काठमाडौं । दुई महिनाअघि संयुक्त अरब इमिरेट्सको दुबईबाट फर्केकी चितवनकी ३७ वर्षीया माया (परिवर्तित नाम) ले तीन साताअघि शिशु जन्माइन् ।
तर उनले नौ महिना पेटमा हुर्काएको शिशुलाई दुई साताभन्दा बढी आफूसँगै राख्न चाहिनन् । जन्मेको केही दिनमै उनले शिशुलाई एक बालगृहको जिम्मा लगाइन् । मायाले यसो गर्नुको कारण शिशुको पिता कसलाई देखाउने भन्ने थियो । दुबईमा काम गर्ने घरको साहुको बलात्कारबाट गर्भ बोकेकी मायालाई कोरोना महामारीपछि सरकारले उद्धार गरी ल्याएको हो ।
उनले तीन साताअघि महाराजगन्जस्थित शिक्षण अस्पतालमा शिशुको जन्म दिएकी हुन् । शिशु जन्मेदेखि नै उनले शिशु जिम्मा लिने व्यक्ति÷बालगृहको खोजी गर्दा कपनमा रहेको केयर बालगृह फेला परेको थियो । र, सोही बालगृहलाई शिशु जिम्मा लगाइन् ।
बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले शिशुलाई बेवारिसे भएको देखाएर आर्थिक संकलन गर्न खोजेपछि वास्तविकता सार्वजनिक भयो । प्रहरीले घटनाको सोधीखोजी गरी पुनः शिशुको जिम्मा आमालाई नै दियो । मायाले शिशुलाई घर लिन नचाहनुमा बाबुको पहिचान र आर्थिक समस्या प्रमुख भएको बताइन् । ‘विदेशी नागरिकको बलात्कारबाट जन्मेको शिशुलाई घर लैजाँदा झन् अनेक झन्झट आउने देखिएपछि शिशुलाई बालगृहको जिम्मा लगाउने निधो गरेकी हुँ,’ उनले भनिन् ।
यतिखेर बालगृहबाट शिशु मायाको हातमा पुगे पनि उनी अझै शिशुको रेखदेख गर्ने व्यक्ति र संस्था खोजिरहेकी छन् । ‘शिशुलाई राम्रोसँग माया र संरक्षण गरेर पाल्ने कोही फेला परे उनैलाई जिम्मा दिने चाहना छ,’ उनी भन्छिन्, ‘घरमा लिएर आर्थिक र सामाजिक समस्या भोग्नु भन्दा अरुलाई दिँदा सहज हुन्छ भन्ने लागेको छ ।’ बलात्कारबाट जन्मेको शिशुबारे कम्तीमा पति र दुई छोरीहरूले थाहा नपाउन भन्ने उनको चाहना छ ।
कोरोना भाइरसको महामारीपछि गन्तव्य मुलुकमा निम्तिएको समस्यापछि दुई महिनायता उद्धार गरी काठमाडौं ल्याइएका चार गर्भवती महिला आ–आफ्नो घर जानेरनजाने अझै टुंगोमा पुगेका छैनन् । उद्धार गरी ल्याइएका ती महिला यतिखेर राजधानीको एक सेल्टरमा छन् । सँगै उद्धार गरिएका अन्य घरतर्फ लागे पनि उनीहरू घर जान नसक्नुको कारण गर्भमा रहेका शिशु हुन् ।
घर जाँदा पेटको गर्भबारे अनेक जवाफ दिनुपर्ने र समाजबाट लाञ्छना सहनुपर्ने बाध्यताले उनीहरूको घर फर्काइ अनिश्चित बनेको हो । कुबेतमा घरेलु काम गर्दा साहुले गरेको बलात्कारबाट गर्भ बसेको बताउने सर्लाहीकी मञ्जु ९नाम परिवर्तन० लाई जन्मने तयारीमा रहेको शिशुबारे घर र समाजमा के भन्ने तनावले छटपटि बनाइरहेको छ ।
उनका घरमा दुई छोरी र एक छोरा छन् । ‘कमाउन गएको बेला गर्भ बोकेर फर्कदा अनेक लाञ्छना लाग्ने डरले घर फर्कने निर्णय गर्न सकेकी छैन,’ उनले भनिन्, ‘वैदेशिक रोजगारीले खुशी होइन कि मेरो जिन्दगी थप पीडामा पुर्यायो ।’ कुबेतमै उनले गर्भपतन गराउन खोजेकी पनि थिइन् । ‘सुरुमा ९पाँच महिनासम्म० गर्भ बसेको थाहा नै पाइएन,’ उनले भनिन्, ‘थाहा पाएपछि गर्भपतन गराउन खोज्दा डाक्टरहरूले मानेनन् ।’ पेटको बच्चा बढ्दै गएपछि देशमै सुरक्षित हुने ठानेर उनी चार्टर हवाई उडानमार्फत फर्केकी हुन् ।
विदेशबाट फर्किएका महिलालाई सेल्टर दिएकी आम्कास नेपालकी अध्यक्ष विजया राई श्रेष्ठले लकडाउनको बेला उद्धार गरिएका महिलामध्ये अधिकांश आर्थिक र शारीरिक शोषणमा परेको बताइन् ।
उनका अनुसार सेल्टरमा आश्रय लिएका एक सय ४७ मध्ये १९ महिला गर्भवती अवस्थामा विदेशबाट फर्केका थिए । १९ गर्भवतीमध्ये पाँच महिला रोजगारीको क्रममा साहु र सँगै काम गर्ने विदेशीले बलात्कार गरेका हुन् । पाँच गर्भवतीमध्ये एक महिलाले शिशु जन्माइसकेकी छन् ।
वैदेशिक रोजगारीको क्रममा आर्थिक र शारीरिक शोषणमा पर्ने गरेका उदाहरण नेपाली समाजका लागि नयाँ होइनन् । किनकि वर्षौंदेखि वैदेशिक रोजगारीमा जाने अनेक समस्यामा पर्दै आएका छन् । सुन्दर भविष्यको सपना बुन्दै वैदेशिक रोजगारीमा गएकाहरू घर न घाटका भएका कैयन उदाहरण छन् । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।