काठमाडौं । राष्ट्रियसभाको विहीबार आजको बैठकमा सांसदहरुले भ्रष्टाचार अन्त्यका लागि गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद बीना पोख्रेलले भ्रष्टाचारदिनप्रतिदिन मौलाउँदै गइरहेको भन्दै सेवाका निम्ति पदभन्दा पनि पैसाका निम्ति पद भन्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्नुभयो ।
राजनीतिकरुपमा गरिएका नीतिगत र कानुनी भ्रष्टाचार छायामै परेको अवस्थामा उहाँले वर्तमान सरकारले नीतिगत भ्रष्टाचारलाई समेत बहसमा ल्याएकोप्रति प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचार कहाँदेखि सुरु भयो ? र कसरी मौलाउँदै गइरहेको छ ? जहाँ व्यक्तिको स्वार्थ र सम्पत्तिले प्राथमिकता पाउने व्यवस्था हुन्छ, त्यहाँ कुनै न कुनै ढङ्गले भ्रष्टाचार भइरहन्छ र भ्रष्टाचारको अन्त्य गर्न सकिँदैन ।”
भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरेकामा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई धन्यवाद दिनुभयो । उहाँले सबै किसिमका भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न वर्तमान सरकारलाई सुझाव पनि दिनुभयो । भ्रष्टाचारीलाई राजनीतिक संरक्षण हुन नहुनेमा उहाँको जोड छ ।
“वर्तमान सरकारले चलाएको आर्थिक तथा नीतिगत भ्रष्टाचारविरुद्धको अभियानले भ्रष्टाचारका दुवै पक्षलाई बहसमा ल्याएको छ, सरकारले अगाडि बढाएको यो भ्रष्टाचार अभियानको समर्थन गर्दछु”, उहाँले भन्नुभयो ।
सांसद कुमार दसौदीले दसैँ नजिकिँदै गर्दा कालोबजारी र महँगी मौलाउँदै गएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “दसैँ कसरी मान्ने ? जनतासँग एक पैसा छैन, महँगी बढेको छ, जनता महँगीको मारमा छन्, त्यतातिर सरकारको ध्यान गएको छैन ।”
वर्तमान सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने उहाँको भनाइ छ । सरकारले पटक–पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेकामा उहाँले विरोध गर्नुभयो । उहाँले भन्नुभयो, “मङ्गी बढेको अवस्थामा सरकारले जनताका पक्षमा काम गर्नुपर्छ ।”
दसैँमा सहज यातायातको व्यवस्था गर्नुपर्ने र भूकम्पमा परी मृत्यु भएका र घाइते परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने उहाँको माग छ ।