उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आयोजना हुँदै आएको नारदमुनि थुलुङ्ग गोल्डकप फुटबल प्रतियोगिताको नवौं संस्करण आगामी असोज २७ गतेदेखि सुरु हुने भएको छ । ‘नवौं नारदमुनि थुलुङ्ग गोल्डकप फुटबल प्रतियोगिता–२०८०’ आगामी असोज २७ गतेदेखि कात्तिक ४ गतेसम्म सञ्चालन हुने भएको हो ।
बसाहाकै खेलमैदानमा हुने उक्त प्रतियोगितमा आठ टिम भिड्ने भएका छन् । बसाहा क्लव उदयपुरको आयोजनमा हुने उक्त प्रतियोगितामा आयोजक बसाहा फुटबल क्लवसहित गोर्खा ब्वाईज फुटबल क्लव झापा, एभरेष्ट फुटबल क्लव सुनसरी, न्यू त्रियुगा फुटबल क्लव सप्तरी, चारतारे फुटबल क्लव मोरङ, एविनियर फुटबल क्लव काठमाडौं, बागमती फुटबल क्लव सर्लाही र कटारी फुटबल क्लव उदयपुरले प्रतिस्पर्धा गर्ने आयोजक बसाहा क्लवका अध्यक्ष गौतम राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त प्रतियोगितमा विजेताले ४ लाख १ हजार नगदसहित ट्रफि, गोल्ड मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै उपविजेताले २ लाख १ हजारका साथमा गोल्ड मेडल र प्रमाणपत्र पाउने बसाहा क्लवका अध्यक्ष गौतम राईले बताउनु भयो ।
जम्मा ३८ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगित नगरपालिकाको तथा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाको सहयोग, चन्दा संकलन र टिकट बिक्री गरेर आम्दानी गर्ने लक्ष्य लिइएको अध्यक्ष राईको भनाइ छ ।
विश्वभर फैलिएको कोरोना महामारी र अन्तरिक समस्याको कारण रोकिएको नारदमुनि थुलुङ्ग गोल्डकप फुटबल प्रतियोगिता यस पटक भने सञ्चालन गर्न लागिएको राईले बताउनु भयो । उहाँले भन्नुभयो, ‘२०७९ सालबाट सुरु भएको नारदमुनि थुलुङ्ग गोल्डकप फुटबल प्रतियोगिता बीचबीचमा रोकियो । यसपटक आयोजना गर्न लागेका छौँ ।’
यस उक्त प्रतियोगिताको तयारी धमाधम हुँदै गरेको बताउँदै अध्यक्ष राईले बसाहा क्लवले स्थापनदेखी निरन्तर रुपमा प्रतियोगिताको आयोजना हुँदै आएको बताउनु भयो । २००७ सालका क्रान्तियोद्धा तथा पूर्वमन्त्री स्वर्गीय नारदमुनी थुलुङ राईको स्मृतिमा उक्त प्रतियोगिता आयोजना हुने गरेको छ ।
नारदमुनि थुलुङकोे जन्म वि.सं. १९६५ साल चैत २७ गते शनिबार भोजपुर जिल्लाको छिनामखुनौले गाउँमा भएको थियो । थुलुङ मातृकाप्रसाद कोइरालाको २००८ मंसीर १ गतेको मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए । नारदमुनि थुलुङ २००७ सालका क्रान्तियोद्धा हुन । उनै स्वर्गीय नारदमुनी थुलुङ राईको स्मृतिमा स्थानीयले गोल्डकप प्रतियोगिताको आयोजना गर्दै आएका छन ।