प्रदेश नम्बर २ को सरकारले छोरी शिक्षा बीमा गराएका करिब २७ हजार छोरीहरुको घरमा नि:शुल्क इन्टरनेट जडान गर्ने भएको छ ।
प्रदेश सरकारले घोषणा गरेको महत्वाकांक्षी 'बेटी पढाऊ,बेटी बचाउ' योजना अन्तर्गत छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ घरमा नि:शुल्क इन्टरनेट जडान गर्न लागिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जानकारी गराएको छ ।
यो अभियानमा २ माग २०७६ यता छोरी शिक्षा बीमा गराएको परिवारहरु मात्र समेटिने छन् । यो कार्यक्रममा प्रदेश सरकारले सुविसु इन्टरनेट कम्पनीसग सहकार्य गरेर सुरु गर्न लागेको छ ।
कार्यक्रमको सुरुवात महोत्तरीको लोहारपट्टि नगरपालिकाबाट सुरु हुन लागेको 'बेटी पढाऊ,बेटी बचाऊ' अभियानको संयोजक प्रीयंका यादवले जानकारी दिएकी छन् । कार्यक्रमको उद्घाटनको सम्पुर्ण तयारी भइसकेको छ ।
प्रदेश नम्बर २ सरकारले प्रदेशमा बालविवाह न्यूनीकरण,छोरीहरुको उच्चशिक्षा तथा महिला हिंसा न्यूनीकरणका लागी भन्दै 'बेटी पढाऊ, बेटी बचाऊ' अभियान सुरु गरेको थियो ।
जुन अभियान अन्तर्गत प्रभु बैंकसँग सम्झौता गर्दै छोरी शिक्षा बिमा योजना अगाडी ल्याएको थियो । यस योजना अन्तर्गत प्रदेश सरकारले छोरी जन्मिने बित्तीकै रु.३७ हजार तिरेर रु.३ लाखको बिमा गर्ने व्यवस्था मिलाएको थियो ।
यही बिमा योजना अन्तर्गत २ माग २०७६ मा बीमा गराउनेको घरमा नि:शुल्क इन्टरनेट जडान गरिदिने सम्झौता भएको थियो ।