उदयपुर । उदयपुरमा राती दश वजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले एक सूचना जारी गर्दै राती दश वजेछि देउसी भैलो खेल्न रोक लगाएको हो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय उदयपुरले एक विज्ञप्ति जारी गर्दै तिहारको अवसरमा खेलिने देउरी भैलो राती नखेल्न अनुरोध गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘दीपावली एवं छठ लगायतका चाडपर्व सभ्य, मर्यादित, शान्तपूर्ण वातावरणमा एक आपसमा खुशी साटासाट गरी मनाउन अपिल गर्दै देउसी भैलो सभ्य ढङ्गले राति दश वजेसम्म मात्र अनुरोध गरेको छ ।’
उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमद्वारा जारी विज्ञप्तिमा चाडपर्वको समयमा पटका, आतिशवाजी जस्ता प्रज्ज्वलनशील पदार्थ पड्काउने, किनबेच, ओसार पसार गर्ने, मदिरा सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गर्ने, जुवा तास, उच्छृङ्खल देउसी भैलो एवं कानूनले निषेध गरिएका कार्य नगर्न नगराउन सम्पूर्ण जिल्लावासीलाई अनुरोधसमेत अनुरोध गरिएको छ ।
वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफ (६) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले नेपालभर प्लाष्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कानूनी प्रावधान विपरित कोही कसैले प्लाष्टिकजन्य फूल, गुच्छा, मालाहरुको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण नगर्न आम जनसमुदाय, व्यापारी, व्यवसायी लगायत सम्पूर्णमा अनुरोध गरिएको छ ।