काठमाडौं । आगामी घटस्थापनामा प्रदान गरिने यो वर्षको मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तकको सूची मदन पुरस्कार गुठीले सार्वजनिक गरेको छ ।
२०७६ सालभरि प्रकाशन भएका पुस्तकहरूमध्ये यसपटकको पुरस्कारका लागि मनोनयनस्वरूप सात वटा पुस्तक चयन गरिएको मदन पुरस्कार गुठीका कुन्द दीक्षितले जनाएका छन् । गुठीले मदन पुरस्कारका लागि सात पुस्तकको सूची बुधबार सार्वजनिक गरेको थियो ।
मदन पुरस्कारका लागि हामीलाई २०७६ सालमा प्रकाशित १ सय ५१ पुस्तकहरू प्राप्त भएको थिए । तीमध्ये उत्कृष्ट अन्तिम सात पुस्तकलाई सार्वजनिक गरिएको गुठीले जनाएको छ । यी सातमध्ये एक पुस्तकले मदन पुरस्कार जित्नेछ । यो पुरस्कार आगामी घटस्थापनाको दिन प्रदान गरिनेछ । पुरस्कार विजेताले ताम्रापत्रसहित ४ लाख रुपैयाँ राशिसमेत प्राप्त गर्नेछन् ।
२०१३ सालमा मदनशमशेर जबराको नाममा स्थापना भएको यो पुरस्कारलाई नेपाली साहित्यको विशिष्ट पुरस्कार मानिन्छ ।
यसपटक तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, विमल निभाको जोकरको बन्दुक, योगी धर्ममहारसको पुस्तक महारसनिघण्टु, भुवन ढुंगानाको उपन्यास परित्यक्ता, चन्द्रप्रकाश बानियाँको उपन्यास महारानी, ललित विष्टको कथासंग्रह मोहपथ र शारदा शर्माको कवितासंग्रह यात्रामा रहेका छन् ।
मदन पुरस्कारका लागि उत्कृष्ट सातमा चयन भएका मध्ये कवि तथा गीतकार तीर्थ श्रेष्ठको पुस्तक ‘धर्सैधर्साको चक्रव्यूह’ कवितासंग्रह हो । उनले यसलाई आफ्नो उत्कृष्ट कविताहरूको संग्रह भनेका छन् । वनस्पति विज्ञका रूपमा परिचित श्रेष्ठले साहित्य सिर्जना पनि प्रकृतिसँग जोडिएर गर्छन् । उनको यो संग्रहका कविता पनि प्रकृति र जीवन जगतसँग सम्बन्धित छन् । संग्रहलाई नेपालय पब्लिकेसनले छापेको हो ।
मनोनयनमा परेको अर्को पुस्तक ‘जोकरको बन्दुक’लाई सांग्रिला बुक्सले प्रकाशन गरेको हो । यो कवि विमल निभाको कवितासंग्रह हो । मूलतः माक्र्सवादी कविका रूपमा परिचित उनले यो संग्रहमा राजनीतिक, सामाजिकसहित विभिन्न पक्षलाई व्यंग्य गरेका छन् । विगत पाँच दशकदेखि कविता लेखनमा लागिरहेका उनको यो तेस्रो कवितासंग्रह हो ।
यसपटक मदन पुरस्कारका लागि मूलधारका साहित्यभन्दा केही फरक पुस्तक ‘महारसनिघण्टु (खण्ड १–३)’ पनि चयन भएको छ । यो आयुर्वेदिक ज्ञानसंग्रहलाई योगी धर्ममहारसले लेखेका हुन् । यो ज्ञानसंग्रहमा धर्म र संस्कृतिको ऐतिहासिक र पुरातात्विक दुवै पक्षलाई मिहिन रूपमा केलाइएको छ ।
यसमा आयुर्वेदको पनि अनुसन्धान गरिएको छ । प्राचीनतम अध्ययनका आधारमा ज्ञान लिएर आयुर्वेदीय स्वास्थ्य सेवालाई गतिशील बनाउन सकिने कुरा यो पुरस्तकमा उल्लेख छ ।
यसपालि छानिएको उपन्यास ‘परित्यक्ता’लाई कथाकार भुवन ढुंगानाले लेखेकी हुन् । उनको यो उपन्यास नारी प्रधान छ । जसमा नारीको अस्तित्वको महत्वको चर्चा गरिएको छ । नेपालयले छापेको परित्यक्तामा नारीहरू कसरी असुरक्षित छन् भन्ने दर्शाइएको छ । उपन्यासले नारीका समस्यालाई किनारा लगाउने उपाय पनि दिएको छ ।
यो वर्ष मदन पुरस्कारका लागि मनोनयनमा परेको अर्को पुस्तक शारदा शर्माको कवितासंग्रह ‘यात्रामा’ हो । मूलधारको लेखनमा रहेर कथा, कविता र उपन्यास, निबन्ध सिर्जना गर्दै आएकी शारदाको यसपटक कविताकृति मदन पुरस्कारका लागि मनोनयनमा परेको हो ।
उनको यो कवितालाई सांग्रिला बुक्सले छापेको छ ।आख्यानकार चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ पनि यसपटक उत्कृष्ट सातको मनोनयनमा मदन पुरस्कारका लागि परेको छ । महारानीलाई शिखा बुक्सले प्रकाशन गरेको हो । लेखक पूर्वसांसद पनि हुन् । उनले यस उपन्यासमा पर्वत जिल्लाको ऐतिहासिक घटनाक्रमलाई कथानक रूपमा उतारेका छन् । पर्वत दरबारमा घनश्यामको उत्तराधिकारीको विषयमा भएको विवाद र त्यसले निम्त्याएका समस्यालाई चित्रण गरिएको छ ।
मदन पुरस्कारकै लागि यो वर्ष उत्कृष्ट सातमा परेको अर्को पुस्तक मोहपथ कथासंग्रह हो । यो संग्रहलाई आख्यानकार ललित विष्टले लेखेकी हुन् । जनयुद्धलाई नजिकबाट हेरेकी ललितले कथासंग्रह मोहपथमा जनयुद्ध र त्यसपछिको नेपाली समाजको अवस्था केलाएकी छन् । यो किताबलाई फिनिक्स बुक्सले प्रकाशन गरेको हो ।