खोटाङ । प्रदेश १ मा पर्ने खोटाङ हलेसी पुर्वी नेपालकै पशुपतिनाथ भनेर चिनिन्छ । धार्मिक पर्यटनको लागि मुख्य गनतव्य समेत कहलिएको छ ।
हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा हलेसीधना पर्दट । ‘हलेसी गुफा’को प्राकृतिक भू बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ । हलेसी महादेवलाई हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी अथवा मरातिक गुफा र किराँत धर्मावलम्बीलेले आदिम भूमि रुपमा लिन्छन ।
गुराँसे, तुवाचुङ जायजुम मलाथुम्की र रूपाकोट डाँडा जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित रहेको छ । मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान (शिला)ले झकिझकाउ हलेसी धाममा विशेषत महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्वपूर्ण गुफा छन् ।
त्रिवेणी धार्मिक स्थल हलेसी
किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको संगमस्थल ‘हलेसीधाम’ नेपालका थुप्रै तीर्थस्थल एवं पर्यटकीय स्थल पर्छ । हिन्दू धार्मिक किंम्वदन्ती अनुसार सत्य युगमा महादेव भाङ–धतुराले मातेर अर्धचेत भएको अवस्थामा भष्मासुर नाम गरेको राक्षसले ‘मैले जसको टाउकोमा हात राख्छु, त्यो जलेर भष्म होस’ भन्ने वरदान मागेका थिए ।
भाङमा लठ्ठ महादेवले पनि विचारै नगरी ‘तथास्तु’ भनेर बरदान दिए । तर, पछि वरदान पाएपछि भष्मासुर ले महादेवकै टाउकामा हात राख्न खोज्यो । भष्म हुने डरले महादेव भाग्दै जाँदा हलेसीको यसै डाँडालाई फोडेर चट्टानभित्र प्रवेश गरे र त्यहीँ अलप भएको किम्बदन्ती छ ।
यस्तै बौद्ध धर्मानुसार यस भूमिमा सयौं वर्षअघि महान बौद्धगुरु पद्मसम्भवले वर्षौं तपस्य गरी बुद्धत्व प्राप्त गरेको पवित्र भूमि हो । बौद्व धर्मावलम्बीहरू यस गुफालाई मरातिक गुफा नाममा एक पवित्र स्थान मान्दै आएका छन ।
फेरि यता ऐतिहासिक कालमा किरातहरूका पूर्वज खोक्चिलीप्पा, रैछाकुले, हेच्छाकुप्पा हलेसी गुफामा बसेको किंम्वदन्तीमा उल्लेख भएको पाइन्छ । बर्सेनि किरातको चाड उभौली–उधौलीको अवसरमा खोटाङ, भोजपुर, उदयपुर, ओखलढुंगा, सोलुखम्बु लगायतका किराती भेला भई आफ्ना पितृलाई पुज्ने गर्छन् ।
यस्तो धार्मिक विश्वास
हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ । महादेवलाई भस्मासु राक्षसबाट बचाउन मोहनी रूप धारण गरी भगवान विष्णु कैलाशबाट यस ठाउँमा आएको शास्त्रीय मान्यता छ ।
मोहनीले राक्षसलाई झुक्याएर भष्म गरिदिएकी थिइन । जसको अवशेष भैरव गुफामा रहेको विश्वास गरिन्छ । त्यसैले यस लाई भष्मासुर गुफा पनि भनिन्छ । यहाँ राम नवमी, बाला चतुर्दशी, शिवरात्री र तीज गरी वर्षमा चारपटक ठूला मेला लाग्ने हलेसीमा विभिन्न मुलुकबाट समेत तीर्थयात्री तथा पर्यटक आउने गर्छन् । हलेसी महादेवको पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।
फोटोमा हेर्नुहोस् हलेसीधामकाे दर्शन