विश्वभर र नेपालमा पनि केही कट्टर पूँजीवादी वा कम्युनिस्टइतरलाई मार्क्सवादको नाम सुन्नसमेत डर लाग्छ ।
उनीहरु घिनाउने भावमा अत्यन्तै निकृष्ट शैलीमा कार्ल मार्क्सप्रति बैरभाव राख्दै कार्ल मार्क्सको मानव उपयोगी दर्शन र व्यवहारलाई आत्मसात गर्न त परै जाओस्, अध्ययन गर्न, छलफल गर्नसमेत हिच्किचाउनुले उनीहरु साँच्चिकै कति दुखदायी र कष्टपूर्ण जीवन बाँचिरहेका होलान् भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
आजसम्म जीवन र समाजको ब्याख्या गर्ने काम धेरै विद्वान वर्गबाट भएको तर जीवन र समाज बदल्ने काम छुटेको भन्ने उद्घोष गरेका कार्ल मार्क्सको आजभन्दा २०० वर्षअघि अर्थात् ५ मे, १८१८ मा जन्म भएको थियो । विश्व विख्यात दर्शनशास्त्री तथा कम्युनिष्ट विचारका प्रणेता कार्ल मार्क्सले आजसम्मको मानव इतिहास वर्गसंघर्षको इतिहास हो भनी सम्पूर्ण जीवन र समाजलाई वैज्ञानिक ढंगले ब्याख्या गरे ।
जीवन र जगतलाई हेर्ने परम्परावादी, भाग्यवादी, अन्धईश्वरीय, काल्पनिक मिथ, दर्शन विचारलाई खण्डन गर्दै कार्ल मार्क्सले जीवन र जगतलाई वैज्ञानिक रुपमा परिभाषित गरे । जीवन र समाजलाई समानता, शान्ति र समृद्धिमा रुपान्तरण गर्न अनावश्यक लोभ लालचमा नलागी समाजका सम्पूर्ण उत्पीडित, शोषित वर्गलाई एक हुन आह्वान गरे ।
कार्ल मार्क्सको १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणापत्रमा समाजको इतिहास, वर्ग संघर्ष, पूँजीवाद, सर्वहारावर्ग, आगामी समाज लगायत विषयमा गहन ब्याख्या र विश्लेषण गरेका छन् । उनले वैज्ञानिक तर्क, तथ्यको आधारमा समाजवाद, साम्यवादसम्मको यात्रामा जीवन समाज रुपान्तरण हुने थेसिस प्रस्तुत गरे ।
पूँजीवादको अवधारणालाई कार्ल मार्क्सले ‘पूँजी’ भन्ने किताबमार्फत् स्पष्ट बनाए । यस पुस्तकले पूँजी कसरी निर्माण प्रक्रिया र पूँजीवाद कसरी श्रमिकको श्रमको शोषण गरेर मौलाउँछ ? भन्ने व्याख्या गरेको छ । पूँजीवादी समाजमा मानव श्रमलाई किनबेच गर्न सकिने साधनको रुपमा लिइन्छ ।
उनीहरुको सामाजिक जीवन वस्तुसरह बेचबिखन भएको हुन्छ, जहाँ मानवता, दया, अधिकार सबै कुण्ठित भएका हुन्छन् । पूँजी पुस्तकमा सबिस्तार गरिएको अतिरिक्त मूल्यको सिद्धान्त आज पनि अर्थशास्त्रमा उच्च महत्वका साथ पढाइन्छ ।
मार्क्सवादका तीन महत्वपूर्ण संघटक अंग द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन, श्रमको मूल्य सिद्धान्तमा आधारित राजनीतिक अर्थशास्त्र र वर्गसंघर्ष पश्चातको वैज्ञानिक समाजवाद । उत्पादनको निम्ति संघर्ष, वैज्ञानिक प्रयोग र वर्गसंघर्षको बीचबाट दर्शनको जन्म भएको हो । मार्क्सवादी दर्शन सर्वहारावर्गको मुक्तिको सिद्धान्त हो । मार्क्सवादको दर्शनले समाजमाथि विद्यमान शोषण, उत्पीडन, अन्याय र अत्याचारले व्याप्त सामाजिक व्यवस्थालाई बदली त्यसको ठाउँमा सुखी, सुन्दर र उज्ज्वल भविष्य निर्माण गर्न चाहन्छ ।
जीवन र जगत बुझ्न ब्याख्या र परिवर्तन गर्न दर्शनको ठूलो महत्व हुन्छ । हामी तर्क एवं विषयवस्तुलाई स्पष्ट नपारिकन विरोधाभाषपूर्ण बनाइरहेका हुन्छौं । यो निश्चित छ कि थोरै द्वन्द्वात्मक भौतिकवादलाई मनन् गरिसकेपछि हाम्रा जीवनका धेरै जटिलताहरु, धेरै दुःख–कष्टहरुबाट जोगिनेछौं र धेरै गल्तीहरू हट्नेछन् । मार्क्सवादलाई तपसिल बमोजिम मूख्य प्रस्तावनाहरुमार्फत् जीवनोपयोगी चिन्तन मनन गरौं
(१) बिपरितको एकता र सङ्घर्षको नियम
माक्र्सबादको महत्वपूर्ण प्रस्तावना बिपरितको एकता र सङ्घर्षको नियमले एउटा वस्तु आफैमा स्वतन्त्र रहन सक्दैन भन्ने तर्क गर्दछ । यसले कुनै वस्तु, समाज र चिन्तनमा निरन्तर द्वन्द्व हुन्छ र त्यसले विकास निम्त्याउँछ र त्यो अघिल्लोभन्दा नयाँ रूपमा उदाउँछ भनि तर्क गर्दछ । यस नियमअनुसार कुनै पनि कुरामा सकारात्मक र नकारात्मक अनि जीवनशील र मरणशील तत्त्वको द्वन्द्व हुन्छ । ती दुवै पक्षमा सङ्घर्ष पनि हुन्छ र मेल पनि हुन्छ । यस्तो द्वन्द्वले गति वा विकासलाई नै अघि बढाइरहेको हुन्छ ।
यसरी प्रत्येक वस्तु, सम्बन्ध, प्रक्रिया र विचारमा समेत प्रतिपक्ष पनि रहने अनि तिनीहरूकै सङ्घर्षमार्फत् उन्नत तत्त्वको निर्माण पनि हुने कुरालाई द्वन्द्वात्मक भौतिकवादको महत्त्वपूर्ण नियमका रूपमा लिइन्छ । हामीले हाम्रो जीवनका विभिन्न कालखण्डमा यो नियमको उपयुक्त सन्तुलन र प्रयोग गर्न जान्नुपर्दछ । यसले पारिवारिक सम्बन्ध, सामाजिक सम्बन्ध, विचार मन्थन, छलफललाई यसैबाट प्राप्त उत्तम परिणामको रुपमा लिई असल र सुसंगत सम्बन्ध र चिन्तन विकास गर्न मार्गदर्शन गर्दछ ।
(२) संख्यात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनको नियम
द्वन्द्वात्मक भौतिकवादको (मार्क्सवाद) अर्को महत्त्वपूर्ण प्रस्थापना हो जसले सुरुमा विचार, चिन्तन सम्बन्ध, समाज वस्तुको मात्रात्मक परिवर्तन हुने र त्यही क्रम बढ्दै गएर पछि गुणमा परिवर्तन हुन्छ भन्ने तर्क गर्दछ । यसले पहिले वस्तुको मात्रात्मक आयतनमा वृद्धि देखापर्छ र निश्चित सीमापछि त्यसको स्वरूप र गुण दुवैमा परिवर्तन देखिन्छ भन्ने द्वन्द्ववादी मान्यता प्रस्तुत गरेको छ ।
पदार्थका सन्दर्भमा मात्रात्मक रूपमा पानी उम्लँदै गएर बाफमा परिणत हुनु, प्राणीमा लार्भाबाट पुतलीको निर्माण हुनु पनि मात्रात्मकबाट गुणात्मक परिवर्तन मानिन्छ । यो नियमलाई जीवनका विभिन्न कालखण्ड, विभिन्न परिवेश, सम्बन्ध तथा अन्य विषयमा प्राप्त हुने चरण र रुपमा ग्रहण गरी त्यसको उपयुक्त मानसिक तथा भौतिक ब्यवस्थापन गर्ने विधिको विकास गर्न सक्नुपर्दछ ।
(३) निषेधको निषेध सम्बन्धि नियम
यस प्रस्तावनाले कुनै वस्तु, विषय, सोंच, समाज परिवर्तनका क्रममा पुराना रुपहरु निषेध भई नयाँ स्वरुपको विकास हुन्छ । वस्तुमा रहने ह्रासशील तत्त्वको निषेध हुने अविच्छिन्न प्रक्रियालाई निषेधको निषेध सम्बन्धि नियमले व्याख्या गरेको पाइन्छ । मकैको बिउ छरेपछि बोट उम्रन्छ र छरेका दानाको निषेध हुन्छ।
पुनः बोटबाट घोगा निस्कन्छ र त्यसले बोटको निषेध गर्छ । निषेध एउटा सकारात्मक प्रगति हो जुन खालि त्यसको विकासबाट मात्र सम्भव हुन्छ, जसको निषेध गरिन्छ । यो प्रक्रिया प्रकृति, मानव समाज तथा चिन्तन लगायत सबैमा लागू हुन्छ । हामीले हाम्रो जीवन पद्दतिलाई बुझ्न र ब्याख्या गर्न यो विधिले महत्वपूर्ण योगदान गर्दछ ।
(४) ऐतिहासिक भौतिकवाद
यो समाजको विकासक्रमलाई ब्याख्या गर्ने, बुझ्ने विधा हो । यो सामाजिक इतिहासलाई अध्ययन गर्ने मार्क्सवादी दृष्टिकोण हो । समाजको विकासमा काल्पनिक ईश्वरीय योगदान वा भाववादी एवं अधिभौतिकवादी मान्यताको खण्डन गरी द्वन्द्वात्मक भौतिकवादी नियमअनुसार समाज विकासलाई केलाउँछ ।
मार्क्सवादले कुनै पनि संश्लेषण र सम्वादको निर्माण हुनको निम्ति वाद र प्रतिवादको आवश्यकता पर्दछ, यसले उपयुक्त जीवन समाधान निकाल्न मद्दत गर्ने कुरालाई जोड दिन्छ । मार्क्सवाद मानिसको विश्व दृष्टिकोणका साथै प्रकृति, जीवन, समाज र चिन्तनका चालकका नियमहरुको विज्ञान हो । जब मानिसले जीवन र जगतको सम्बन्धमा तार्किक चिन्तन र ब्याख्या गर्न थाल्यो, तब दर्शनको उदय भएको मार्क्सवादको तर्क छ ।
प्रकृति, जीवन, समाज र चिन्तनलाई विभिन्न आयामले नाप्ने, बुझ्ने र ब्याख्या गर्दा जीवन पद्दति सुन्दर र सन्तुलित बन्नेछ । दर्शनलाई जीवनोपयोगी बनाई जीवन सरल र सुखी बनाउनु हामी सबै मानवको दायित्व हो र यसैले सबैको कल्याण गर्दछ । जीवनलाई बिभिन्न कोणबाट, बिभिन्न आयामबाट बुझी यसलाई खुशी बनाउन मार्क्सवादले महत्वपूर्ण भूमिका खेलेको छ ।
(१) बृहत र सुक्ष्म
हामीले विषयवस्तुलाई बृहत र सुक्ष्म दुवै ढंगले हेरी सन्तुलित दृष्टिकोण निर्माण गर्नुपर्दछ । जीवन, वस्तु वा घटनाहरुलाई दुवै कोणबाट बुझ्ने र ब्याख्या गर्ने सीपको विकास गर्नुपर्दछ । साझा लक्षण तथा चरित्रको रुपमा बृहत वा समष्टिलाई लिने गरिन्छ भने वस्तु वा घटनाको पृथक वा विशिष्ट लक्षण एवं चरित्र विशेष वा सुक्ष्म हो । यी दुवै दृष्टिकोणले पूर्ण जीवन, वस्तु वा घटनालाई हेर्न र बुझ्न मार्गदर्शन गर्दछ ।
(२) कारण र परिणामको सम्बन्ध
परिणामलाई मात्र ध्यान दिँदा जीवन अपूर्ण हुन्छ, यसर्थ कारणका विविध पक्षलाई मध्यनजर गर्ने, सम्भावित परिणामको आंकलन गर्ने खुबी विकास गर्नुपर्दछ । कारणले कार्यलाई निर्देशित गर्दछ अर्थात् कारण बिना कार्य हुदैन । यसर्थ कार्य वा परिणामको र कारण सम्बन्धि ज्ञानले वैज्ञानिक विश्लेषणलाई जोडबल गरी उपयुक्त समाधान निकाल्न सहज हुन्छ ।
(३) सार र रूप
हरेक विषयका सार र रुप अर्थात् विषयवस्तु वा घटनाका देखिने र लुप्त पक्षहरु हुन्छन्, तिनीहरुको विश्लेषण गर्ने खुबी विकास गर्नुपर्दछ । रणनैतिक जोडबलमा दुवैको महत्व, आवश्यकता जीवनमा उपयोग गर्न जान्नुपर्दछ ।
(४) सम्भावना र वास्तविकता
जीवनका यी दुवै आयामलाई बुझ्न र ब्याख्या गर्ने सीप र खुबी मार्क्सवादले प्रदान गर्दछ । सम्भावना दुवै अपेक्षित र अनपेक्षित परिणाम हो । यो व्यवहारमा लागू भएपछि वास्तविक हुन्छ । सम्भावनालाई उपयुक्त बिधिबाट बास्तविकतामा परिवर्तन गर्न सीप खुबी विकास गर्नुपर्दछ ।
(५) नियमितता र आकस्मिकता
जीवनका बिभिन्न पाटोलाई नियमितता र आकस्मिकताको कसीमा जोख्नुपर्दछ । नियमित क्रियाकलापबाट कहिलेकाहीँ जीवनमा बिश्राम लिई जीवन फड्को मार्ने क्षमताको विकास गर्नुपर्दछ भने आकस्मिकता प्राप्त गर्दा धेरै आत्तिने र मात्तिने गर्नु हुँदैन । पदार्थको गतिका नियमको आधारमा निश्चित समय र प्रक्रियामा घटना घट्नु अनिवार्यता हो भने अनिश्चित रुपले अचानक कुनै घटना घट्नु आकस्मिकता हो । वर्षा हुनु र लगाएको बाली तयार हुनु नियमितता हो भने असिनाले बाली नष्ट गर्नु आकस्मिकता हो । यी दुवै जीवनमा प्राप्त हुने र हुनसक्ने अवसरलाई प्रयोग गर्न जान्नुपर्दछ ।
मार्क्सवादी दर्शनले प्रकृति, विज्ञान र समाज विज्ञानका विविध शाखाहरूमा वैज्ञानिक विश्व दृष्टिकोण प्रदान गरी जीवनलाई सहजीकरण गर्दछ । यसले मूख्यतः सारमा विश्व ब्रह्माण्डमा सारा चीजहरू दुई परस्परविरोधी तत्व वा वस्तु मिलेर बनेको हुन्छ भन्ने विषयलाई जीवनमा आत्मसात गर्न, बुझ्न सिकाउँछ ।
मार्क्सवादी दर्शनले संसारमा जहाँ पनि विरोधी कुराहरू सँगसँगै गाँसिएका हुन्छन् । यसको उपयुक्त सन्तुलन र व्यवस्थापनमा ध्यान दिई जीवनलाई सुखमय बनाउनुपर्दछ भन्ने जीवनोपयोगी शिक्षा दिन्छ । मार्क्सवादी दर्शनले हरेक वस्तुभित्र आपसी द्वन्द्व, संघर्ष वा टक्कर चलिरहन्छ र यसै द्वन्द्वले नै हरेक कुराको जीवन वा अस्तित्व बनेको छ भन्ने बोध गराई जीवनको जटिलताभित्र सरलीकरण लुकेको तथ्य स्पष्ट गर्दछ ।
मार्क्सवादी दर्शनले हरेक कुरा गतिशील, विकासशील र परिवर्तनशील छन् भन्ने तर्क पुष्टि गर्दै जीवनका अनपेक्षित घटना, व्यवहार र कर्मलाई समेत सरलीकरण गर्न मद्दत गर्दछ ।
किनकि सधैं सोचेजस्तो र स्थिर जीवन होइन, अस्थिर पनि छ भन्ने महत्व बुझाउँछ । यसर्थ, जीवनका बहुआयामिक पक्षहरुलाई बुझ्न, जीवन व्यवहार जान्न, सामाजिक सम्बन्ध र सहकार्यको द्वन्द्धात्मक सम्बन्ध बुझ्न र ब्याख्या गर्न जो कोहीका लागि पनि मार्क्सवाद लागू हुन्छ ।
मार्क्सवादले समानतालाई जोड दिन्छ । हाल विश्वमा १ प्रतिशत धनाढ्यले विश्वको कुल सम्पत्तिको ५० प्रतिशत हिस्सा संकेन्द्रण गरेको छ, जुन विश्का ६० प्रतिशत नागरिकको सम्पत्तिभन्दा बढी रहेको तथ्य एक अध्ययनले बताएको छ । नेपालमा पनि सम्पत्ति बितरणको असमानता धेरै बढेको छ । ठूला ठूला कुराभन्दा पनि मार्क्सवादी दर्शनलाई यो असमानतालाई न्यून गर्ने, मानवीयता प्रवद्र्धन गर्ने र जीवनलाई सुखी र शान्तमय बनाउने महत्वपूर्ण विधाको रुपमा विकास गरिनुपर्दछ ।