपालले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासम्मको भूभागलाई समेटेर गत ७ जेठमा नयाँ राजनीतिक नक्सा प्रकाशन गरेपछि सम्बन्ध तनावपूर्ण बनेको थियो । नेपालले विरोध जारी नै रहेको बेलामा फेरि गत वैशाखमा भारतले नेपाली भूमि हुँदै मानसरोवर जाने सडक उद्घाटन गरेको थियो ।
सोही सिलसिलामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले आफ्नो निसान छाप परिवर्तन गर्न संविधान नै संशोधन गरिसकेको छ । नेपालले नक्सा जारी गरेपछि भारतले आपत्ति जनाउँदै त्यहाँको विदेश मन्त्रालयले कूटनीतिक नोट पठायो । त्यसयता नेपाल र भारतबीच संवादहीनताको स्थिति थियो ।
लामो समय तनावपूर्ण रहेको सम्बन्ध भारतको स्वतन्त्रता दिवसको अवसर पारेर १५ अगस्टमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएसँगै संवादहीनता तोडिएको थियो । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।