उदयपुरको कटारी नगरपालिका–७ रिस्कु बुढाबुढी गाउँका सोमबहादुर मगरलाई स्थानीय तहको निर्वाचनपछि सबै किसिमका विकासे पूर्वाधार गाउँमै उपभोग गर्न पाइन्छ भन्ने आशा थियो । सडक, सिँचाइ, खानेपानीजस्ता अत्याआवश्यक पूर्वाधारको अभावमा वर्षौंदेखि भोग्नुपरेको समस्या टर्ला भन्ने विश्वास थियो । तर पुर्खौंदेखि खोलाको पानी गाग्रोमा बोकेर खानुपर्ने बाध्यता उस्तै छ ।
“चुनावमा उठेका उम्मेदवारले खानेपानी घर-घरमा पु-याइदिने आशा देखाएका थिए,” मगरले भने, “जनप्रतिनिधिले पानी ल्याइदिनु त टाढाको कुरा, हाम्रो गाउँमा समेत पाइला टेकेका छैनन् ।”
‘स्थानीयतहको चुनावपछि सिंहदरबारको अधिकार गाउँगाउँमा आउँछ भन्थे, खोई कहाँ आयो ? कस्लाई आयो ?’ आफुहरूले कुनै अनुभूति गर्न नपाएको बुढाबुढी गाउँका स्थानीयको गुनासो छ।
५६ सालको निर्वाचनमा साविकको नेकपा एमालेबाट जगन्नाथ खतिवडा निर्वाचित भएका थिए भने ७० को चुनावमा नेपाली कांग्रेसबाट नारायण बहादुर कार्कीले चुनाव जितेका थिए । खतिवडा र कार्की रिस्कुकै भए पनि सांसद हुँदा समेत खानेपानीको समस्या समाधान गर्न चासो नदेखाएको स्थानीयले बताए ।
पानीको स्रोत रिस्कुको अन्य ठाउँमा भन्दा अधिक स्रोत भएको मानिएको बुढाबुढी गाउँमै ५० वर्षदेखि खानेपानीको समस्या छ । बुढाबुढी गाउँका २५ घरधुरीलाई अहिले पनि खोलाको पानी गाग्रोमा भरेर खानुपर्ने बाध्यता छ । खानेपानीको मूल पर्याप्त मात्रामा भए पनि साना तथा ठूला योजना सञ्चालन हुन नसक्दा खानेपानीको व्यवस्थापन हुन नसकेको हो ।
आफ्नो टोललाई लक्षित गरी वडा कार्यलय, नगरपालिका, प्रदेश र केन्द्र सरकारको समेत कुनै योजना कहिल्यै पनि नआएकाले गाउँदेखि तल दुषित अवस्थामा रहेको खोलाको पानी भरेर खाँदै आएको कटारी- ७ की स्थानीय चन्द्र कुमारी राईले बताईन् । “खानेपानीका लागि पहल गर्न भनेर वडा कार्यालयमा हरेक वर्ष माग लिएर गएकै छाैँ, तर पनि वडा कार्यलयले चासो नै दिँदैन,” उनले भनिन्, “माग सम्बोधन नहुँदा खोलाको दूषित पानी खान बाध्य छाैँ । भाेट दिएर पानी पनि पाइएन । खोलाको पानी खाएको ५० वर्ष भयो, अब त आफ्नै घरको धारामा झरेको पानी खाइएला भन्ने आशै मरिसक्यो ।”