उदयपुर । प्रदेशसभा १ मा उदयपुरबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य नारायण बुर्जामगरद्वारा बलान खोला सडक पुलको शिलन्यास गरिएको छ । मगरले सोमबार निर्माणधिन कोल्टे मैनटार, चुरुम्फा, लिम्चुङबुङहुँदै खोटाङ हलेसी जोड्ने सडकमा पर्ने बलान खोलाको पुलको शिलन्यास गरेका हुन् ।
प्रदेश २ को सप्तरीको सुरुङ्गा नगरपालिका र प्रदेश १ मा पर्ने उदयपुरको उदयपुरगढी गाउँपालिका ७ कोल्टेस्थित बलान खोलामा एक वर्षभित्र सम्पन्न हुनेगरी निर्माण सुरु गरिएको पुलको शिलन्यास भएको उदयपुरगढी गाउँपालिका ७ की वडाअध्यक्ष कर्णमाया मगरले जानकारी दिइन् ।
‘निर्माणधिन कोल्टे मैनटार, चुरुम्फा, लिम्चुङबुङहुँदै खोटाङ हलेसी जोड्ने सडकमा पर्ने बलान खोलाको पुलको शिलन्यास भएको हो,’ उनले भनिन्, ‘एक वर्षभित्र सम्पन्न हुनेगरी पुल निर्माणको काम अघि बढेको छ, अब यस भेगका स्थानीयमा बलान खोलाको समस्या पनि हराउँदै जाने भएको छ ।’
प्रदेशसभा सदस्य बुर्जामगरका नीजि स्वकीय सचिव अर्थात नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उदयपुरगढी गाउँपालिका सचिव भुवन मगरले कुल ५ करोड ८ लाख ८९ हजार २ सय ८५ रुपैँया ५२ पैसाको लागतमा ३७.२ मिटर लम्बाई र ८.५० मिटर चौडाई भएको पुल बन्ने बताए । ‘यस पुलको ठेक्का सपना निर्माण सेवा हेटौंडाले लिएको छ,’ उनले भने, ‘२०७७ असार २९ गते सम्झौता भएको हो, २०७८ पुस ८ गतेभित्र सम्पन्न हुने गरी सम्झौता भएको छ ।’
पुलको शिलन्यास गर्दै बुर्जामगरले निर्माणधिन कोल्टे मैनटार, चुरुम्फा, लिम्चुङबुङहुँदै खोटाङ हलेसी जोड्ने सडक प्रदेश १ सरकारको महत्पूर्ण सडक रहेको दाबी गरे । ‘मध्यपूर्वी तराईलाई छोटो दुरीमा खोटाङ हलेसी जोड्ने सडक हो,’ उनले भने, ‘यही सडकलाई सम्पन्न गर्ने उदेश्यले यस बलान खोलामा पुलको शिलन्यास गरिएको छ ।’ उनले अबका दिनमा विकास निर्माणका कामहरु स्थानीय, प्रदेश र संघीय सरकार एकसाथ लागि परेको पनि उद्घोष गरेका थिए ।