राजविराज । गत वर्षको तुलनामा सप्तरीमा यस वर्ष डेढगुना भन्दा बढी आँप उत्पादन हुने भएको छ ।
आँप उत्पादन हुने क्षेत्रमा बृद्धि, मौसमको अनुकुलता र यो वर्ष अनइयर (आँप बढी उत्पादन हुने वर्ष) भएकाले गत वर्षको तुलनामा बढी आँप उत्पादन हुने कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
जिल्लामा वर्षेनी ८ हजार ५ सय हेक्टर जग्गामा आँप खेती हुदै आएको छ । गत वर्ष ४९ हजार ७ सय मेट्रिक टन आँप उत्पादन भएकोमा यस पल्ट आँप उत्पान हुने क्षेत्रमा बृद्धि, मौसमको अनुकुलता र यो वर्ष अनइयर वर्ष समेत भएकाले उत्पादन बृद्धि भई ७१ हजार २ सय ५० मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र सप्तरीका निमित्त कार्यालय प्रमुख किसुन देव राउतको भनाई छ ।
“मौसमले साथ दिएको छ, उनले भने–गत वर्ष भन्दा डेढ गुना आँप बढी उत्पादन हुन्छ ।” हावाहुरी र असिनाबाट आँपको बोटलाई क्षति नहोस भन्ने हामी जति खटेका छौ, त्यति नै किसानहरु पनि खटेकाले परिणाम राम्रो आउने देखिएको उनको भनाई छ ।
आँप उत्पादन बढ्ने भएपछी यहाँका किसानहरु पनि हौसिएका छन । उत्पादन राम्रो हुने संकेत पाएपछि बगैचा नै किन्न ब्यापारी आउन थालेको अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका कृषक भोला चौधरीले बताए । यस वर्षको आँप उत्पादनले गत वर्षको घाटा पुरा हुने विश्वास गरेको अर्का कृषक विजय चौधरीले बताए ।
सप्तरीका कृषकले मालदह, बम्बई, दशहरी, कलकतिया लगायत जातका आँप उत्पादन गर्दछन । आकाशे पानीको भरमा खेतीपाती गर्नू पर्ने र सुख्खा जमिनमा अन्यबाली नफस्टाउँने भएकाले सप्तरीका अधिकाँश कृषक व्यवसायीक आँप खेती तर्फ आर्कषित भएका छन् ।