काठमाडौं । सरकारले आर्थिक बर्ष २०८१/०८२ को बजेट आज सार्वजनिक गर्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्नेछन् ।
अर्थमन्त्रीले बजेट प्रस्तुत गरिसकेपछि संयुक्त बैठक स्थगित हुनेछ । आजै प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टा छुट्टै बैठक बस्नेछ भने दुवै सदनको बैठकमा अर्थमन्त्री पुनले आर्थिक वर्षको राजस्व र व्ययको प्रतिवेदन पेस गर्नेछन् ।
जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताका कारण सरकारले बजेट ल्याउन लागेको हो ।
स्रोत अभावका बाबजुद सरकारले आन्तरिक र बाह्य ऋणको आकार बढाउँदै २५ प्रतिशतले राजस्व वृद्धि लक्ष्य राखेर १९ खर्बको बजेट ल्याउने सरकारको तयारी छ । यो पटक बजेटमा स्रोत सुनिश्चितता नभएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दबाबले गर्दा १९ खर्बको हाराहारीमा बजेट ल्याउने सरकारको योजना छ ।
राष्ट्रिय स्रोत अनुमान समितिले सोमबार साँझ बजेट सिलिङ संशोधन गरेको थियो । यसअघि समितिले १८ खर्बको सिलिङ दिएको थियो । राजनीतिक तहबाट केही नयाँ कार्यक्रम प्रस्ताव आएपछि बजेटको आकार बढाउन लागिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।
आउँदो साउन १ गतेबाट कार्यान्वयनमा आउन लागेको बजेट देशको आर्थिक शिथिलता सम्बोधन गर्ने किसिमको हुने सरकारी दाबी छ । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाका कार्यक्रमलाई विकासलाई जोड दिँदै छ । निर्यातको सम्भावना भएका बालीको उत्पादन वृद्धिदेखि बजारीकरणलाई प्राथमिकता दिने, पर्यटनमा केही नयाँ गन्तव्यको थप्नेदेखि प्रमुख पर्यटकीय क्षेत्र पुग्ने सडकको स्तरोन्नतिका कार्यक्रम बजेटमा समावेश गरिँदै छन् ।
कृषिमा लगानी दशक घोषणा गरी कृषिबाटै औद्योगिकरणको यात्रा तय गर्ने दिशामा बजेट केन्द्रित गरिँदै छ । कृषियोग्य भूमिको संरक्षणदेखि बाँझो जमिनको उपयोग बढाउन प्रोत्साहन गर्ने नीति लिइने भएको छ । यसैगरी माओवादीका पूर्वलडाकुको पुनःस्थापनाका प्याकेज ल्याइँदै छ ।
यसपटक सरकारले कर्मचारीको तलब भने नबढाउने रणनीति लिएको छ । यस्तै बजेटबाट सरकारले वृद्धभत्ता पाउने उमेरलाई फेरि ७० बनाउने तयारी गरेछ । दुई वर्षअघि ७० वर्षबाट घटाएर ६८ मा झारिएको थियो ।