एजेन्सी । मार्क्सको क्रान्तिकारी राजनीतिको विरासत कठिनाइहरूले भरिएको कुरामा धेरै सहमत रहेको पाइन्छ।
समाजमा एउटा सशक्त ‘सोसल इन्जिनियरिङ’ उनकै विचारबाट प्रेरित भएको मानिन्छ । साम्राज्यवाद, स्वतन्त्रता र सामूहिक हत्यासँग मार्क्सका सिद्धान्तहरू जोडिएपछि उनलाई एक विभाजनकारीका रूपमा हेर्न थालियो ।
तर मार्क्सको अर्को रूप पनि छ, त्यो हो उनी एक भावुक व्यक्ति पनि थिए । संसारको भलाइमा उनका विचारहरूको महत्त्वपूर्ण योगदान रहेको मानिन्छ ।
१ बालबालिकालाई पढाउनुपर्छ
केही मानिसहरूले यो कुरालाई एउटा भनाइका रूपमा मात्र लिन सक्छन्। तर सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र लेखिरहेका बेला मार्क्सले बालश्रमको चर्चा गरेका थिए । अन्तर्राष्ट्रिय श्रम संगठनको सन् २०१६ को तथ्याङ्क अनुसार अहिले पनि संसारमा १० मध्ये एक बच्चा बालश्रमिक छन् ।
धेरै बालबालिकाहरू कलकारखाना छाडेर विद्यालय जानुमा मार्क्सको ठूलो देन छ । ‘द ग्रेट इकोनोमिस्ट’ पुस्तककी लेखिका लिण्डा यू भन्छिन्, ‘सन् १८४८ मा जारी मार्क्सको घोषणापत्रमा बालबालिकालाई निजी विद्यालयमा निःशुल्क शिक्षा दिइनुपर्ने कुरा १० बुँदामध्ये एउटा थियो । कलकारखानामा हुने बालश्रममाथि रोक लगाउनुपर्ने कुराको पनि त्यसमा चर्चा गरिएको थियो ।’
२ आफ्नो जिन्दगीको मालिक आफैँ हुनुपर्छ
के तपाईँ हप्ताको सात दिन काम गर्नुहुन्छ ? कामका बेला खाजा÷खाना खाने समय लिनुहुन्छ ? एउटा निश्चित उमेरपछि तपाईँ सेवा निवृत्त हुन र निवृत्तिभरण पाउन चाहनुहुन्छ ? यदि तपाईँको जवाफ सकारात्मक छ भने तपाईँ मार्क्सलाई धन्यवाद दिन सक्नुहुन्छ ।
लण्डन स्कूल अफ इकोनोमिक्सका प्राध्यापक माइक साभेज भन्छन्, ‘पहिला पहिला लामो समयसम्म काम गर्न भनिन्थ्यो । तपाईँको समय तपाईँको हुँदैनथियो र तपाईँ आफ्नो जिन्दगीका लागि सोच्न पाउनु हुँदैनथियो ।’ पुँजीवादी समाजमा मान्छेलाई बाँच्नका निम्ति उनीहरूको श्रमलाई कसरी वाध्यता बनाइनेछ भन्नेबारे मार्क्सले लेखेका थिए ।
उनका अनुसार मानिसहरूलाई अधिकांश समय उनीहरूको परिश्रम अनुसारको पारिश्रमिक दिइने गरिएको थिएन र उनीहरूमाथि शोषण गरिएको थियो ।
मार्क्स चाहन्थे मान्छेको जिन्दगीमाथि उसकै अधिकार होओस्, मान्छेको जीवन अरू कुराभन्दा सर्वोपरी होओस् ।
उनी चाहन्थे मान्छेहरू स्वतन्त्र होऊन् र मान्छेभित्रको सिर्जनात्मक क्षमताको विकास होओस् । साभेज भन्छन्, ‘वास्तवमा मार्क्स भन्छन् हामीले हाम्रो जीवन यसरी जिउनुपर्छ कि जसको मूल्याङ्कन कामले नगरियोस् । एउटा यस्तो जीवन जसको मालिक हामी आफैँ होऊँ, जहाँ हामी आफैँले यो कुराको निर्धारण गर्न सकौँ कि हामी कसरी जिउन चाहन्छौँ । आजकाल यही सोचका साथ मानिसहरू जिउन चाहन्छन् ।’
३ रूचि अनुसारको काम गर्न पाउनुपर्छ
आफ्नो मनले भनेको काम गर्दा मान्छेलाई खुशी मिल्छ । तर आफूले चाहे बमोजिमको काम नहुँदा मान्छेले दत्तचित्त भएर गर्न सक्दैन र ऊ निराश हुन्छ । यी कुराहरू अरूले नभइ स्वयं मार्क्सले भनेका हुन् ।
सन् १८४४ मा लेखेको आफ्नो पुस्तकमा मार्क्सले काममा पाइने सन्तुष्टिलाई मान्छेको भलाइसँग जोडेर हेरेका थिए । तत्कालीन समयमा यस्तो कुरा गर्ने उनी पहिलो व्यक्ति थिए ।
उनको तर्क थियो हामी आफ्नो अधिकांश समय काममा खर्चिन्छौँ । अतः यो आवश्यक छ कि आफ्नो कामबाट हामीलाई खुशी मिलोस् ।
४ भेदभावको विरोध गर्नुपर्छ
यदि समाजमा कोही खराब छ, यदि तपाईँलाई लागेको छ कि कसैप्रति अन्याय, भेदभाव वा गलत भइरहेको छ भने तपाईँ त्यसको विरोध गर्नुस् । तपाईँ संगठित भएर विरोध गर्नुस् र परिवर्तनका लागि संघर्ष गर्नुस् । संगठित विरोधका कारण कैयौँ देशको दिशा बदलिएको छ । विभिन्न प्रकारका भेदभावविरूद्ध कानून बनोस्।
लण्डनमा हुने मार्क्सवादी कार्यक्रमका आयोजकमध्येका एक लुइस निल्सन भन्छन्, ‘समाजलाई बदल्न क्रान्ति आवश्यक हुन्छ । हामी समाजको राम्रोका लागि विरोध प्रदर्शन गर्छौँ । यसरी सर्वसाधारणले आठ घण्टा काम गर्ने अधिकार पाएका हुन् ।
मार्क्सको व्याख्या एक दार्शनिकको रूपमा गरिन्छ। तर निल्सन यो कुरासँग असहमत छन् । उनी भन्छन्, ‘उनले जे लेखे र गरे त्यो एउटा दर्शन जस्तो लाग्छ। तर जब तपाईँ उनको जीवन र कामलाई नजिकबाट नियाल्नुहुन्छ तब तपाईँ महसुस गर्नुहुन्छ कि उनी एक अभियानकर्मी थिए। उनले अन्तर्राष्ट्रिय कामदार संघको स्थापना गरे । उनी गरीबहरूसँगै हड्तालमा सहभागी भए ।’ महिलालाई मतदानको अधिकार कसरी प्राप्त भयो ? यो अधिकार संसद्का कारण नभइ महिलाहरू संगठित भएर विरोधमा उत्रिएकाले पाए। काम गर्नेहरूले साप्ताहिक बिदा कसरी पाए ? मजदुरहरू संगठित भएर हड्तालमा उत्रिएकाले पाए। ”
५ सञ्चारमाध्यममाथि निगरानी राख्नुपर्छ
सरकार र ठूला व्यापारिक घरानाले साठगाँठ गरे तपाईँलाई कस्तो लाग्ला ? व्यापारिक प्रतिष्ठानले तपाईँका सबै जानकारी सरकारलाई उपलब्ध गराइदिए के तपाईँ आफूलाई सुरक्षित महसुस गर्नुहुन्छ ? १९ औँ शताब्दीमै मार्क्सले यस्तो महसुस गरेका थिए ।
हुन त त्यो बेला सामाजिक सञ्जालहरू थिएनन्, तथापि मार्क्स पहिलो व्यक्ति थिए जसले त्यस्तो साठगाँठको व्याख्या गरे ।
ब्वेनस आइरिज विश्वविद्यालयका प्राध्यापक भालेरिया वेघ वाइस भन्छन्, ‘मार्क्सले त्यतिबेलै सरकार, ब्याङ्क, व्यापार र उपनिवेशीकरणका प्रमुख एजेन्टहरूबीचको साठगाँठबारे अध्ययन गरे ।’
उनी थप्छन्, ‘मार्क्सले सञ्चारमाध्यमको शक्ति बुझेका थिए । मानिसहरूको सोचाइ प्रभावित गर्नका लागि सञ्चारमाध्यम उपयुक्त माध्यम थिए । आजकल हामी झुटा समाचारका कुरा गर्छौँ । तर मार्क्सले उहिल्यै यस्तो कुरा बताइसकेका थिए ।
‘मार्क्सले त्यतिबेला प्रकाशित हुने गरेका लेखहरूको अध्ययन गर्दथे । उनी यो निष्कर्षमा पुगेका थिए कि गरीबहरूले गर्ने अपराधलाई सञ्चारमाध्यमले ठूलो स्थान दिन्छन् जबकि नेताहरूले गर्ने अपराधको घटनालाई दबाउँछन् ।’ (राजनीति)