उदयपुर । उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकामा बजार क्षेत्र र आसपासका नौ सडक स्तरउन्नतीसँगै कालोपत्रे हुने भएको छ । विश्व बैंकले शहरी विकास मन्त्रालयमार्फत ‘शहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम’ (यूजीआईआईपी) अन्तर्गत त्रियुगा नगरपालिकाका वडा नं १०, ११, १२ र १३ गरि ४ वटा वडाका ९ वटा सडकको कालोपत्रेका हुने भएका हुन् ।
केही अघि मात्र त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले एक कार्यक्रमको आयोजना गरीे शिलान्यास गरेका छन् । त्रियुगा नगरपालिकाको गाईघाट बजारमा आधुनिक सडक बन्ने भएको छ । त्रियुगा नगरपालिकाका ४ वटा वडामा १४ दशमलव ५ किलोमिटर आधुनिक सडक बन्ने भएको हो ।
नगरको महत्पूर्ण सहरी क्षेत्र गाईघाट बजारको विकासमा सहयोग पुग्ने उक्त सडक निर्माणका लागि विश्व बैंकले दिएको सहयोगलाई नगरले गौरवको आयोजनाका रुपमा लिएर काम अघि बढाएको नगर प्रमुख बस्नेतले बताए । नगरभित्रका दुई राजमार्ग (मदन भण्डारी र सगरमाथा) लाई जोड्दै बजार क्षेत्रका महत्वपूर्ण सडक एक आपसमा जोडिने गरी लिङ्क रोड निर्माण गर्नेगरि अन्तराष्ट्रिय स्तरको मापदण्डमा बन्ने सडक डवल लेन, स्टेट लाइट सहित सम्पूर्ण सुविधा उपलब्ध हुनेगरि योजना बनाएर कामको थालनी गरिएको उनले बताए ।
चारवटा वडाका ९ सडकलाई दुई प्याकेज गरि टेन्डर आह्वान गरिएको थियो । पहिलो प्याकेजमा करिव १० किलोमिटर सडक र दोस्रो प्याकेजमा करिव ४ दशमलव ५ किलोमिटर सडक निर्माण गर्ने गरि टेन्डर आह्वान गरिएको थियो । कुल १४ दशमलव ५ किलोमिटर सडकलाई ६६ करोड ११ लाख १ सय ४० (पिएस र भ्याट सहित ) रुपैयामा १५ महिना भित्रमा निर्माण सम्पन्न गर्ने गरि आशिष (आशिर्बाद) स्वामी नारायाण जेभीले ठेक्का सम्झौता गरेको छ ।
आयोजना संचालनका लागि विश्व बैंकले ७८ लाख अमेरिकी डलर (एक अर्ब रुपैयाँभन्दा बढी) रकम उपलब्ध गराएको थियो । संघीय सरकारको निर्णय र स्थानीय तहको नेतृत्वमा ती सडक निर्माण गरिनेछ । विश्व बैंकसँगको सम्झौतामा ती सवै सडक ०८२ असार ३१ गतेसम्ममा निर्माण सम्पन्न भइसक्नुपर्ने उल्लेख छ ।
गाईघाट टावन प्लानिङ्गका सडक, सिटिहल सिमलटार सडक, बाबारानी डिएम गेट सडक, पिजि चोक (फुलचोक) बोटेटोल त्रियुगा करिडोर सडक, शिवालय टोल हुँदै करमगाछी सडक, प्रगती टोल हुँदै साकेला टोल सडक, सगरमाथा कृषी बजार पश्चिम बाट जनप्रेमी टोल हुँदै बिसनपुर त्रियुगा करिडोर सडक लगायत अन्य साना ठुला सडक गरी १४ दशमलब ५ किलोमिटर सडक निर्माण हुने बताइएको छ ।