काठमाडौं । तीन महिनासम्म आन्तरिक विवादमा अल्झिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्याकेजमै सहमति खोज्न कार्यदल गठन गरिएको छ ।
दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पमकल दाहालबीच बिहीबार र शुक्रबार भएको संवादपछि सहमतिको प्याकेज तयार पार्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको हो । वरिष्ठ नेता माधव नेपाल समूहले पार्टीभित्रको विवाद समाधान गर्न प्याकेजमै सहमति हुनुपर्ने बताउँदै आएको थियो ।
कार्यदलले दिने सुझावका आधारमा प्याकेजमै विवाद समाधान गर्ने अध्यक्षद्वयको चाहनाबमोजिम कार्यदल बनाइको हो । कार्यदलमा नेकपाका दोस्रो तहका नेताहरूलाई राखिएको छ । कार्यदलमा ओली पक्षबाट महासचिव पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, दाहाल पक्षबाट जनार्दन शर्मा र पम्फा भुसाल र वरिष्ठ नेता नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डे छन् ।
पार्टीको महाधिवेशन, संगठनात्मक संरचना हेरफेर, संघीय मन्त्रिपरिषद् हेरफेर, प्रदेशमा मुख्यमन्त्रीहरूको हेरफेर, पार्टी र सरकार सञ्चालन, पार्टी एकताका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा उत्पन्न विवाद प्याकेजमै टुंगो लगाउने सहमति अध्यक्षद्वयबीच भएको छ ।
विवाद समाधानका लागि कार्यदल गठन हुनुलाई नेपाल पक्षले संवादहीनताको अन्त्य भएको महसुस गरेको छ । ‘के भएको छ, जानकारी छैन । दुई अध्यक्षले विस्तृत रूपमा छलफल गरेका होलान् । दुई अध्यक्षबीचमा छलफल कसरी अघि बढेको छ भन्नेबारेमा नेता माधव नेपाललाई पूरै जानकारी छैन’, नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने, ‘कार्यदल बन्नु राम्रो हो । यसले पार्टीभित्रको गतिरोध अन्त्य हुने अपेक्षा छ ।’
कार्यदलका संयोजक पौडेलले शनिबारबाटै आफूहरूले काम सुरु गर्ने र विवाद समाधानका विषयमा प्रस्ताव तयार पारेर अध्यक्षद्वयलाई बुझाउने बताए । ‘दुई अध्यक्षबीच पार्टीभित्रका समस्यालाई सकारात्मक रूपमा समाधान गर्ने र जनताले दिएको जिम्मेवारी पूरा गर्ने विषयमा सहमति भएको छ’, पौडेलले भने । उनका अनुसार शुक्रबार र बिहीबारको संवादमा दुई अध्यक्षबीचमा धेरै विषयमा गम्भीर छलफल भएको छ । ‘छलफलपछि उहाँहरू महत्वपूर्ण निष्कर्षमा पुग्नु भएको हो । समस्याको सकारात्मक समाधान खोज्दै नेकपाको एकतालाई अक्षुण्ड राख्नुपर्छ भन्ने विषयमा उहाँहरू सहमत हुनुहुन्छ’, पौडेलले भने, ‘नेपाली जनताले हाम्रो पार्टीबाट जुन अपेक्षा गरेका छन् त्यसलाई सार्थक पार्न एकताबद्ध भएर अघि बढ्नुपर्छ । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।