मिथकहरु साहित्य रचना र काव्यनुभूतिका निम्ति प्रेरणाका अजस्र स्रोत हुन् । सयौँ वस्तुगत यथार्थका बान्कीहरुले भावकको मनमा घुसाउन नसकेको कुरा एउटै मिथकले सटिक रुपमा घुसाइदिन सक्छ । हुन त मिथकहरु विषयगत भन्दापनि विषयीगत हुन्छन् । आत्मगत रुपमा स्वप्निल र काल्पनिक हुन्छन् ।
यसमा वस्तुगत यथार्थ भन्दापनि मानस विम्बको रुमलो छायाँले बढी काम गर्दछ । त्यसैले मिथक यथार्थको कसीमा घोट्ता मिथ्यानै दखिन्छ तर मान्छे अलिकति मिथ्या धारणा बोकेर बाँच्ने प्राणी भएकोले मिथकमा मिथकमा सत्यका केही झलकहरुपनि रहन्छन् । यसमा मान्छेको अवचेतन मस्तिष्कलाई झक्झक्याउने अचम्मको तागत हुन्छ । मिथक वस्तुगत यथार्थको दर्पण होइन तर कतिपय अवस्थामा वस्तुगत यथार्थका अगणित रहस्यलाई सूक्ष्म रुपमा, विम्वात्मक रुपमा प्रकट गर्न क्षमता राख्ने चिज हुन् मिथक । मिथक हाम्रै पूर्वजहरुले आर्जन गरेका काव्य निधि हुन्, कला निधि हुन् । जसमा हाम्रा आदिम पूर्वजहरुमा ज्ञान, अनुभव, सूचना र प्रतीकात्मक रुपमा अपूर्व कल्पना शक्ति घोलिएका हुन्छन् ।
वैदिककालीन, लौकीककालीन वेद, पुराण, उपनिषद, महाभारत, रामायण र अन्य ग्रन्थहरुमा समेटिएका कथा, कहानी, आख्यान, उपाख्यान र संहिताहरुका लोमहर्षकारी सन्दर्भहरु हाम्रो साहित्यका आफ्ना मिथकीय स्रोतहरु हुन्, साथै पौरस्त्य प्राचीन वाङ्मयका अनगिन्ती सन्दर्भहरु पनि काव्यानुभूति गर्नेहरुका निम्ति मिथक बनेका छन् ।
प्राचीनकालीन समयमा रचना भएका मिथकहरु स्वप्निल र मिथ्या धारणा जस्तो लाग्दछ । यथार्थको हिसावले त्यो सत्यपनि होला । तर मिथकले प्रवाहित गर्ने अर्थका आयामहरु प्रतीकात्मक हुन्छन्, व्यञ्जनात्मक हुन्छन् र लक्षाणिक हुन्छन् । यसले यथार्थ भन्दा परको काव्यिक अनुभूतिको संसारलाई मलजल गर्नमा सहयोग गर्दछ । स्वप्निल दुनियाँमा शयर गराउँछ र अवीदित रहस्यका पाटाहरुको सूक्ष्म झलक देखाउँछ । त्यसैले मिथकको काव्यिक मूल्य छ, चैतनिक मूल्यवत्ता छ । मिथकले अतिशयोक्तिपूर्ण कुरा गरेपनि यसको सौन्दर्यको विराट तस्वीर छ – पूर्वीय तथा पाश्चात्य दुवै साहित्य संसारमा ।
हाम्रो समाजका कतिपय संस्कार, चाडवाड र पर्वहरु मिथकीय तत्वसित गाँसिएका छन् । त्यसैले हाम्रा पर्वहरुको सौन्दर्य नै असीम खालको छ । सुक्ष्मरुपले अध्ययन गर्दा एकएक संस्कार, संस्कृति र पर्वहरु एक वा अनेक आदिम मिथकीय आख्यानसित जोडिएका छन् । यस्ता मिथकीय सन्दर्भहरुलाई काव्यिक आँखाले हेर्दा यथार्थका धेरै कुराहरु यसमा विम्विकरण भैरहेका छन् ।
प्रत्येक चाडपर्वका उद्भवमा धार्मिक आख्यानहरु गाँसिएका छन् । त्यी आख्यानलाई साहित्यिक दृष्टिकोणले विवेचना गर्दा त्यहाँ अनगिन्ति विम्वहरु छन्, प्रतीकहरु छन्, पुराकथाहरु छन् र अलङ्कारहरु छन् ।
जुन साहित्यिक मूल्यको दृष्टिले निकै उच्चकोटिका खजनाहरु प्राचीनतम वाङ्मयहरुमा यत्रतत्र सर्वत्र छरिएर रहेका छन् । नेपालीहरुले पुस्तौँपुस्ता अघिदेखि मनाउँदै आएको दशैपर्वपनि प्राचीनकालीन मिथकसितै जोडिएको छ । एकातिर यो राम र रावणको युद्ध र विजयको गाथासित सम्वन्धित रामायणको कथासित जोडिएको छ भने अर्कोतिर मार्कण्ड्य पुराणको दुर्गा सप्तशती ९चण्डी० ग्रन्थसित गाँसिएको छ । साहित्यिक मूल्यका हिसावले यी दुवै मिथकहरु कालजयी खालका छन् । अझ विम्व, प्रतीक र सांकेतिक अर्थका दृष्टिले दुर्गा सप्तशतीमा देवी दुर्गा र राक्षसका रुपहरुको वर्णन अद्भुत खालको छ ।
काव्य पारखी स्रष्टाहरुका निम्ति अनेकौँ विम्वहरु, अनेकौँ प्रतीकहरु र अनेकौँ आख्यानहरु निकाल्नको लागि दुर्गा सप्तशती उपजीव्य ग्रन्थ बन्नसक्छ । कतिपय स्रष्टाको लागि बनिपनि रहेको छ । घटस्थापनापछि नवरात्र (नौरथा) मा पुजिने देवीहरुका रुपहरु कलात्मक या काव्यात्मक अभिलक्षणले ओतप्रोत छन् । घटस्थापनाको पहिलो दिन पुजिने दुर्गा शैलपुत्रीको रुपमा विख्यात छिन् । हिमालय पर्वतकी छोरी यिनलाई कौसिकीपनि भनिएको छ । न्याय र अन्यायको युद्धमा न्याय दिलाउन शैलपुत्रीको रुपमा उदय भएकी दुर्गाले दानवराज शुम्भको शक्तिशाली सेनापति धुम्रलोचनलाई वध गरेकी छिन् । धुम्रलोचनको नाम किन राखिएको थियो भने ऊ आफ्ना शत्रुहरुलाई आँखाबाट धुँवा निकालेर हायलकायल गर्ने सामाथ्र्य राख्यो ।
आँखाबाट धुँवा निकाल्ने तागत भएकोले उसको नाम धुम्रलोचन भएको थियो । युद्धमा, लडाईमा अहिले पनि शत्रुका विरुद्ध अश्रुग्याँस लगायत अन्य विषालु ग्याँसको प्रयोग गरिन्छ । काव्य रचनामा अहिलेपनि हाम्रो निम्ति धुम्रलोचन शैलपुत्री जस्ता पात्र शक्तिशाली विम्व हुन सक्छन्, प्रतीक हुन सक्छन् । काव्यिक पाटोबाट अर्थ अभिव्यञ्जनाहरु खोजिनुपर्छ । प्रतीक पिठिका निर्माण गरिनुपर्छ । शैलपुत्री कोशी नदीको स्रोत पनि मानिन्छ, यसको अर्थलाई सतही आँखाले ठम्याउनु भन्दा पनि गहनतलबाट नियाल्नु समचीन ठर्हछ । दुर्गाको दोस्रो रुपलाई व्रहचारिणी भनिएको छ । आफ्ना पिता दक्षप्रजापतिको यज्ञमा आत्मदाह गरेकी सतिदेवीले हिमालय पर्वतकी छोरी पार्वतीको रुपमा पुर्नजन्म लिई जन्मेपछि महादेव पति पाऊँ भनेर घोर तपस्या गरेको व्रम्हाचारिणी रुपको दृश्य आफैँमा अलौकिक छ । दाहिने हातमा जपमाला र देवे्र हातमा कमण्डलु धारणा गरेकी व्रह्मचारिणीले पहिलो रुप भन्दा नितान्त अलग रुपमा आफूलाई प्रस्तुत गरेकी छिन् ।
महादेवले अन्यन्त प्रेम गरेकी सतिदेवी पिताका कटुवचन सुन्न नसकेर यज्ञमा हाम फाली मर्छिन् । आफ्नी प्राणेश्वरीको असामायिक निधनबाट घायल महादेव सतीदेवीको लाशलाई ६ महिनासम्म काँधमा वोकी वोकी हिँड्छन् । त्यसैकारण सतिदेवीको आत्माले पुर्नजन्म लिन्छ । पार्वती र ब्रम्हाचारिणीको रुपमा । यो मिथकीय आख्यानपनि साहित्य रचनाको अनेकौं सन्दर्भमा प्रतीकको रुपमा प्रयोग गर्न सकिन्छ । स्रष्टाहरुले प्रयोग गर्दैपनि आएका छन् ।
दुर्गाको तेस्रो रुप चन्द्रघण्टाको रुपमा वर्णित छ । चन्द्रघण्टाका पाँच मुख छन्, दस हात छन् । दैत्यराजको शक्तिशाली सेनापति मारिएपछि यिनले चण्डमुण्ड नामका जुम्ल्याहा दैत्यलाई वध गरेकी थिइन् । चण्डमुण्डसितको युद्धमा पनि चन्द्रघण्टाको तर्फबाट प्रदर्शित सौर्य, साहस र अदम्य उत्साह लोमहर्षकारी छ । चण्डमुण्ड शाव्दिक अर्थले नै उग्र जिराहा, जण्ड दैत्य हुन्छ । चण्डको सिधा सिधा अर्थ नै उग्र रिसाउने स्वभावको कष्ट, खरो, उग्रता देखाउने व्यक्ति भन्ने बुझिन्छ । त्यस्ता दैत्यलाई वध गरी शान्ति निर्माणमा चन्द्रघण्टाको सर्वोपरि हात छ । अहिले पनि प्रत्येक समाजमा चण्डमुण्डको जस्तो भाव, गुण, अवस्था र उग्रता देखाउने व्यक्तिहरु छन् । तिनलाई काव्यविम्वमा प्रष्ट पार्नु पर्दा चण्डमुण्ड शब्दलाई प्रयोग गर्न सकिन्छ ।
नवरात्रमा पुजिने नवदुर्गाको चौथो रुप हो कुष्माण्डा । कुष्माण्डाका आठ हात छन् । उनी सूर्यमण्डलमा निवास गर्छिन् भनिएको छ । यिनको जोडदार अट्टहासमा ब्रम्हाण्डको उत्पत्ति र विनाश गर्ने शक्ति लुकेको छ भनि वर्णन गरिएको छ । यिनले पनि दैत्यराजसितको युद्धमा महिषासुरका सेनापतिहरु चामर चिक्षुर लगायतका शक्तिशाली दानवलाई वध गरेकी छिन् । यिनका आठ हातले बहुल व्यक्तिमा सन्निहित शक्ति यिनी एक्लैमा छ भन्ने कुरा संकेत गर्छ । यिनी सौर्यमण्डलमा निवास गर्छिन् भन्ने कुरापनि मिथकीय शक्तिसित सम्वन्धित छ । अट्टहासको ध्वनिले सिंगो व्रम्हाण्डको उत्पत्ति र विनाश गर्ने कुरा काव्यिक मूल्यको अर्थमा हेरिनु पर्छ ।
नवदुर्गाको पाचौँ रुप हो स्कन्दमाता । स्कन्दमाताको शरीर सेतो छ । उनका तीन आँखा छन् । चार हात छन् । उनी कमलको फूलमाथि विराजमान छिन् । स्कन्दमातालाई नै पवित्र नदी गंगाको सर्जक मानिएको छ । उनको सेतो शरीर एक विम्व हो । तीन आँखा र चार हात तिक्ष्ण अन्तर्चक्षु र शक्तिका प्रतीकहरु हुन् । कमलको फूल पनि एक प्रतीक नै हो । त्यसमाथि वसेर असुर वृत्तिका राक्षस गणसित युद्ध गर्नु स्वयम्मा अर्थका अनेकौँ तरेली प्रकट हुने विषय हो । पवित्र नदी गंगाको स्रष्टा यिनै देवीलाई मान्नुका पछाडिपनि अनेकौँ मिथकीय अर्थहरु झिक्न सकिन्छ । आज्ञाचक्रमा अवस्थित तेस्रो आँखा ज्ञानको आँखा, विवेकको आँखा र शक्तिको आँखाको रुपमा लिँइदै आएको छ । शिवजीका पनि तीन आँखा थिए । तेस्रो आँखाबाट निस्केको आगोले कामदेवलाई भष्म गराएको कुरा मिथकमा भेटिन्छ । स्कन्दमाताको सेतो शरीर, तेस्रो आँखा, पद्मिनी आशनले अनेकौँ अर्थहरु दिन सक्छन् । नवदुर्गाको छैटौँ रुप हो कात्यायनी । कात्यायनीका पनि तीन आँखा छन् । आठ ओटा हात छन् ।
उनी सुवर्णमय स्वरुपमा खुलेकी छिन् । कात्यायन नामका ऋषिको यज्ञमा अनेकन उपद्रो मच्चाउन दैत्यगण आँउथे, त्यसमा शुम्भ निशुम्भ नामका दैत्यहरु अग्रणी थिए । शुम्भ निशुम्भले कात्यायनलाई आकुलव्याकुल बनाएपछि तिनको संहार गर्नको निम्ति उनले देवीको आराधना गरे । ऋषिको पुकारा स्वरुप कात्यायनकै छोरीको रुपमा उनी प्रकट भशुम्भ निशुम्भको संहार गरिदिइन् । यो घटनापनि एक मृदुल मिथकको रुपमा पौरााणिक साहित्यका विराजित छ । कात्यायनीका तीन आँखा, आठ ओटा भुजा, सुवर्ण स्वरुप प्रतीकमा अभिव्यक्त हुने अवयवहरु हुन् । यिनमा पनि काव्यिक मूल्यका अर्थहरु पहिल्याउन सकिन्छ ।
नवदुर्गाको सातौं रुप हो – कालरात्री । यो रुपलाई महाकालीपनि भनिन्छ । महाकाली या कालरात्रीको वर्ण कालो छ । उनी गधाको वाहनमाथि चढेकी छिन् ।
उनका तीनओटा नेत्र छन् । चार ओटा हात छन् । चार ओटा हातमा तरवार, मशाल, वरमुद्रा, अभयमुद्रा धारणा गरेकी छिन् । यिनी सास फेर्दा आगो ओकल्छिन अरे । अर्को कुरा रक्तविज नामको दैत्यलाई यिनले संहार गरेको कथा छ । रक्तविज यस्तो शक्तिवान दानव थियो । जसको शरीरबाट खस्ने प्रत्येक थोपा रगतबाट हजारौंको संख्यामा दैत्यहरु उत्पत्ति हुन्थे । थोपा थोपा रगतबाट पुनर्जिवन प्राप्त गरेर उठ्ने गथ्र्यो रक्तविज । त्यसैकारण उसको नाम रक्तविज रहेको थियो । दैत्यको विउ उसको रक्तथोपा बनेको थियो । कसैले उसलाई वध गर्न र समाप्त गर्न सामथ्र्य राख्तैनथ्यो । त्यस्तो दानवराजलाई कालरात्रिले समाप्त गरिदिएकी छिन् । काव्यमा महाकालीको डरलाग्दो रुप र रक्तविजको प्रसंग विम्व, प्रतिक र अलंकारको रुपमा अनेकौंचोटि प्रयोग हुने गर्छ ।
नवदुर्गाको आठौं रुप हो – महागौरी । महागौरी गोरुमाथि चढेकी छिन् । यिनी श्वेतवर्णकी छिन् । श्वेतवश्त्र धारणा गरेकी छिन् । यिनलाई पार्वतीको आठौं अवतारपनि मानिन्छ । गौरी पार्वतीको अर्को नाम हो । पार्वतीकै शक्तिशाली रुप या अवतारलाई महागौरी भनिएको होला । यिनै महागौरीले महिषासुर नामको दैत्यलाई मारेकी छिन् । महिषासुर दानवीयताको पराकष्ठा नाम हो । भैँसीको टाउकोवाला दानव जसले देवगणसामु ठूलो अत्याचार गरेको छ । त्यसलाई संहार गर्न देवी, महागौरीको अवतारमा प्रकट भएकी छिन् । महागौरी र महिषासुरपनि साहित्यमा विम्ब, प्रतीक र सांकेतिक अर्थमा प्रकट हुने पात्रहरु हुन् ।
नवदुर्गाको नवौं रुप हो – सिद्धिदात्री । पौराणिक साहित्यमा उल्लेख छ, भगवान शिवले पनि यिनको पुजा आराधनाबाट मनोवाञ्छित फल प्राप्त हुने कुरा गरिएको छ । कुनैपनि कार्यसिद्धि गराउने देवीको रुपमा सिद्धिदात्रीको नाम आउँछ । सिद्धिका अनेकौ मिथकीय अर्थहरु छन् । एक योग वा ध्यानसाधनाको बलबाट आर्जित शक्तिको रुपमा यसलाई अथ्र्याउन सकिन्छ । जसमा आठ प्रकारको सिद्धिको चर्चा गरेको छ पौराणिक वाङ्मयले, त्यसमा अणिमा, महिमा, गरिमा लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व पर्दछन् । सिद्धिको अरु अर्थ मुक्ति, निर्वाण, आँटेको काम पुरा भएको स्थिति, सफलता, अनुष्ठानको विना वाधा समाप्ति, कार्यपूर्णता आदि आदि पनि हुनसक्छन् ।
देवीहरुका आफू चढ्ने वाहन र हातका हतियारहरु विचित्र बान्कीका छन् । प्रेतमा चढेकी चामुण्डा, भैँसीमा चढेकी वाराही, हात्तीमा चढेकी इन्द्राणी, गरुडमा चढेकी वैष्णवी, साँढेमा चढेकी चढेकी महेश्वरी, मयुरमा सवार कौमारी, हाँसमा चढेकी वाह्मणी अपूर्व मिथक गाथाले टनाटन भरिएका आख्यान सूत्रहरु हुन् । तिनले हातमा वोक्ने हतियार र बाजाको अनौठो तालमेल छ । शंख, चक्र गदा, शक्ति, हलो, मुशल, ढाल, तोमर, वञ्चरो, पाश, कुन्त, त्रिशुल, साङ्र्ग धनुका आ– आफ्नै संकेत अर्थहरु छन् ।
पौराणिक वाङ्मयमा नवदुर्गाको वर्णन एक अलौकिक गाथाको रुपमा भएपनि त्यसले मानव विकासको प्राचीन मातृसत्तात्मक युगलाई महिमामण्डित गरेको छ । त्यो तत्कालीन समय र समाजको सत् र असत् वृत्तिबीचको लडाई थियो । अहिलेपनि यी दुई वृत्तिबीचको लडाई पूर्णरुपेण समाप्त भैसकेको छैन । प्रत्यक समाजमा अद्यापि कायम छ । अहिलेपनि महिषासुरहरु जन्मिरहेका छन् । अनगिन्ति चण्डमुण्डहरुले देशमा थरिथरिको चर्तिकला देखाइरहेकै छन् । शुम्भ, निशुम्भ र रक्तविजहरु आलो रगतको थोपाबाट बारबार उठिरहेछन् । तिनलाई वध गर्न देवीहरुपनि रणसंग्राममा खडा भैरहेका छन् ।
देवीका कथाहरुमा एक उद्रेक अतिरञ्जना भएपनि तिनलाई मिथक मानेर वर्तमान समाजलाई त्यसको माध्यमबाट अवलोकन र चित्रण गर्न सक्छौँ । वर्तमान समयका वृत्ति÷प्रवृत्तिलाई त्यस युगसम्म जोडेर हेर्न सक्छौँ । त्यस मिथबाट विम्ब प्रतिक ग्रहण गरी यसयुगका सुरअसुर द्वन्द्वलाई प्रतिविम्वन गर्न सकिन्छ ।
मिथकमा आएका कुरालाई सत्यता र तथ्यताको कसी लगाउने भन्दापनि त्यहाँ वर्णित अलौकिक अतिरञ्जनालाई ठाडो विरोध गर्नु भन्दापनि, त्यो त्यस युगका काव्यमनिषि ऋषिगणहरुको अनुपम कल्पनाको चमत्कारबाट सिर्जित रचना पाठको रुपमा वुझ्नु, ग्रहण गर्नु उचित हुन्छ ।
त्यहाँका एकएक घटना, पात्र, वस्तुविधान आदिलाई हामीले संकेतमा, प्रतीकमा, लक्षणमा, काव्यविम्वको रुपमा बुझ्नु जरुरी छ । त्यसबाट आवश्यक सामग्री ग्रहण गरी अहिलेको समाजको जल्दोवल्दो यथार्थलाई विम्विकरण गर्न सकिन्छ । मिथकबाट मीठामीठा प्रतीक ग्रहण गरेर अहिलेको सामाजिक यथार्थलाई प्रष्ट पार्न सकिन्छ । सर्जक स्रष्टाहरुको निम्ति विम्व÷प्रतीक÷ संकेत ग्रहण गर्न असुर र देवीको युद्ध अनुपम खजना हुन सक्दछ । समाप्त