विराटनगर । कोशी प्रदेशमा सरकार गठनको अन्तिम संवैधानिक विकल्पमा पनि विवाद हुने सङ्केत देखिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले बहुमत पुर्याउन सक्ने सांसदले भोलि शुक्रवारसम्म मुख्यमन्त्रीमा दाबी गर्न सक्ने गरी समय दिनुभएको छ । तर आज बिहीवारसम्म कुनै पनि सांसदले बहुमत पुर्याउन सकेका छैनन् ।
आज सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का इन्द्र आङ्बोले दाबी पेश गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले कोशीमा सरकार गठनका लागि अन्तिम विकल्पका रूपमा माओवादीका प्रदेश संसदीय दलका नेतासमेत रहेका आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो । यसअघि कांग्रेसका उद्धव थापा दुई पटकसम्म मुख्यमन्त्री बने पनि विश्वासको मत जुटाउन असफल हुनुभएको थियो ।
आज आङ्बोले कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गर्नुभएको छ । तर नेपाली कांग्रेसका सांसद केदार कार्कीले पनि कांग्रेसका आठ जना र एमालेका ४० जना सांसदको हस्ताक्षरसहित दाबी पेस गर्नुभएको छ । कार्कीले एमालेकी उपसभामुखको समेत हस्ताक्षर पेस गरेको भन्दै गठबन्धनले विरोध गरेको छ । एमालेले आफ्नो नेतृत्वमा सरकार गठनको सम्भावना नरहेको अवस्थामा कांग्रेसलाई समर्थन गर्ने बताएको छ । त्यसैले शेखर कोइराला पक्षका केदार कार्कीले दाबी पेस गर्नुभएको हो ।
मुख्यमन्त्रीमा इन्द्र आङ्बोको दाबी पेश
कोशी प्रदेशका मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेश गर्नुभएकाे छ । कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका ४७ प्रदेशसभा सदस्यहरूको समर्थनमा उहाँले प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्नुभएकाे हाे ।
आङबोले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको हस्ताक्षरबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । आजै नेपाली कांग्रेसका नेता केदार कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।
केदार कार्कीको पनि दाबी पेश
नेपाली कांग्रेस कोशी प्रदेशसभा सदस्य केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीको दाबी गर्नुभएकाे छ । कार्कीले नेकपा एमालेका ३९ र उनकै दलको ८ जनाको सांसदको समर्थन लिएर मुख्यमन्त्री दाबी पेस गरेका हुन् ।
अहिले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष बहुमत दाबी पेस गरेको कार्कीले बताउनु भयाे । बहुमत ४७ सांसदको समर्थन लिएर संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीको दाबी पेश गरेको कार्कीले बताउनु भयाे ।