काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसबीच शनिबार छलफल हुँदैछ । छलफल आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ ।
कांग्रेसको सदन अवरोध, सहकारी प्रकरणलगायत समयसामयिक विषयमा छलफल गर्नका प्रधानमन्त्री दाहालले हिजो साँझ ६ बजे बोलाएको बैठक आजका लागि सरेको हो ।
शुक्रबार पनि कांग्रेसका कारण बस्दै नबसी प्रतिनिधिसभा बैठक स्थगित भएको थियो । बैठक आइतबार बिहान ११ बजेका लागि सारिएको छ । यसैगरी, शुक्रबारको राष्ट्रियसभा बैठक पनि स्थगित भएको थियो ।
गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको अडानका कारण बिहीबार संसदको बैठकमा धकेलाधकेलको अवस्था सिर्जना भएको थियो ।
सहकारी ठगीका विषयमा छानबिन गर्न समिति बनाउन प्रधानमन्त्री, लामिछानेको दल रास्वपा र विपक्षी कांग्रेस तयार भए पनि रविको नाम उल्लेख गर्ने कि नगर्ने भन्ने विषयमा कुरा नमिलेको अवस्थामा बिहीबारको घटना भएको हो। घटनापछि दलहरू थप टाढिएका छन् ।
शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको संसद बैठकका लागि संसद भवन बानेश्वर पुगेपछि मात्रै दलहरूबीच संवाद सुरु भएको थियो । प्रधानमन्त्रीले आग्रह गरेपछि सभामुख घिमिरे सदन आइतबारका लागि सार्न तयार भए ।
कांग्रेससँगको भेटमा प्रधानमन्त्री छानबिनका लागि समिति बनाउन तयार भए पनि सत्तापक्षको ठूलो दल एमाले यसका लागि तयार छैन् । सभामुख घिमिरे र प्रधानमन्त्री दाहाल अवरुद्ध संसद खुलाउन निरन्तर रूपमा लागेपनि दलहरूबीच आ-आफ्नै अडानका कारण सहमति हुन सकेको छैन् ।