शिखर घिमिरे
केही दिनअघि बिजुली बजारको एउटा रेस्टुरेन्टमा रोमान्टिक कवि साँझ थियो । केही कवि सोमरससँगै साहित्यमा आफ्नो योगदानबारे कुरा गरिरहेका थिए । झट्ट एक कविले भने, ‘मेरो किताब रुसी भाषामा अनुवाद हुँदैछ, त्यहाँका ठूला कविले मेरा कविता मन पराए, अहिले एडिट हुँदैछ, अब कम्तीमा एक महिनामा किताब प्रेसमा जान्छ ।’
त्यसपछि उनले त्यही ‘कवितासंग्रह’बाट एउटा कविता सुनाए । कविताको मर्म हिमाल बोकेर हामी नेपाली चौतारीमा बस्नुपर्छ भन्ने थियो । त्यहाँ उपस्थित अरु कविले आफ्ना लागि ‘वाह्वाह’ संकलन गरे, उनको ‘कविता’मा जोडजोडले ताली बजाए । केही समयमा अर्को कुरा पनि थाहा भयो– त्यो पार्टी तिनै ‘कवि’ले दिएका रहेछन् ।
यो दृश्यले नेपाली साहित्यको वर्तमान अवस्था चित्रण गर्छ । आफ्नो प्रशंसा होस् भन्ने भोकले लेखकहरू लामो समय दिएर अरुको प्रशंसामा लिप्त भइरहेका छन् । चाहे त्यो सामाजिक सन्जाल होस् या विमर्श नाम दिएर गरिने कार्यक्रममा नै किन नहोस् ! यसले साहित्यलाई थप सिर्जनात्मक तथा प्रतिस्पर्धी बनाउने परै जाओस्, नेपाली पाठकलाई न्याय गर्न पनि सकेको छैन । र, यही प्रवृत्तिले नेपाली सिर्जनालाई आलोचनात्मक कोणबाट हेर्ने सम्भावना घटाउँदै लगेको छ ।
नेपाली साहित्य र यसलाई नजिकबाट स्पर्श गरिरहेकाहरू आलोचनात्मक हुन सकेका छैनन् । जब कुनै विषयमाथि आलोचना हुँदैन, त्यो सामान्यीकरणको बाटोमा जान्छ । त्यसले विकल्पहरूको खोजी गर्नबाट सर्जकलाई पर कतै छाडिदिन्छ । विकल्पहरू खारेज गरिनुले सिर्जना मर्दै जान्छ । सिर्जनाको अन्त्य भएको यो समय नेपाली साहित्यका लागि ठूलो अभिशाप हुने निश्चित छ ।
अहिले पनि नेपाली साहित्य ४० को दशक र त्यसअघिका साहित्यकार र लेखकवरपर घुमिरहेको छ । अहिले पनि देवकोटा, भूपी शेरचन, पारिजात, शंकर लामिछानेलगायतको लेखनवरपर ‘राइटिङ ट्रेन्ड’ र नयाँ विषयवस्तुमाथि छलफल गरिन्छ । बीपी कोइराला, मोहन कोइराला, ईश्वर वल्लभहरूलाई सन्दर्भका रूपमा लिइन्छ ।
यी सर्जकलाई बिर्सेर नयाँ शिराबाट नेपाली साहित्यको छलफल गर्नैपर्छ भन्न मैले खोजेको होइन । तर, के पनि हो भने पछिल्ला दशकमा हामीसँग साहित्यको ट्रेन्ड सेटरका रूपमा एक जना पनि उदाएका छैनन् । बरु हामी पप्लिटरेचरलाई आधारभूत चर्चाको विषय बनाएर त्यसैको केन्द्रवरपर घुमिरहेका छौँ ।
सिर्जना यस्तो हुनुमा लेखकको मात्र होइन, पाठकको पनि उत्तिकै दायित्व हुन्छ । जब पाठकको वृत्त जे लेखिएको छ, त्यसैमा रमाउन थाल्छ, लेखकले अल्छी गर्नु स्वाभाविक हुन जान्छ । पाठकबाट ‘वेलकम’ पाइसकेको लेखकले आफूलाई परिमार्जन गर्न मात्र होइन, थप सिर्जनात्मक बनाउन पनि अभ्यास गर्दैन । उसको लेखनमा नयाँ आविष्कार होस् भनेर अपेक्षा गर्नु मुर्खता साबित हुन्छ ।
यसले सीमित समयका लागि लेखकका कृतिको बिक्री संख्या बढाउन त पक्कै सहयोग गर्ला, तर कालन्तारमा साहित्यका लागि यही कल्चर अभिशाप बन्छ । यही दुखान्त संयोग नेपाली साहित्यमा पछिल्लो समय देखिएको छ । विशेषगरी ६० को दशक सुरुवातदेखि नै नेपाली साहित्यमा उल्लेख्य कृतिको खडेरी पर्न थालेको छ । यसको अर्थ के होइन भने, तत्कालीन समयमा कुनै पनि कृति पढिएनन् । प्रकाशन भएको वर्ष वा थप दुई–चार वर्ष नेपाली कृतिको चर्चा जति भएको छ, झन्डै एक दशकमै त्यो कृतिको छाप लगभग शून्यमा झरिसकेको छ ।
यसको प्रमाण हामीले आफैलाई प्रश्न सोध्न पाउँछौ– ६० दशकमा पढिएका कति वटा कृति हाम्रो सम्झनामा छन् त ? वर्षभर दर्जनभन्दा बढी कृति पढेका पाठकले यो प्रश्नको जवाफमा दुवै हातका औँला भाँच्न सक्दैनन् ।
तर, के पनि सत्य हो भने पछिल्लो समय नेपाली लेखकहरू चुपचाप छैनन् । कुनै भेटमा होस् या सामाजिक सन्जालमा उनीहरू नयाँ उपन्यास, कथासंग्रह वा सिर्जनामाथि काम गरिरहेको सुनाउन पछि पर्दैनन् । यो गतिशीलता उत्पादनमा बदलिइरहेको छ । यही कारण हुनुपर्छ केही वर्षयता नेपाली साहित्यकारको अवस्था पहिलेको जस्तो दुखान्त छैन ।
पहिले कविभन्दा समाजले बनाउने चित्र अहिले फेरिएको छ । हजारमा पनि होइन, लेखकहरू लाखमा पारिश्रमिक बुझ्न थालिसकेका छन् ।
प्रकाशकहरू हजारौँ प्रति किताब बिक्री भइसकेको विज्ञापन प्रत्येक साताजसो बजारमा पठाइरहेका छन् । बजारमा प्रत्येक महिनाजसो पुस्तक प्रदर्शनी भएका छन् । लेखक–प्रकाशक पुस्तक प्रवद्र्धन गर्न विभिन्न सहर डुलिरहेका छन् । कुनै लेखकको पुस्तक आउने चर्चा महिनौँअघि सुरु भएको छ । हाम्रै आँखाअघिका यस्ता सत्यहरूले एउटा छाप छाडेको हुनुपर्छ नेपाली साहित्य धेरै माथि पुगिसकेको छ ।
तर, यो बजारमा देखिएको भ्रमबाहेक केही होइन । यसले साहित्यलाई कुनै पनि अर्थमा भलो गरेको छैन । बरु यस्ता विषय डिजाइन गर्नेहरू साहित्यकारलाई गुटबन्दीमा धकेलिरहेका छन् । उनीहरू बजारको चाहना पूरा गर्न तयारी चाउचाउ बनाएजस्तै एउटा फ्रेममा साहित्यलाई डोर्याउन खोजिरहेका छन् । त्यही फ्रेमवरपर लेखक र पाठक रमाइरहेका छन् । यसले फेरि पनि लेखकको सिर्जनाकर्मलाई फितलो बनाएको मात्र होइन, लेखनमा नयाँ आविष्कार हुनबाट पनि रोकेको छ ।
यी सबै कुराले गर्दा नेपाली साहित्य नेपाली बजारमै प्रभावकारी हुन सकेको छैन । यो प्रभावकारी हुन्थ्यो भने यसले समाजका अन्य आयामलाई प्रभावित गर्न सक्नुपथ्र्यो जस्तो, राजनीतिमा शब्दहरूको सही प्रयोग हुन्थ्यो, चलचित्रहरूमा शब्दमाथि न्याय हुन्थ्यो, यही समाजमा अध्ययनमाथि विचारविमर्श हुन्थ्यो । दुर्भाग्य, नेपाली साहित्यले यही समाजमा प्रभाव पार्न सकेको छैन ।
आफ्नै समाजमा प्रभाव पार्न नसकेको साहित्यले झन् विश्व परिवेशमा राम्रो छाप छाड्न सक्नुपर्छ भन्नु मुर्खताबाहेक अरु केही हुँदैन ।
पप्लिटरेचर मात्र अनुशरण गरिरहेकाले पनि नेपाली साहित्यको प्रभाव विश्वबजारमा शून्यकै वरपर छ । तर, साहित्यका ‘मठाधीशुहरू यसलाई स्वीकार्ने पक्षमा छैनन् । उनीहरू सातैपिच्छे रेस्टुरेन्टको टेबुलमा विदेशी सोमरसमा रमाइरहेका छन् । र, कार्यपत्रको घोषणा गरिरहेका छन्– नेपाली साहित्य विश्वस्तरीय वा विश्वबजारमा सबैभन्दा रूचाइएको साहित्यमा पर्छ ।
विडम्बना, यहाँका सर्जकलाई नै आफ्नो लेखनमाथि त्यति विश्वास छैन जति यस्ता ‘पुङमाङे’ घोषणापत्रले दाबी गरिरहेका छन् । एकथरि सर्जक त्यस्ता छन् जो एकान्तमा आफूले संसारलाई नै धानिरहेको छु भन्ने भ्रम पाल्छन् भने अर्काथरी सर्जक समकालीन अर्को लेखकको प्रशंसालाई बारम्बार उद्धरण गरेर आफूलाई सशक्त प्रमाणित गर्न प्रयास गरिरहेका छन् ।
त्यसलै पनि विश्वबजारमा नेपाली साहित्यको प्रभाव तत्कालका लागि कल्पना पनि गर्न सकिँदैन । विश्वबजारमा नेपाली साहित्यको नगन्य उपस्थिति हुनुको कारण तीन ‘आलाप’ बढी जिम्मेवार छन्– आत्मालाप, दुखालाप र यौनालाप । पछिल्ला वर्षमा नेपाली पुस्तकहरू यिनै कुरामा बढी केन्द्रित भएका छन् । छापिएका र हजारौँ प्रति बिक्री भएका भनिएका पुस्तकले न नेपाली समाजमा नयाँ डिस्कोर्स निम्त्याउन सकेका छन् न दीर्घकालीन प्रभाव पार्न नै !
अपवादलाई छाडेर केही वर्षयता छापिएका किताब निकै छोटो समय कोठाको शोभा बढाउन प्रयोग भएका छन् । र, ती पुस्तक छिट्टै चटपटे बिक्रेतालाई राम्रो ु¥यापरु बनेका छन् ।
आत्मालापमा रमाइरहनु र दुखालापलाई लेखनको केन्द्रमा राख्नुले यस्तो दुखद परिस्थितिको सिर्जना गरेको हो ।
फिक्सनका नाममा यहाँ जे लेखिइरहिएको छ, त्यो सर्जकको विगतको दुखालापमा जोडिएको मनगढन्ते कल्पनाबाहेक अरु हुन सकेको छैन । र, त्यसमा प्रवृष्टि दिइएको छ, भद्दा यौनालाप । यसले साहित्यलाई कुरूप बनाएको मात्र होइन, हाम्रो साहित्यको भविष्यमाथि प्रश्नचिह्न पनि खडा गरेको छ ।
यस्तो परिस्थितिको सिर्जना ‘रिडिङ फेसन’ र त्यसको मागलाई परिपूर्ति गरिरहेका प्रकाशकमात्रै भने होइनन् । तर, यी दुई तत्वमा लेखकहरू नराम्रोसँग अल्झिएका छन् । उनीहरू नयाँ सिर्जनामा विश्वास गर्नुभन्दा छिटो प्रकाशकको चाहना पूरा गर्नमा रमाइरहेका छन्, जो बजारमा पाठक के चाहिरहेको छ भन्ने अध्ययनमा सीमित छ । मानौँ, अहिले प्रकाशकहरूसँग एउटा फर्मा छ र त्यहीअनुसार लेखकका शब्द चलायमान छन् ।
त्यो फर्माले चाहेको ठाउँमा यौन आफै घुस्छ, त्यहाँ दुःख आफै जोडिन्छ र फर्माकै चाहनाअनुसार लेखकको पात्र सिर्जना हुन्छ ।
यस्तो हुनुका पछाडि हाम्रो समाजको पनि दोष छ । हाम्रो समाज ‘इनोभेसनुमा विश्वास गर्दैन । उसलाई सगरमाथा नेपालमा परेकोमा, विश्वका अग्ला चुचुरा नेपालमा भएकोमा, बुद्ध नेपालमा जन्मिएकोमा, हिमाल, पहाड र तराई अत्यन्त साँघुरो क्षेत्रफलमा अटेकोमा गर्व छ ।
नयाँ सिर्जनामाथि ऊ विश्वास गर्दैन । समाजले नै नयाँ सिर्जनात्मक काममा विश्वास नगर्ने भएपछि लेखकहरूमा सायद किन नयाँ गर्ने भन्ने मनोविज्ञानले काम गर्छ । यही मनोविज्ञानले नेपाली साहित्यलाई थप साँघुरो बनाउँदै लगेको छ । सिर्जनालाई मार्दै लगेको छ ।
त्यो सीमितताले नेपाली साहित्यलाई पनि एउटा सानो भूगोलमा खुम्च्याएको छ । यसो भनिरहँदा के पनि बिर्सनु हुँदैन भने, अचेल प्रत्येक महिनाजसो एउटा नेपाली पुस्तक अंग्रेजी वा अरु भाषामा अनुवाद भइरहेको छ । तर, अनुवादमात्र नेपाली साहित्य विश्वबजारमा पुगेको प्रमाण होइन । ‘कन्टेन्ट’ शक्तिशाली नभएकाले यसको अस्तित्व स्वीकार्य हुन सकेको छैन । उही बिजुली बजारको रेस्टुरेन्टमा सुनिएजस्तो हिमाल बोकेर हामीले चौतारीमा बस्नुपर्छजस्ता कविता अनुवाद हुँदा त्यसले झन् नकारात्मक छाप बाहिर छोड्छ ।
त्यस्तो एउटै कविताको अनुवादले त्यो भाषामा अरु राम्रा सिर्जना अनुवाद हुने सम्भावनालाई अन्त्य गरिदिनेमात्र होइन, त्यो भाषाका पाठकले नेपालमा लेखिएका विषयलाई बेवास्ता गर्ने क्रम पनि बढ्छ ।
तर, यसको अर्थ अनुवाद हुनु नै हुँदैन भन्ने होइन । नेपाली साहित्यको अनुवाद कति भएको छ त ? यस्तो प्रश्नमा जो कोहीले झट्ट एउटा पुस्तक सम्झन्छ– शिरिषको फूल । पारिजातको उपन्यास अनुवाद त भएको छ, तर त्यसले पनि नेपाली साहित्यलाई फैलाउन सकेन । यसको कारण हो– त्यतिको स्तरमा वा त्यतिकै शक्तिशाली विषय लिएर सिर्जना नहुनु ।
हामीले अहिले सहजै विश्वबजारमा उपलब्ध हुने पुस्तकहरू पढ्न सक्ने वातावरण बनिसकेको छ । दुई–चार दिनमै हामीकहाँ न्युयोर्क, पेरिस वा लन्डनमा सार्वजनिक भएको पुस्तक आइपुग्छ । तर, यही गतिमा हाम्रा लेखकहरू सिर्जनामा लागिरहेका छैनन् । उल्टो उनीहरू आफूमाथिको सिर्जनात्मक आलोचनालाई पचाउन सकिरहेका छैनन् ।
एउटा सानो गुटबाट बाहिर निस्कन नसकेको लेखकले विश्वबजारलाई अध्ययन कसरी गर्न सक्छ ? साहित्यका लागि सबैभन्दा आवश्यक कुरा हो विषय । गम्भीर विषयलाई पठनीय बनाउन शब्द लालित्य, शैली र प्रयोगको आवश्यकता पर्छ । तर, पछिल्लो समय नेपाली बजारमा देखिएका पुस्तकमा विषयभन्दा बढी शैलीको प्रयोग छ ।
यसले गम्भीर विषयलाई न्याय गरेको त छैन नै साथै पाठकलाई भ्रममा पारिदिएको छ । त्यही भ्रमलाई औजार बनाएर प्रकाशक विज्ञापनको मोडल तय गरिरहेको छ । यसले नेपाली साहित्यलाई झन्झन् खुम्च्याएको छ, विश्वमा लेखिएका विषयवस्तु र सन्दर्भसँगको तराजुमा निकै तल धकेलिदिएको छ ।
जापानका हारुकी मुराकामी, भारतका चेतन भगत, ब्राजिलका पाउलो कोएलो सम्भवतः पछिल्ला वर्ष नेपालमा सबैभन्दा बढी पढिएका लेखक हुन् । यस्तै सूचीमा आउँछिन् भारतीय लेखिका इरा त्रिवेदी पनि । गत पुसमा इरा पोखरामा भएको साहित्य महोत्सवमा आइन् । त्यहाँ यो पंक्तिकारसँग कुरा गर्दा उनले भनिन्, ‘म त पुस्तक लेखिरहेकी हुँ । यो मेरो पेशा हो । साहित्यमा आउन पनि म प्रयास गरिरहेकी छु । तर, अहिले म भारतीय साहित्यमा नो ह्वेर हुँ ।’
इराको यो स्वीकारोक्ति थियो, उनी साहित्य लेखिरहेकी छैनन् । विडम्बना, यता हाम्रोमा भने इराको भन्दा पनि कमसल विषय उठाएर पुस्तक प्रकाशन गरेका लेखकहरू साहित्यको समग्र आकाश आफूले थामिरहेको घमन्ड गर्न पछि पर्दैनन् । नेपाली साहित्य विश्वबजारमा नो ह्वेर हुनुको कारण यो पनि एउटा हो ।
एकातिर अहिले नेपाली साहित्यबजार ‘मिस गाइडेड’ भइरहेको छ भने अर्कोतिर नेपाली समाजलाई अध्ययन अत्यन्त कम गरिएको छ ।
अहिले पनि हाम्रो साहित्यमा उही चौतारी र बाटो, उही उकाली र ओरालीमा भारी बिसाएका र बोकेका कथाले बर्चस्व जमाइरहेका छन् । त्यसमा लेखकहरूले थोरै कल्पनासम्म पनि भर्न सकेका छैनन् । नयाँ विषयमाथि लेख्दा आफू असफल भइएला भन्ने डरले लेखकहरू एउटै परिधिमा खुम्चिएका छन् ।
त्यसले सिर्जनामा अभ्यासलाई निषेध गरेजस्तै भान भइरहेको छ । यसले पनि नेपाली साहित्यको विश्वबजारमा पुग्ने सम्भावना क्षय गरेको छ । सबैभन्दा गम्भीर पक्ष त यहाँ आलोचनालाई पचाउन सक्ने जमात तयार भएकै छैन । पुस्तकमाथि लेख्दा समीक्षक वा आलोचकले सामना गर्नुपर्ने प्रश्न हो– ‘तैँलेचाहिँ के लेखेको छस् त ?
मैले महान् साहित्य लेख्या हो, तैँले बुझिनस् । अरुको आलोचना गर्ने तैले कस्तो लेखिरहेको छस् ? यस्ता प्रश्न गर्ने समूह नै नेपाली साहित्यका लागि दुर्भाग्य हुन् । र, नेपाली साहित्य विश्वबजारको भ¥याङ चढ्नबाट पहिलो खुड्किलोमै रोकिनुपर्ने कारक पनि ।