काठमाडौं । साहित्यकार खेमनाथ दाहालको कृति ‘यात्राको सिकर्नी’ सार्वजनिक भएको छ ।
श्वेतपत्र महाकाव्यलगायत कृतिका कृतिकार दाहालको नियात्रासङ्ग्रह ‘यात्राको सिकर्नी’ सार्वजनिक भएको हो । उषा दाहाल प्रकाशक रहेको कृति ‘यात्राको सिकर्नी’को आवरण, आकृति र वर्णविन्यास रमेश दाहालको रहेछ ।
यस नियात्रा कृतिभित्र काठमाडौंदेखि क्वालालम्पुरसम्म, राजदूत निवासदेखि टायम्स स्क्वायरसम्म, गेन्टिङ्ग हाइट्सदेखि चेन सी टेम्पलसम्म, बटु गुफाको सेरोफेरो, पेट्रोनास टार्वसलाई नियाल्दा, सिङ्गापुर यात्रा, पुत्राजयमा नेपालको झन्डा, मानार्थ राजदूत टेरी टिओको डार्कमा, राजकुमारको निम्तोमा, राजदूतावासको सेरोफेरो, भूगोल र इतिहास, मलेसियाको अर्थतन्त्र र दक्षिण पूर्व एसियामा कम्युनिस्ट विद्रोह र युद्ध जस्ता १४ ओटा नियात्रा समावेश गरिएको छ ।
प्रस्तुत कृतिमा दाहालले काठमाडौंदेखि क्वालालम्पुरसम्म प्रारम्भ गरी दक्षिणपूर्व एसियामा कम्युनिस्ट विद्रोह र युद्धका कुरा समेटिएका छन् । मलेसिया र सिङ्गापुरका महत्वपूर्ण स्थानहरुको यात्राका क्रममा प्राप्त भएका सामाग्रीलाई प्रस्तुत गरिएको जारी विज्ञप्तीमा उल्लेख छ । प्रस्तुत कृति एउटा नियात्रासङ्ग्र्रहमात्र नभएर सिङ्गापुर मलेसिया र नेपालकै विषयमा पनि एउटा ऐतिहासिक दस्तावेज रहेको छ ।