काठमाडौं । गुमनाम रहेका नेता प्रदीप नेपाललाई भेट्न गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू घरमै पुगे । तस्बिरै खिचेर सामाजिक सञ्जालमा हाले । पार्टी फुट्लाझैं गरी दुई अध्यक्षको सम्बन्ध बिग्रिएका बेला भएको उक्त भेटलाई लिएर धेरैखाले अड्कलबाजी भए ।
कतिले अनुमान लगाए । अब नेकपा विभाजन हुँदै छ, उनलाई फेरि सक्रिय हुन आग्रह भयो । कतिपयले त पूर्वएमाले ब्युँताएर प्रदीप नेपाललाई अध्यक्ष नै बनाउन लागेको भनिदिए । तर, नेपालले अन्नपूर्णसँग भने, ‘पार्टी एकता बचाउन तपाईंले माधव कमरेडलाई सम्झाइदिनुपर्यो भन्ने उहाँहरू (ओलीनिकट नेताहरू) को आग्रह थियो ।’ नभन्दै सोमबार वरिष्ठ नेता माधव नेपाल उनलाई भेट्न गोठाटार पुगे । त्यहाँ उनीहरूबीच करिब दुई घण्टा बातचित भयो । ‘उहाँ (माधव नेपाल) ले हिजो (आइतबार) टेलिफोन गर्नुभएको थियो । तपाईंकहाँ प्रधानमन्त्रीका मान्छे आएछन्, मैले पत्रपत्रिका पढेर थाहा पाएँ । म भोलि लप्सीफेदीको कार्यक्रममा जानु छ ।
फर्किंदा तपाईंकहाँ पस्छु भन्नुभएको थियो,’ प्रदीपले भने, ‘त्यसपछि उहाँ आउनुभयो । कुरा खस्रा–मिठा भन्छन् नि ! त्यही भयो ।’
पार्टीभित्र दुई अध्यक्षको पेचिलो अन्तरसंघर्ष चुलिइरहेका बेला नेताहरू शंकर पोखरेल, विष्णु रिमाल, भानुभक्त ढकाल, सूर्य थापा, राजन भट्टराईलगायत उनलाई भेट्न शनिबार गएका थिए । भेटपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले धेरैपछिको सामूहिक भेटमा रमाइलो र दुर्लभ कुराकानी पनि हुने नै भयो भन्दै तस्बिरसमेत सार्वजनिक गरे । उनीहरू के गर्न आए ? भन्दै वरिष्ठ नेता नेपालले प्रदीपसँग जिज्ञासा राखेको उनले सुनाए । ‘तपाईंहरू (ओली–नेपाल) मिल्नुपर्यो रे ! मलाई पनि सक्रिय भइदिनुपर्यो, तपाईं हामी सबैको अभिभावक हुनुहुन्छ भन्दै आउनुभएको थियो’, प्रदीपले माधवलाई जवाफ दिए ।
‘माधव कमरेड यहाँ आइरहनुहुन्छ । त्यही क्रममा आउनुभयो । म एकदम सक्रिय राजनीतिबाट बाहिर छु । अब थाकें । कति गर्न सक्छु र ?’ नेता नेपालसँग भएको कुराकानी बताउँदै उनले अन्नपूर्णसँग भने, ‘तपाईंहरू मिल्नुहुन्छ भने मिल्छ, मिल्नै चाहनुभएन भने मिल्दैन ।’
तत्कालीन एमालेभित्र एक समय थियो– प्रदीप नेपाल र ईश्वर पोखरेलले पार्टीको आन्तरिक संगठनको जिम्मेवारीमा हस्तक्षेपकारी भूमिका खेल्थे। प्रदीप नेपालका कुरा त्यतिखेर माधव नेपाल र केपी ओलीसम्मले टार्न सक्दैन थिए । उनी निकै सक्रिय थिए र कडा स्वभावका पनि ।
छैटौँ महाधिवेशनदेखि माधव नेपाललाई निरन्तर साथ दिँदै आएका उनी नवौं महाधिवेशनमा भने ओलीनिकट पुगे । ओलीको स्वास्थ्य स्थितिका कारण पनि एकपटक अध्यक्ष बनाउनुपर्ने उनको धारणा थियो । त्यही भएर ओली समूहबाट उपाध्यक्षमा चुनाव लडे । हारे । तर, उनकै सक्रिय भूमिकाका कारण प्रधानमन्त्रीसमेत रहेका ओलीले अध्यक्षमा बाजी मारेको चर्चा अहिले पनि पूर्व एमाले वृत्तमा हुने गर्छ ।
त्यसयता भने उमेर, स्वास्थ्य अवस्थालगायत कारण उनी सक्रिय राजनीतिबाट टाढा छन्। पार्टीको आन्तरिक जीवनलाई भने उनले नियाल्न छाडेका छैनन्। उनको स्वास्थ्य अवस्था त्यत्ति राम्रो छैन । अचेल पार्टीभित्रको अप्ठ्यारोमा भूमिका खेलिदिन आग्रह गर्दै नेताहरू उनका निवास पुग्न थालेका हुन् ।
शंकर पोखरेल, भानुभक्त ढकाललगायत अन्तरसंघर्षमा पूर्वएमाले धारका नेताहरू एकै कित्तामा उभिनुपर्ने पक्षमा भित्रभित्रै लबिङ गर्दै आइरहेका छन् । प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग संवाद सौहार्दपूर्ण नभएपछि कात्तिक ४ र कात्तिक ११ मा दुईपटक वरिष्ठ नेता नेपाललाई बालुवाटार बोलाएर भेटघाट गरेका थिए ।
ती भेटघाटमा प्रधानमन्त्री ओलीले नेपालसँग सहकार्यको प्रस्ताव गरेका थिए । तर, नेपालले दाहालसँगको निकटता घटाएका छैनन् । ‘माधवजीले केपीले कसैलाई टेर्नुहुन्न भन्नुभयो । मैले फेरि तपाईंहरू छलफलमा बस्नुस् भनेर आग्रह गरें,’ प्रदीपले भने । पार्टीभित्र विभाजनको संकेत देखिएको प्रसंगमा पनि दुई नेताबीच छलफल भएको थियो । तर, माधव नेपालले आफ्नो स्वभाव पार्टी विभाजन रोक्नेतिरै रहेको बताएका थिए ।
उनले प्रदीपलाई उल्टै सोधेका थिए, ‘मलाई यसमा कुनै शंकाले हेर्नुपर्ने छ र ?’ के तपाईले पार्टी विवादमा समन्वयकारी भूमिका खेल्न खोज्नुभएको हो ? भन्ने अन्नपूर्णको जिज्ञासामा उनले भने, ‘अरूले आग्रह गरेका छन् । तर, कति गर्नु ? एउटा मान्छेले कति गर्ने ? गरे पनि अन्तिममा लात्ताले हानिदिने हुन् । मिलाइदियो, उनीहरूले राज गर्छन् अनि म जस्तालाई फेरि उही त हो । कतिपटक हन्डर खाने ? तिमीहरू मिलाऊ, तिमीहरूले नै जिम्मा लिनुपर्छ म सक्दिनँ भनेको छु ।’
नेकपामा त्रिपक्षीय शक्ति सन्तुलन छ । अध्यक्षद्वय ओली र दाहाल तथा वरिष्ठ नेता नेपालका आ–आफ्नै समूह छन् । नेपाल जता मिल्छन्, दुई अध्यक्षमा उनैको पल्ला भारी हुने राजनीति छ । यही कारण पनि अहिले नेपाल तानातानमा छन् । (अन्नपूर्ण पोस्ट)