काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय छलफलमा जुटेका छन् । १२ दिनदेखिको संवादहीनता तोड्दै अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफलमा विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री निवास बालुवाटारले जानकारी दिएको छ ।
स्थायी कमिटीका निर्णय कायान्वयन गर्न प्रधानमन्त्रीले आलटाल गरेको भन्दै कार्यकारी अध्यक्ष प्रचण्डले बालुवाटार जान छोडेका थिए । आज बिहान नेता माधव नेपालसँग आफ्नै निवासमा छलफल गरेपछि प्रचण्ड बालुवाटार पुगेका थिए । स्थायी समितिले सरकारको समिक्षासहित मन्त्रीपरिषदको पुनर्गठन र राजनीतिक नियुक्तिको मापदण्ड तयार गरेर पार्टीको सहमति अनुसार सरकार अघि बढने बताएपनि प्रधानमन्त्रीले एकलौटी ढंगले अघि बढेपछि सम्बन्ध चिसिएको थियो ।
यसैबीच कर्णाली प्रदेशका देखा परेको विवादमा दुबै अध्यक्षबाट फरक फरक निर्देशन जारी गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै २ घन्टासम्म कर्णालीको विवाद, रअ प्रमुखको नेपाल भ्रमण, पर्सा घटना र कोरोना भाइरस नियन्त्रण तथा रोकथामका विषयमा छलफल भएको स्रोतको भनाइ छ । यी विषयमा सचिवालय बैठकमा छलफल गर्ने सहमति भए पनि सचिवालय बैठक कहिले बोलाउने भन्ने विषयमा अन्यौलता देखिएको बताइएको छ ।
१२ दिनअघिदेखि अध्यक्षद्वयबीचको संवादहीनता आज तोडिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछिको समाधानका विषयमा भनाभन भएपछि दुई अध्यक्षबीच संवादहीनता थियो । पछिल्लो समय प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफ्ना दूत पठाएर भेटवार्ताका लागि आग्रह गरेका थिए ।
ओलीले महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्बाङ, प्रदीप ज्ञवाली र शंकर पोखरेललाई खुमलटार पठाएर संवादका लागि आग्रह गरेका थिए । तर, प्रचण्डले संवादको कुनै औचित्य नभएको भन्दै अस्वीकार गर्दै आइरहेका थिए ।
मन्त्रिपरिषद् पुनर्गठन र हेरफेर, राजदूतको एकतर्फी नियुक्ति, कर्णाली प्रकरण, पर्सामा आफ्नै पार्टीका नेताको हत्या हुँदा प्रहरीले जाहेरी दर्ता नगरेको विषय र भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग प्रधानमन्त्रीको कुटनीतिक मर्यादाविपरितको भेटवार्ताका कारण नेकपाभित्रको विवाद उत्कर्षमा छ । अब सचिवालयमा छलफल गरेर विवाद अन्त्य गर्ने सहमति भएको जानकारी दिइएको छ ।