भारतका १३ औँ राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षमा भदौ १५ गते निधन भएको छ । उनलाई कोभिड–१९ पनि पुष्टि भएको थियो । सन् २०१२ मा भारतका १३औँ राष्ट्रपति हुनुअघि मुखर्जी सातपटक सांसद, तीन प्रधानमन्त्रीहरू इन्दिरा गान्धी, पिभी नरसिंह राव र डा. मनमोहन सिंह नेतृत्वको सरकारका अर्थ, विदेश र रक्षामन्त्री थिए । मुखर्जी अर्थमन्त्री हुँदा सिंहलाई रिजर्भ बैंक अफ इन्डियाका गभर्नर बनाएका थिए । पछि सिंहकै नेतृत्वमा मुखर्जी दोस्रो वरीयताका मन्त्री भएका थिए । भारतीय राष्ट्रिय कांग्रेसको संस्थापनले सधैँ मन पराएका भए पनि उनलाई प्रधानमन्त्री हुने अवसर भने जुरेन ।
प्रधानमन्त्री पद नजिकै हुँदा पनि उनलाई त्यसमा बस्ने राजनीतिक संयोग मिलेको थिएन । इन्दिरा गान्धीको हत्यापछि सन् १९८४ मा तथा सन् २००५ मा कंग्रेस तथा कम्युनिस्टसहितको एकीकृत प्रगतिशील गठबन्धन (युपिए) सरकारमा प्रधानमन्त्री हुने चर्चामा मुखर्जी थिए । इन्दिरा गान्धीको हत्यापछि प्रधानमन्त्री बन्ने वातावरण नभएपछि मुखर्जीले कंग्रेस पार्टी परित्याग गरेर सन् १९८६ मा राष्ट्रिय समाजवादी कंग्रेस पार्टी स्थापना गरेका थिए । तर, सन् १९८९ मा उनी कंग्रेस फर्किए जसको तारतम्य राजीव गान्धीले मिलाएका थिए ।
राजीव गान्धीपछि पिभी नरसिंह राव प्रधानमन्त्री भएसँगै मुखर्जी सन् १९९१ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भए भने सन् १९९५ मा उनी विदेशमन्त्री भए । राजीव गान्धीको हत्यापछि राजनीतिमा सोनिया गान्धीलाई ल्याउन मुखर्जीले नै भूमिका खेलेका थिए । सोनियाको राजनीतिक अभिभावकका रूपमा मुखर्जीले कंग्रेसमा भूमिका निर्वाह गरे । गान्धी अध्यक्ष हुँदा मुखर्जीले कंग्रेस महामन्त्रीको भूमिका निर्वाह गरेका थिए । कंग्रेसका अपरिहार्य व्यक्तित्वका रूपमा मुखर्जी स्थापित थिए । इन्दिरा, राजीवदेखि सोनिया गान्धीका लागि पार्टीमा रणनीतिकारका रूपमा मुखर्जी थिए । कंग्रेसमा उनी
धेरैका अभिभावक थिए । मुखर्जीले आफ्नो किताब ‘कोलिसन इयर्स’मा आफू राजनीतिक पार्टीहरूको सल्लाहकारजस्तो भूमिकामा सधैँजसो रहेको बताएका छन् ।
सन् २००४ मा लोकसभा निर्वाचन जितेका मुखर्जी त्यसवेला कंग्रेस तथा वामपन्थी र समाजवादी दलहरूको युनाइटेड प्रोग्रेसिभ एलाइन्स (युपिए)को सरकारमा रक्षामन्त्री भए । सन् २००६ मा उनी विदेशमन्त्री भए भने सन् २००९ देखि २०१२ सम्म अर्थमन्त्री भए । त्यसपछि राष्ट्रपति भए । प्रधानमन्त्री नबनाएको क्षतिपूर्तिस्वरूप कंग्रेसले मुखर्जीलाई सन् २०१२ मा राष्ट्रपति बनाएको चर्चा भारतीय राजनीतिमा अहिले पनि भइरहेको छ । राष्ट्रपति भएसँगै कंग्रेस पार्टीको सदस्यता त्यागेका मुखर्जी कार्यकाल सकिएपछि राजनीतिक रूपमा निष्क्रिय रहे । उनी पछिल्लोपटक भारतीय जनता पार्टीको मातृ संस्था राष्ट्रिय स्वयंसेवक संघ र व्यक्तिगत रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट थिए ।
नेपाल साइनो
नेपालको सीमावर्ती राज्य पश्चिम बंगालमा जन्मेका र राजनीति सुरु गरेका मुखर्जीको नेपालसँग निकटको सम्बन्ध रहेको छ । मुखर्जी नेपालका असल मित्र पनि थिए । मुखर्जीको नेपालसँग विशेष सम्बन्ध थियो । उनले नेपालमा भएका कतिपय राजनीतिक घटनाक्रम देखि नेपाल भारत सम्बन्धका महत्वपूर्ण निर्णयमा भूमिका खेलेका थिए ।
भारतका राष्ट्रपति हुँदा मुखर्जी २०७३ कात्तिक १७ देखि १९ सम्म राजकीय भ्रमणमा नेपाल आएका थिए । मुखर्जीले जनकपुर र पोखराको भ्रमण गरेका थिए । मुखर्जी नेपालका शीर्ष नेताहरूसँग निकट सम्पर्कमा थिए । पञ्चायतदेखि नै मुखर्जीसँग नेपाली नेताहरूको सम्बन्ध थियो ।
मुखर्जीले नेपाल–भारत सम्बन्धका महत्वपूर्ण दस्ताबेजमा हस्ताक्षर गरेका छन् । नेपाल र भारतबीच सन् १९९६ मा भएको पारवहन तथा व्यापार सन्धिमा नेपालबाट तत्कालीन परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनी र भारतबाट मुखर्जीले हस्ताक्षर गरेका थिए । महाकाली सन्धिको प्रारम्भिक मस्यौदामा १५ माघ ०५२ मा लोहनी र मुखर्जीले
हस्ताक्षर गरेका थिए ।
पूर्वपरराष्ट्रमन्त्री लोहनीसँग पछि पनि भएका पटक–पटकका भेटमा मुखर्जीले नेपालको विकासमा भारतले एक कदम अघि बढेर सहयोग गर्नुपर्ने धारणा राख्दै आएका थिए ।
२०६८ कात्तिक ४ गते नेपाल र भारतबीच द्विपक्षीय लगानी प्रवद्र्धन सम्झौता (बिप्पा)मा पनि भारतबाट मुखर्जीले हस्ताक्षर गरेका थिए । नेपालबाट सम्झौतामा उद्योगमन्त्री अनिल झाले हस्ताक्षर गरेका थिए । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको औपचारिक भारत भ्रमणका वेला बिप्पा भएको थियो ।
दोस्रो जनआन्दोलनपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा मुखर्जी विदेशमन्त्री थिए । कोइरालाको आग्रहमा नेपाली सेनाको हतियार खरिदबापत तिर्नुपर्ने पौने दुई अर्ब नेपाली रुपैयाँ भारतले मिनाहा गरेको थियो । त्यसको तारतम्य मुखर्जीले नै मिलाएका थिए । त्यसो त नेपालमा दोस्रो जनआन्दोलनपूर्व दिल्लीमा तत्कालीन सात दल र माओवादीबीच भएको १२बुँदे सम्झौतामा हस्ताक्षर हुँदा मुखर्जी विदेशमन्त्री थिए ।
सन् २००७ मा तत्कालिन उपप्रधान तथा परराष्ट्रमन्त्री साहना प्रधान भारत भ्रमणमा जाँदा मुखर्जीले गरेको सम्मानको तस्बिर विश्वभर चर्चाको विषय बनेको थियो । उनले अञ्जुली भुईं नजिक झारेर प्रधानलाई बाटो देखाएका थिए । भारतका विदेश मन्त्रालयका अधिकारीहरुले मुखर्जीले निहुरेर सम्मान गर्दा आफू पनि निहुरिएका थिए । आफूभन्दा उमेर र अनुभवले माथि रहेकाप्रति मुखर्जी निकै सम्मान गर्थे । उनी फलेको वृक्ष निहुरिन्छ भन्ने उदाहरण समेत थिए ।
मुखर्जीको नेपालका राजनीतिक दलका नेतासँग सीधा सम्पर्क थियो । मुखर्जीलाई नेपालका नेताहरु सिधा भेट्न पुग्थे । उनी नेपालका नेताहरुप्रति आत्मीय थिए । राष्ट्रपति हुँदा पनि उनीसँग अनौपचारिक भेटघाटमा नेताहरु पुग्थे ।
मुखर्जीलाई नेपालको राजनीतिक परिवर्तनमा भूमिका खेल्ने एकजना नेताका रुपमा पनि हेरिन्छ । नेपाली नेताहरुको उनीसँग सिधा सम्पर्क भएकाले उनीमार्फत् धेरै छलफलहरु हुनेगथ्र्यो । जनआन्दोलन २०६२÷६३ मा पनि मुखर्जीसँग केही नेताहरु सिधा सम्पर्कमा थिए । भारतको नेपाल नीतिमा महत्वपूर्ण परिवर्तन हुनुमा उनकै भूमिका थियो ।
भारतका धेरै नागरिकले मन पराउने नेताहरुको सूचीमा अग्रपङ्क्तिमा पर्ने पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधनको खबरले अहिले भारतभरी शोक छाएको छ । अन्य देशका नेताहरुसँग पनि राम्रो सम्बन्ध भएकाले उनको निधनप्रति विश्वभरीबाट दुःख व्यक्त भइरहेको छ ।
विभिन्न दीर्घरोगका कारण अस्वस्थ्य रहँदै आएका ८४ बर्षीय मुखर्जीलाई कोरोना सङ्क्रमण भएको पनि पुष्टि गरिएको थियो ।
अस्पतालमा उपचार गरिरहँदा पनि थप गल्दै गएपछि उनी केही दिनदेखि अचेत अवस्थामा रहेका थिए । भेन्टिलेटरमा राखेर उपचार गराइरहेपनि उनको उपचार सफल नभएको उनकै छोराले जानकारी दिए ।
उनका बारेमा यसअघि पनि गलत समाचार सार्वजनिक भएपछि परिवारजन र अस्पतालले पटक पटक उनी जिवितै भएको र उपचार भइरहेको स्पष्टीकरण दिनु परेको थियो । अन्ततः लामो राजनीतिक तथा सामाजिक सङ्घर्ष गरेका मुखर्जीले भदौ १५ सधैँका लागि विश्राम लिएका छन् ।
उनी भारतको प्रधानमन्त्रीका लागि स्वभाविक दावेदार भएपनि प्रधानमन्त्री हुन नपाएका नेताका रुपमा चिनिन्छन् । सन् १९८४ र सन् २००४ मा उनी प्रधानमन्त्रीका लागि शसक्त दाबेदार देखिएका थिए ।
भारतीय काँग्रेस पार्टीकी तत्कालीन अध्यक्ष इन्दिरा गान्धीबाट प्रशिक्षित भएकाले पनि उनलाई आफू प्रधानमन्त्री बन्छु भन्ने विश्वास हुँदाहुँदै पनि बन्न पाएका थिएनन् ।
प्रधानमन्त्री बन्न नपाएको बारेमा उनले कहिल्यै पनि सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त नगरे पनि उनकी छोरी तथा काँग्रेस नेतृ शर्मिष्टा मुखर्जीले आफ्ना बुवा भारतको प्रधानमन्त्री बन्न नपाएकोमा मनमा कता कता अन्याय अनुभव गरेको बताउने गर्थिन् ।
उनी सन् २०१२ मा भारतको राष्ट्रपतिमा निर्वाचित भएपछि त झन यो असन्तुष्टि व्यक्त गर्नु अस्वभाविक नै भएकाले त्यत्तिकै दब्यो । त्यसलाई थप दबाउन राष्ट्रपतिबाट बाहिरिएपछि गत बर्ष उनलाई भारत रत्न सम्मान प्रदान गरिएको थियो ।
सन् १९३५ को डिसेम्बरमा पश्चिम बङ्गालमा पर्ने मिराटी गाउँको एउटा सामान्य परिवारमा जन्मिएका मुखर्जी काँग्रेस पार्टीका नेता थिए । त्यसैले नै उनी स्वभाविक रुपमा राजनीतिमा हानिए ।
युवा अवस्थादेखि नै राजनीतिमा संलग्न मुखर्जीले इतिहास र राजनीतिशास्त्रमा स्नात्तकोत्तर र कानुनमा स्नातक अध्ययन गरेका थिए । सन् १९६९ मा ३४ वर्षको उमेरमा राज्यसभाको सदस्य बनेका थिए । तर पार्टीबाट ६ वर्ष निलम्बन पनि भोग्नु परेको थियो ।
त्यसपछि पनि निरन्तर पार्टीमा सक्रिय भएपछि उनी अर्थमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्रीजस्ता महत्वपूर्ण मन्त्रालयको नेतृत्व पनि गरे । भारतको लोकसभाको सभामुखसमेत भएका मुखर्जीले अरु पनि धेरै सरकारी तथा सार्वजनिक जिम्मेवारीमा रहेर काम गरेका थिए ।
अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको बोर्डमा पनि काम गरेकाले भारतमा उनलाई राम्रो अर्थविद्का रुपमा लिइन्थ्यो । त्यही पृष्ठभूमिमा उनलाई अर्थमन्त्रालयको जिम्मेबारी प्राप्त भयो । त्यसमा सफल भएपछि थप राजनीतिक यात्रा पनि राम्रो बन्दै गयो । त्योभन्दा धेरै अगाडि उनी भारतमा शिक्षक र पत्रकारका रूपमा पनि सामाजिक क्षेत्रमा क्रियाशिल भएका थिए । उच्च शिक्षा पुरा गरेसँगै उनले स्थानीय शिक्षालयमा प्राध्यापन गरेका थिए । उनी स्थानीय बङ्गाली भाषामा प्रकाशित हुने पत्रिकाको सम्पादक पनि बनेका थिए ।
उनलाई भारतमा प्रधानमन्त्री बन्ने बाहेक अन्य पर्याप्त अवसर पाएका नेताका रुपमा लिइन्छ । भद्र, सन्तुलित, समन्वयकारी र बौद्धिक व्यक्तिका रुपमा चिनिने मुखर्जीप्रति धेरै जनताको सकारात्मक धारणा रहँदै आएको थियो । (मधेश दर्पण फिचर सेवा)