काठमाडौ । युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपियल) क्रीकेटमा क्रीस गेलले ९९ रनको उत्कृष्ट पारी खेलेपनि किङ्स ११ पञ्जाव ७ विकेटले राजस्थान रोयल्ससँग पराजित भएको छ ।
हिजो राति भएको खेलमा राजस्थान रोयल्सले टस जितेर पहिले फिल्डिङको निर्णय गरेपछि ब्याटिङमा उत्रिएको पञ्जावले ४ विकेट गुमाएर १८५ रनको विशाल लक्ष्य पस्केको थियो । पञ्जावका ओपनर मन्दीप सिंह १ रनको स्थितिमा खाता नै नखोलि पहिलो बलमै आउट भएपनि कप्तान लोकेश राहुल तथा क्रीस गेलले उत्कृष्ट साझेदारी गरेका थिए ।
दोस्रो विकेटका लागी १२० रनको साझेदारी गर्ने क्रममा लोकेश राहुल व्यक्तिगत ४६ रनमा आउट भए । भने उत्कृष्ट ब्याटिङ गरेका क्रीस गेलले ९९ रनको पारी खेले । यसमा ६३ बलको सामना गरेका उनले ८ छक्का तथा ६ चौका प्रहार गरेका थिए । भने निकोलस पुरानले १० बलमा २२ रनको विस्फोटक पारी खेल्दै पभेलियन फर्किएका थिए ।
राजस्थानका लागी जोआफ्रा आर्चर तथा बेन स्टोक्सले २/२ विकेट लिए ।
१८६ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले सो लक्ष्य १७.३ ओभरमै ३ विकेट गुमाएर भेट्टाउन सफल भयो । राजस्थानलाई उत्कृष्ट जित दिलाउने क्रममा बेन स्टोक्सले ५०,सन्जु सामसनले ४८ रन बनाए । यस्तै कप्तान स्टेभन स्मिथले अविजित ३१ रनको पारी खेल्दा रोविन उथप्पाले ३० तथा जोस बट्लरले अविजित २२ रनको पारी खेले ।
पञ्जावको लागी मुरुगन आश्विन तथा क्रीस जोर्डनले १/१ विकेट लिए ।
यो जितपछि राजस्थान रोयल्सको प्ले अफमा पुग्ने सम्भावना कायम छ भने पञ्जावले आफ्नो बलियो पकड गुमाएको छ । आइपियल अन्तर्गत आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स तथा मुम्बई इन्डियन्स आमनेसामने हुँदा दोस्रो खेलमा रोयल च्यालेन्जर्स बङ्लोर्स तथा सनराइजर्स हैदराबाद बीच खेल हुनेछ ।